भन्सार सहजीकरणका लागि भन्सार विभागसँग नाडाको अनुरोध

भन्सार सहजीकरणका लागि भन्सार विभागसँग नाडाको अनुरोध


नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको ७ सदस्यीय प्रतिनिधि मण्डलले भन्सार विभागका नव नियुक्त महानिर्देशक कमल भट्टराईलाई स्वागत गर्दै भन्सार सम्बन्धी नीतिगत सुझावहरुसमेत पेश गरेको छ ।   

उक्त भेटमा अध्यक्ष थापाले नाडाले स्वच्छ व्यवसायमा विश्वास राख्दै आएको भन्दै भन्सार मूल्याङ्कनमा देखिएका विभिन्न समस्याहरु बारे छलफल गरे । सोही क्रममा अध्यक्ष थापाले नेपाल विश्व व्यापार संगठनको सदस्य भई सकेको अवस्थामा भन्सार मूल्याङ्कन सन्दर्भसूची नै खारेज गरि भन्सारमा माल वस्तुको यथार्थ घोषणा र सही बर्गिकरण गराई भन्सार मूल्याङ्कन पद्धतीलाई यथार्थ र कारोबार मूल्यमा आधारित बनाउने व्यवस्थाका लागि आवश्यक पहल गरि दिनु आग्रहसमेत गरे । 

त्यसैगरी सो छलफलमा उपाध्यक्ष राजनबाबु श्रेष्ठले सरकारले गरेको एम्बुलेन्सको बर्गिकरणमा केही परिमार्जन गरिनु पर्ने बताउँदै आयातित सवारी साधनहरुको भन्सार जाँचपासमा पनि ढिलाई भईरहेकाले त्यसको समाधानका लागि अनुरोध गरे । त्यसैगरी अर्का उपाध्यक्ष सुनिल रिजालले एलसी  खोलेर सामान आयात गर्दा परिरहेको समस्याहरुबारे बताउँदै एउटै वस्तुमा भिन्न भिन्न भन्सार कार्यालयहरुमा एचएस कोडको परिभाषामा फरक पर्ने गरेको, बे्रक लाइनिङ्ग जस्ता अत्यावश्यकिय बस्तुमा पनि शतप्रतिशत नगद मार्जिन राखि एलसी खोल्नु पर्ने नियमले व्यवसायीहरुलाई समस्या परेकोले त्यसको समाधानका लागि पहल गरिदिन अनुरोध गरे । त्यसैगरी उपाध्यक्ष रिजालले न्यून विजकीकरण र अनधिकृत आयातबाट हुने समस्याहरुको निराकरणका लागि पनि अनुरोध गरे । 

सोही छलफल कै क्रममा महासचिव सुरेन्द्र उप्रेतीले ०७३ असार २६ गते भन्सार विभाग र नाडाविच भएको सहमतिबारे जानकारी दिँदै विभागले अनलाइन पेमेण्टलाई मान्यता दिएसँगै नेपाल राष्ट्र बैङ्कको चेकलाई पनि मान्यता दिने व्यवस्थाका लागि आग्रह गरे । त्यसैगरी महासचिव उप्रेतीले नेपालमा व्याट्री उत्पादनका सम्भावनाहरु बढ्दै गएको क्रममा सवै किसिमका सवारी साधनहरुमा प्रयोग हुने व्याट्रीहरुको उत्पादनलाई प्रोत्साहित गर्न त्यसका लागि आवश्यक हुने सवै प्रकारका कच्चा पदार्थहरुमा १ प्रतिशत मात्र भन्सार महशुल लाग्ने व्यवस्थाका लागि अनुरोध गरे । 

छलफलको अन्त्यमा महानिर्देशक भट्टराईले भन्सार विभागसँग विगतमा भएको सहमतिमा केही विषय संशोधन गर्नु परेमा दुवै पक्षको सहमतिमा संशोधन गर्न सकिने छ भनि थप गरिनु पर्ने सुझाव दिँदै नाडाबाट प्राप्त सुझावहरुका विषयमा आवश्यक पहल गरिने बताए। सो छलफल तथा भेटघाटमा सचिव विक्रम सिंघानिया, सहकोषाध्यक्ष पंकज अग्रवाल र एशोसिएशन सचिव सुरेन्द्र प्रधानसमेतको उपस्थिती रहेको नाडाले जनाएको छ।

Logo