विपन्न महिलाको आयआर्जन वृद्धि गर्न सुँगुरको पाठा र बोका वितरण

विपन्न महिलाको आयआर्जन वृद्धि गर्न सुँगुरको पाठा र बोका वितरण


उदयपुरको त्रियुगा नगरपालिकाले विपन्न महिलाहरूको आयआर्जनमा टेवा पुर्‍याउने उद्देश्यले उन्नत जातको बाख्रा र सुँगुरका पाठा वितरण गरेको छ। त्रियुगा नगरपालिका वडा नम्बर-१ जोगिदहले आदिवासी जनजाति महिला लक्षित कार्यक्रमअन्तर्गत उन्नत जातको सुँगुर, बीउ बोका र कुखुरा वितरण गरेको हो।

आर्थिक अवस्था कमजोर भएका विपन्न महिलालाई आयआर्जनमा टेवा पुर्‍याउँदै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले सुँगुरको पाठा वितरण गरेको जनाएको छ। कार्यक्रमबाट १३ घरघुरीलाई एक-एक वटा सुँगुरका पाठा र समूहमा रहने गरि दुईवटा बोका वितरण गरिएको वडाध्यक्ष मनोज चौधरीले जानकारी दिए।

आर्थिक अवस्था सुधार गर्न निर्वाहमुखीभन्दा पनि व्यवसायिक कृषि गराउने सोचका साथ सुँगुर र बोका वितरण गरिएको वडाध्यक्ष चौधरीको भनाइ छ। आयआर्जन र व्यवसाय कृषि गर्न सके आर्थिकरूपमा सबल हुने भएकाले आधुनिक र व्यवसायिक बनाउन यस्तो गरिएको उनले बताए।

यस्ता कार्यक्रमले विपन्न परिवारलाई फाइदा पुग्ने बताउँदै उनले भने, ‘यो सानो सहयोग हो, तर तपाईंहरू आर्थिकरूपमा सफल हुनुहुन्छ भने सामूहिक तथा एकलरूपमा फर्महरू दर्ता गरेर व्यवसायिक कृषिमा सहभागी हुनाेस्।’

चेतना महिला समूहकी अध्यक्ष अरुणा चौधरीले सुँगुरका पाठा र बोका बीउ पुँजी भएकाले त्यसबाट आम्दानी गरेर नमुना बनाउन आग्रह गरिन्। स्थानीय बजारमा सुँगुरको प्रति पाठा आठ हजार र एक लाखमा दुईवटा उन्नत जातको बीउ बोका खरिद गरेर टोल विकास संस्थाको जिम्मामा रहने गरि हस्तान्तरण गरिएको छ। नगरपालिकाले अनुदानमा बीउ बोका र माउ सुँगुरका पाठी वितरणसँगै विपन्न महिलालाई स्वरोजगार बनाई आर्थिक अवस्था सुधार हुने विश्वास नगरपालिकाले लिएको छ। 

Skip This
Logo