सडकमा व्यापार गर्ने सुनिताको गुनासो, ‘नगर पुलिसले लखेट्छ, काम गरेर खान पनि दिँदैन’

सडकमा व्यापार गर्ने सुनिताको गुनासो, ‘नगर पुलिसले लखेट्छ, काम गरेर खान पनि दिँदैन’


सडकमा मानिसको भीड कतैबाट छिर्ने ठाउँ छैन। कसैले कसलाई ठेल्दै हिँडेका छन् कोही त्यही भीडमा हराइरहेका छन्। यहीँ भिडको छेउमा थोरै बदाम, गुट्खा, पानी, विस्कुट तथा अन्य खत्राकखुत्रुक सामान बेच्छिन् ६० वर्षिया सुनिता कार्की। भनिन्छ मानिस बुढो भएपछि सुखले बस्न पाइन्छ। छोराछोरीले सजिलै पाल्छन् । तर कहिँ यस्तो पनि हुन्छ, काठमाडौँको व्यस्त बजार न्युरोडमा एक्लै एक छाक खान र कोठाभाडा तिर्नका लागि उनी सधैं सडकको छेउमा खुद्रा सामान बेच्छिन्। उनी अहिले ६० वर्षकी भइन् तर पनि उनले घर खर्च टार्न र दैनिक गुजारा गर्नको लागि सधैं नै त्यहाँ आउँनै पर्छ। हुन त उनको उमेर हेर्दा केही काम नगरी घरमा आनन्दले बसेर खाने जस्तो देखिन्छ । 

रसुवा घर भएकी उनी अहिले न्युरोड नजिकैको गल्लीमा एक्लै बस्छिन्। उनी बिहान ८ बजेदेखि भोक प्यास नभनी काम गर्छिन्। दिनभरी सडकको छेउमा कोही मानिसले केही सामान किन्छ कि भनेर कुर्छिन्। उनी भन्छिन्, “विहान ५ बजे उठ्छु र सबै काम सक्छु। खाना पनि बिहानै जति रुच्छ त्यति खान्छु। बिहान ८ बजे यहाँ आउँछु । बेलुका ५ बजेसम्म बस्छु। दिनभरी घाममा बस्नुपर्छ। कहिले यता कहिले उता। नगर पुलिसले खेदेको खेदेकै गर्छ। काम गरेर खान पनि दिँदैन।”

“छोरीलाई आफूले सकेजति पढाएँ र बिबाह गरेर पठाएँ। अहिले त सानो काम गर्दा पनि पुग्छ। कोठाभाडा पनि सस्तै छ। जब म अलि अलि काम गर्न नसक्ने भएँ, त्यसपछि यहाँ व्यापार गर्न थालेँ। खुद्रा सामान बेच्न थालेको पनि १० वर्ष भैसक्यो।”

सानै उमेरमा काठमाडौँ आएकी उनी बिहे पनि सानै उमेरमा गरिन्। तर विडम्बना उनको पतिको अकालमै मृत्यु भयो। अब उनको साथमा उनकी छोरी मात्र बाँकी रहिन्। उनले पहिले छोरीलाई पाल्नका लागि घर बनाउने ठाउँमा काम गरिन्। “म काठमाडौँ त सानै उमेरमा आएकी हुँ। त्यति बेलाको जमानामा बिहे पनि सानै उमेरमा भयो। पति बितेको पनि अहिले ३० वर्ष भैसक्यो । छोरीको बिहे भैसक्यो । अहिले त म एक्लै बस्छु ।”उनी भन्छिन् ।

सबै कुराको दुःख भएपनि उनले कहिल्यै हार मानिनन्। एक्लै संघर्ष गरिरहिन्। छोरीलाई राम्रो शिक्षा दिएर विबाह गरिदिइन् । छोरीको बिबाह भएपछि उनलाई अलि अलि सहज भएको अनुभूति भयो । पहिले अलि धेरै कमाउनु पर्यो भने अहिले उनलाई थोरै मात्र भएपनि हुन्छ । उनी भन्छिन् “छोरीलाई आफूले सकेजति पढाएँ र बिबाह गरेर पठाएँ। अहिले त सानो काम गर्दा पनि पुग्छ। कोठाभाडा पनि सस्तै छ। जब म अलि अलि काम गर्न नसक्ने भएँ, त्यसपछि यहाँ व्यापार गर्न थालेँ। खुद्रा सामान बेच्न थालेको पनि १० वर्ष भैसक्यो।”

उनी एकपटक सामान ल्याउँदा ४ हजारदेखि ४५ सयसम्मको ल्याउँछिन्। त्यति सामान उनको १ हप्तासम्म पुग्छ। बदाम भने बिचमा थप्नुपर्ने हुन्छ। उनी भन्छिन्, “सामान ल्याउँदा ४ हजारदेखि ४५ सयसम्मको ल्याउँछु। सबै सामान बिक्री हुँदैन। सबै सामान बिक्री भएको भएपो थाहा हुन्थ्यो कति फाइदा हुन्छ भनेर । एकदिन सामान ल्यायो भने १ हप्तासम्म पुग्छ। दिनमा ७ सयदेखि १ हजार रुपैयाँसम्म हुन्छ। भएको बेला त अझ बढी पनि हुन्छ। कहिलेकाहीँ बोनीले मात्र पनि चित्त बुझाउनु पर्ने हुन्छ। बदाम चाँही थोरै भएर होला बीचमा थप्छु।”

क्रिश्चियन धर्म मान्ने उनी शनिबार व्यापार गर्न आउँदिनन् । शनिबारको दिनमा चर्च जानुपर्ने हुनाले नआएको उनी बताउँछिन् । भन्छिन्, “म शनिबार चर्च जान्छु आउँदिनँ। यहाँ मानिसको भिडले सामान नै किच्लान् जस्तो हुन्छ। धेरै दुःख छ। दुःख भएपनि कसैको आश गर्नु परेको छैन । आफ्नो लागि आफैं कमाइरहेकी छु।”

यति मात्र होइन, उनी सकुन्जेलसम्म आफ्ना लागि आफैं कमाउनु पर्ने र कसैको आश गर्न नहुने बताउँछिन्। सानोतिनो जस्तोसुकै भएपनि काम गर्नुपर्ने सल्लाह दिन्छिन्।

Logo