जसले काठमाडौंको सडकमा जुत्ता सिलाएरै घडेरी जोडे, मासिक ६० हजार बचत

जसले काठमाडौंको सडकमा जुत्ता सिलाएरै घडेरी जोडे, मासिक ६० हजार बचत


काठमाडौँको धुलाम्मे सडक, कहिले घाम कहिले पानी त कहिले हावाहुरी। यस्तो परिस्थितीलाई सहेर सर्लाहीका विनोद मोहोरा तीन दशकदेखि काठमाडौँमा जुत्ता सिलाउँदै आएका छन् । १४ वर्षको उमेरमै घरबाट भागेर काठमाडौँ छिरेका उनी भक्तपुरको गठ्ठाघर चोकमा बसेर जुत्ता चप्पल सिलाइरहेका छन्। अहिले उनी ४४ वर्षका भए । 

गाउँमा हुँदा अरुले जिस्क्याएर केही काम गर्न नसकेका उनले काठमाडौँ आएर केही गर्ने साेँच बनाए।

काठमाडौँ आएर पहिले गौशाला नजिकै एक्लै कोठा भाडा लिएर बसे । त्यसपछि त्यहीँ जुत्ता सिलाउन सुरु गरे । गौशालाबाटै सुरु भएको उनको यो काम अहिले जिन्दगी नै यही भएको छ । काठमाडौँ आउँदाका दुःख र काम गर्न थालिसकेपछिको खुशी सुनाउँदै उनी भन्छन्, “सानै उमेरमा काठमाडौँ त आएँ तर अब के गर्ने अन्योल थियो । काम जाने तापनि कसरी कहाँ गएर काम गर्ने केही ठेगान थिएन । त्यसपछि गौशाला चोकमै बसेर सुरु गरेँ जुत्ता सिलाउन । पहिले त थोरै सामानले नै काम सुरु गर्न थालेको पछि सामान थप्दै गएँ ।”

गौशालामा बसेर केही समय काम गरिसकेपछि उनी त्यहाँबाट कोटेश्वरमा आए । कोटेश्वरमा करिब २० वर्षसम्म निरन्तर काम गरिरहे । उनी भन्छन्, “गौशालामा हुँदा मेरो केही सामान थिएन, पछि सामान जोड्दै गएँ । पहिला जुत्ता चप्पल मात्र सिलाउथेँ भने अहिले छाता पनि बनाउँछु । पहिले दुःख भएपनि अहिले धेरै राम्रो भएको छ ।”

“त्यतिबेला मेरो गाउँमा बसेर जुत्ता सिलाउँदा सबैले सानो उमेरमै जुत्ता चप्पल बोकेर सिलाउँदै हिँड्ने भनेर जिस्काए, धेरै नराम्रो लाग्यो, त्यहीँ भएर काठमाडौँ आएको हुँ। तर अहिले सबैले राम्रो भन्छन् । सधैँ आउने ग्राहकलाई त कहिले काहीँ सानो सानो काम पैसा नलिइ नै गर्दिन्छु।”

कोटेश्वरमा बस्दा उनलाई फाइदा भए पनि पछि त्यहाँ अरु पनि जुत्ता सिलाउने मानिस थपिए । त्यसपछि उनी गठ्ठाघरमा कोही नभएको थाहा पाएपछि त्यतैतिर लागे । 

जडिबुटी बस्दै आएका मोहोरा बिहान ४ बजे उठ्छन् र ५ बजे नै खाना बनाइसक्छन् । भन्छन्, “म बिहान ४ वजे नै उठ्छु । ५ बजे त खाना नै तयार भइसक्छ। अनि कोठा आएर खाना खाएर यहाँ ७ बजेदेखि साढे ७ बजेसम्म आइपुग्छु । खाना बिहानै खाएको हुन्छ। भोक लागेको बेला यतै खाजा खान्छु । रोटी बनाएर राखेको छु भने मात्र कोठमा जान्छु।” 

उनको दैनिकी गठ्ठाघरमा यसरी नै बितेको छ । उनलाई के चाड के, मेला केही मतलब छैन । उनी दिनको ३ हजारदेखि ३ हजार ५ सय रुपैयाँसम्म कमाउँछन् । 

महिनामा ६० हजारसम्म बचत गर्छन् । जुत्ता सिलाएरै उनले घडेरीसमेत जोडेका छन् । भन्छन्, “म यहाँ गठ्ठाघरमा सरेको ६ वर्ष मात्र भयो । पहिला त्यहाँ कोटेश्वरमा हुँदा धेरै राम्रो थियो तर यहाँ पनि राम्रै भएको छ। दिनमा ३ हजारदेखि ३५ सय कमाउँछु । बाइकमा तेल हाल्नुपर्छ सबैकुराको खर्च कटाएर महिनामा ४० हजारदेखि ६० हजारसम्म बचाउँछु । छाताको सिजनमा त १ लाखभन्दा बढी नै हुन्छ । म घर पनि हतपत जादिनँ, मेलामा पनि जादिनँ । किनकी एकदिन काम छोड्यो भने ३ हजार घाटा हुन्छ ।” 

उनी पहिले गाउँमा हुँदा सबैले सानैमा यस्तो काम गरेको भन्दै जिस्काएको सम्झन्छन् । भन्छन्, “त्यतिबेला मेरो गाउँमा बसेर जुत्ता सिलाउँदा सबैले सानो उमेरमै जुत्ता चप्पल बोकेर सिलाउँदै हिँड्ने भनेर जिस्काए, धेरै नराम्रो लाग्यो, त्यहीँ भएर काठमाडौँ आएको हुँ। तर अहिले सबैले राम्रो भन्छन् । सधैँ आउने ग्राहकलाई त कहिले काहीँ सानो सानो काम पैसा नलिइ नै गर्दिन्छु।”

उनको घरमा २ छोरी, १ छोरा र श्रीमती छन् । उनीहरु सर्लाहीमै बस्छन् । काठमाडौँ बोलाउँदा पनि उनीहरु नआउने उनी बताउँछन् । उनी गठ्ठाघर चोकमा बिहान ७ बजेदेखि बेलुका अबेरसम्म बस्छन् । भन्छन्, “बिहान त्यतिबेला आउँछु बेलुका भएपछि झन् काम हुन्छ, कतिबेलासम्म काम हुन्छ थाहा नै हुँदैन । बेलुका साढे ७ सम्म चाहीँ बस्छु ।” काम गर्नलाई केही सानो ठूलो नहुने र काम गर्दा लजाउन पनि नहुने उनको अनुभव छ । भन्छन्, “हामीले कहिले पनि काम सानो ठूलो भन्नु हुँदैन, नेपालमा केही काम छैन भनेर धेरै जना विदेश गएर अर्काको भाँडा माझेको देखेको छु तर स्वदेशमै बसेर केही काम गर्न सुरु गर्यो भने पछिको लागि धेरै राम्रो हुन्छ । त्यसैले आफूले जानेको काम कसैसँग नडराई नलजाई गर्यो भने धेरै नै प्रगति हुन्छ ।”

Logo