सामाजिक सुरक्षा कोषद्वारा ६९ करोड दाबी भुक्तानी

सामाजिक सुरक्षा कोषद्वारा ६९ करोड दाबी भुक्तानी


सामाजिक सुरक्षा कोषले हालसम्म योगदानकर्तालाई ६९ करोड दाबी भुक्तानी गरेको छ। कोषले वृद्धावस्था सुरक्षा योजना अन्तर्गत योगदानकर्तालाई ५६ करोड ५२ लाख ६१ हजार ४१९ दाबी भुक्तानी गरेको हो।

यसैगरी औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजन अन्तर्गत नौ करोड ७१ लाख ७२ हजार ४१३, दुर्घटना तथा अशक्तता सुरक्षा योजना अन्तर्गत ९० लाख १४ हजार १८० र आश्रित परिवार सुरक्षा योजना अन्तर्गत एक करोड ८६ लाख ३० हजार १४१ दाबी भुक्तानी गरिएको कोषले जनाएको छ।

हालसम्म १२ अर्ब ७६ करोड योगदान रकम सङ्कलन भएको छ। कोषले चार प्रकारका सुरक्षा योजना सञ्चालनमा ल्याएको छ। सोमबारसम्म कोषमा १६ हजार ४७८ रोजगारदाता र तीन लाख ८ हजार ९७८ योगदानकर्ता आबद्ध भएका छन्। बागमतीबाट ११ हजार २६६, प्रदेश नं १ बाट एक हजार ८३०, लुम्बिनीबाट एक हजार ४०७, गण्डकीबाट ७५९, मधेसबाट ७३८, सुदूरपश्चिमबाट २३८ र कर्णाली प्रदेशबाट २१० रोजगारदाता आबद्ध भएका छन्।

कोषमा सबैभन्दा बढी बागमती प्रदेशबाट दुई लाख ३२ हजार ३३५, प्रदेश नं १ बाट ३१ हजार ८२०, मधेस प्रदेशबाट १८ हजार १८२, गण्डकीबाट १२ हजार ७६२, लुम्बिनीबाट ११ हजार ६६७, सुदूरपश्चिमबाट एक हजार २३३ र कर्णालीबाट ९८८ योगदानकर्ता सूचीकृत भएका छन्।

Logo