सात महिनामा २५ अर्बको ३ हजार ६४३ केजी सुन नेपाल भित्रियो, कुन देशबाट कति आयो ?

सात महिनामा २५ अर्बको ३ हजार ६४३ केजी सुन नेपाल भित्रियो, कुन देशबाट कति आयो ?


चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो सात महिनामा विभिन्न देशबाट नेपालमा २५ अर्ब २१ करोड ६८ लाख ३१ हजार रुपैयाँको सुन भित्रिएको छ। सो मूल्यमा ३ हजार ६४३ केजी सुन नेपाल भित्रिएको भन्सार विभागले जनाएको हो। 

भन्सार विभागका अनुसारमा नेपालमा टर्की र युनाइटेड अरब इमिरेट् (युएई) दुई देशबाट मात्र सुन आउने गरेको छ। ०७८ साउनदेखि माघ मसान्तसम्म नेपालमा युएईबाट १९ अर्ब ६४ करोड ७७ लाख २१ हजार रुपैयाँको सुन भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ। सो मूल्यमा २ हजार ८३१.५ केजी सुन युएईबाट नेपाल आएको छ। 

चालु आर्थिक वर्षको सुरुवाती सात महिनामा टर्कीबाट नेपालमा ५ अर्ब ५६ करोड ९१ लाख ९ हजार रुपैयाँको सुन भित्रिएको छ। सो मुल्यमा नेपालले ८११.५ केजी सुन खरिद गरेको हो। 

चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म नेपालले विभिन्न देशबाट १२ अर्ब ६९ करोड ४२ लाख ५४ हजार रुपैयाँको चाँदी खरिद गरेको छ। सो मूल्यमा १ लाख ३४ हजार २९५ किलो चाँदी नेपाल भित्रिएको छ। 

नेपालमा चाँदी चीन, हङकङ, भारत, इन्डोनेसिया, सिंगापुर, स्वीट्जरल्याण्ड, टर्की र युएईबाट आउने गरेको छ। गत आर्थिक वर्ष २०७७/७८ को पहिलो सात महिनामा नेपालमा १४ अर्ब ९५ करोड २७ लाख २६ हजार रुपैयाँको सुन भित्रिएको थियो । सो मूल्यमा २ हजार १ सय केजी सुन नेपाल भित्रिएको थियो। 

आर्थिक वर्ष २०७७/७८ मा नेपालले २७ अर्ब ३४ करोड ३९ लाख ५२ हजार रुपैयाँमा ३ हजार ९२४.५ केजी सुन विभिन्न देशबाट खरिद गरेको विभागको तथ्याङ्कले देखाउँछ। 

Skip This
Logo