आईपिओ भरेबापत कुन बैंकले कति लिन्छन् सी–आस्वा शुल्क ?

आईपिओ भरेबापत कुन बैंकले कति लिन्छन् सी–आस्वा शुल्क ?


पछिल्लो समय साधारण शेयर (आईपिओ) प्रति सर्वसाधारणहरूको आकर्षण बढ्दै गइरहेको छ। कुनै पनि एउटा कम्पनीले आईपिओ निष्कासन गर्ने वित्तिकै लगानीकर्ताहरू झुम्मिने गरेका छन्। दोस्रो बजारमा भन्दा प्राथमिक बजारमा जोखिम कम हुने भएकाले आईपिओप्रति लगानीकर्ताहरूको आकर्षण बढिरहेको हो ।
 
लगानीकर्ताले आईपिओमा आवेदन दिए वापत बैंक तथा वित्तीय संस्थाले फरक फरक शुल्क लिने गरेका छन् । अहिले अनलाइनबाटै सबै काम गर्न सकिने भएकाले पहिले जस्तो बैंकमै गएर लाइनमा बसिरहनुपर्ने समस्या हटेको छ । अधिकांश लगानीकर्ता अनलाइन अर्थात् मेरो शेयरमार्फत आईपिओका लागि आवेदन दिइरहेका हुन्छन् । मोवाइल फोन प्रयोगकर्ताले मेरो शेयरमार्फत आईपिओ भर्ने गरेका छन् । 

लगानीकर्ताहरूले साधारण शेयर (आईपिओ) मा आवेदन दिँदा कतिपय बैंक तथा वित्तीय संस्थाहरूले निःशुल्क सेवा दिइरहेका छन् भने कतिपय बैंकहरू तथा वित्तीय संस्थाले सी–आस्वाको नाममा १०० रुपैयाँसम्म शुल्क लिइरहेका छन् । यसरी सी–आस्वा सेवा बापत बैंकहरूले लिएको शुल्कमा लगानीकर्ताहरूको गुनासो रहेको छ । निःशुल्क सेवा दिइरहेको ग्लोबल आईएमई बैंकले प्रतिआवेदन १५ रुपैयाँ र सानिमा बैंकले प्रतिआवेदन २० रुपैयाँ सी–आस्वा शुल्क लिन थालेका छन् ।  

२७ वटा वाणिज्य बैंकहरूमध्ये ४ वटा वाणिज्य बैंकहरूले सी–आस्वाबाट आईपिओ भरेवापत निःशुल्क सेवा दिइरहेका छन् भने २३ वटा वाणिज्य बैंकहरूले सी–आस्वा शुल्क लिने गरेका छन् । जसमध्ये एक पटक आईपिओ भरेबापत सबैभन्दा धेरै स्ट्यान्डर्ड चाटर्ड बैंक लिमिटेडले सबैभन्दा बढी अर्थात १०० रूपैयाँ सी–आस्वा शुल्क लिने गरेको छ । यसका साथै अन्य बंैकहरुले पनि १० रुपैयाँदेखि २५ रुपैयाँसम्म शुल्क लिएको पाइन्छ । त्यसमध्ये लक्ष्मी बैंक, नेपाल बैंक, नेपाल एसविआई बैंक, सेन्चुरी कमर्सियल बैंकले एक पटक आईपिओ भरेबापत २५ रुपैयाँ सी–आस्वा शुल्क लिने गर्छन्।

त्यसैगरी, कृषि विकास बैंक, बैंक अफ काठमाण्डू, नेपाल बंगलादेश बैंक, सिभिल बैंक, माछापुछ्रे बैंक, सनराइज बैंक, सिद्धार्थ बैंक, प्रभु बैंक, प्राइम कमर्सियल बैंक र नेपाल क्रेडिट एण्ड कमर्सियल बैंकले प्रतिआवेदनको १० रुपैयाँ सी–आस्वा शुल्क लिने गरेको पाइन्छ। 

त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंक, हिमालयन बैंक, एनएमवि बैंक, सिटिजन इन्टरनेशनल बैंक, एभरेष्ट बैंक र कुमारी बैंकले प्रतिआवेदनको सी–आस्वा सेवा शुल्क २० रुपैयाँ लिने गरेका छन्। 

४ वटा वाणिज्य बैंकमा निःशुल्क सेवा 
२७ वटा वाणिज्य बैंक मध्ये  २३ वटा वाणिज्य बैंकले सी–आस्वा शुल्क लिए पनि अझै ४ वटा वाणिज्य बैंकले सी–आस्वा वापतको रकम लिने गरेका छैनन् । यसरी शुल्क नलिने बैंकहरुमा नबिल बैंक, एनआइसी एसिया, राष्ट्रिय वाणिज्य बैंक र मेघा बैंक लिमिटेड रहेका छन्। 

Logo