१० दिनभित्र उच्च जोखिममा रहेका बस्ती स्थानान्तरण र पुनर्निर्माणका लागि कार्यविधि बनाइने

१० दिनभित्र उच्च जोखिममा रहेका बस्ती स्थानान्तरण र पुनर्निर्माणका लागि कार्यविधि बनाइने


काठमाडौं । बाढी पहिरोको उच्च जोखिममा रहेका बस्तीहरुको स्थानान्तरण र पुर्नर्निमाणका लागि १० दिनभित्र कार्यविधि तयार गरिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको विपद् व्यवस्थापन परिषद्को बैठकले बाढी, पहिरोले क्षति पुर्याएका र उच्च जोखिममा रहेका बस्तीहरुको पुर्नस्थापना गर्न कार्यविधि बनाउने निर्णय गरेको हो ।
मनसुन सुरु भएपछि नेपालमा बाढी पहिरोबाट ठूलो जनधनको क्षति भएको छ ।

सिन्धुपाल्चोक, कालीकोट, बागलुङ लगायतका जिल्लामा बाढी पहिरोले ठूलो जनधनको क्षति भएपछि उच्च जोखिममा रहेका बस्तीहरु स्थानान्तरण गर्ने विषयमा आज छलफल भएको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिए । भूकम्पपछिको पुर्नर्निमाणको अनुभवलाई आधार मान्दै बस्ती व्यवस्थापनका लागि आर्थिक स्रोत जुटाउने, दिगो कसरी बनाउने भन्ने विषयमा छलफल भएको उनले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकमा गृहमन्त्री रामबहादुर थापा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदेश त्रिपाठी, सहरी विकास मन्त्री वसन्त नेम्वाङ र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल लगायत तीन वटै सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।

Skip This
Logo