प्रदेश सरकारले समग्र विकासको नेतृत्व गर्न सक्नु पर्छ : कृषिमन्त्री हुमागाईं

प्रदेश सरकारले समग्र विकासको नेतृत्व गर्न सक्नु पर्छ : कृषिमन्त्री हुमागाईं


वाग्मती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री वसुन्धरा हुमागाईंले प्रदेश सरकारले समग्र विकासको नेतृत्व गर्नु पर्ने बताएका छन् । 

शनिबार काभ्रेको मण्डनदेउपूर नगरपालिका १० स्थित चण्डेनीमण्डनमा रहेको चण्डेनीमण्डन पशुबीमा सहकारी संस्थाको १९ औं साधारण सभा तथा भवन उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री हुमागाईंले यस्तो बताएका हुन् । आफू मन्त्री हुने बित्तिकै ५१ बुँदे मार्गनिर्देश जारी गरेको स्मरण गराउँदै मन्त्री हुमागाईंले ती मध्ये ११ वटा सुरु भइसकेको जानकारी दिए । सबैखाले बीमा गर्न जनचेतना जगाउनु पर्ने बताएका मन्त्री हुमागाईंले खोरेत रोग अन्त्यको कार्यक्रम, विज्ञहरुको सुझावमा कृषि ऐन निर्माण, किसानहरुलाई कार्ड वितरण, सहुलियत ऋण कार्यविधि निर्माण लगायतका विषयमा सरकारले प्राथमिकताका साथ काम सुरु गरेको बताए ।

मकै रोप्ने सिजनमा मलको अभाव हुन नदिनेगरि सरकारले काम गरिरहेको उनको भनाइ थियो । यस अघि गलत व्यवथापनले सरकारले दिएको अनुदानको सदुपयोग हुन नसकेको बताउँदै उनले नेपालमा २ लाख मेट्रिक टन क्षमताको मल कारखाना खोल्न सरकारले अध्ययन गरिरहेको जानकारी दिए । सबैको सहयोग हुने हो भने स्वदेशमै पनि मल कारखाना खोल्न सकिने पनि उनले दाबी गरे । 

कार्यक्रममा मण्डनदेउपूर नगरपालिकाका प्रमुख टोकबहादुर वाइवाले बीमाले धेरै कुराहरु समेट्न सक्नु पर्ने बताए । उनले नगरपालिकाका सबै वडामा पशुबीमा कार्यक्रम पुर्याउन अझै बाँकी रहेको र यसका लागि नगरपालिका प्रयासरत रहेको जानकारी दिए । 

यस्तै सहकारीविज्ञ दीपकप्रसाद पौडेलले सहकारीहरुले किसानहरुको आर्थिकस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको धारणा राखेका थिए । उनले पशुबीमा कार्यक्रमको महत्व धेरै भएकाले यसमा समावेश नभएका किसानहरुले यसप्रति ध्यान पुर्याउन जरुरी रहेको बताए । उनले किसानका समस्याप्रति स्थानीय, प्रदेश र संघिय सरकार सबैले प्राथमिकताका साथ काम गर्नु पर्ने सुझाव पनि दिए। 

वडा नं. १० का वडाध्यक्ष विष्णुमणि नेपालले सबैखाले सहकारीको विकासका लागि वडाले गर्नु पर्ने जुनसुकै सहयोग गर्न आफू तयार रहेको बताए ।

मण्डनदेउपूर सहकारी संघका अध्यक्ष सुमन नेपालले नगरपालिकामा १७२ वटा सहकारी रहेको जानकारी दिँदै सहकारीका सदस्यहरुले ३ प्रतिशतमा कर्जा पाउनु पर्ने र यसका लागि कार्यविधि निर्माणमा सरकारको ध्यान जानु पर्ने बताए । 

कार्यक्रममा संस्थाका अध्यक्ष बलराम नेपालले संस्थाका गतिविधि प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष टंकप्रसाद नेपालले आर्थिक विवरण प्रस्तुत गरेका थिए । 

०५६ सालदेखि सुरु भएको यहाँको पशुबीमा कार्यक्रममा हाल ५९० जना किसानहरु आवद्ध रहेका छन् । संस्थाले अहिले आफ्नै भवन निर्माण गरेको छ भने २ लाख ४० हजार नाफामा रहेको जानकारी दिइयो । यस्तै विगत १ वर्षमा ३ लाख ७० हजार बराबरका पशुहरुको क्षति भएको र संस्थाले सो रकम पशुधनीलाई वितरण गरिसकेको छ।

मण्डनदेउपूर नगरपालिकामा अधिकांश किसानहरुले पशुपालन गरिरहेका छन्। यहाँका किसानहरुको आम्दानीको मूख्य स्रोत पशुपालन र तरकारी खेती रहेको बताइएको छ।

Logo