प्रदेश नं. १ मा १२१ संक्रमित थपिए

प्रदेश नं. १ मा १२१ संक्रमित थपिए


विराटनगर ।

प्रदेश नं १ मा गत २४ घण्टाको अवधिमा १२१ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

सो अवधिमा ९३० जनाको पिसिआर परीक्षण गरिएका मध्ये ३७ महिला र ८४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङमा ४७, सुनसरीमा ४५, झापामा १४, संखुवासभामा १२, उदयपुरमा एक र प्रदेश बाहिरका दुई जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

विराटनगरमा ३२ जनामा नयाँ सङ्क्रमित देखिएका मध्ये १२ महिला र २० पुरुष रहेका छन् । मन्त्रालयका अनुसार मोरङको धनपालथानमा एक महिला र आठ पुरुष, रंगेलीमा दुई पुरुष, ग्रामथानमा एक महिला र १ पुरुष, सुनबर्षीमा एक पुरुष, बुढीगंगामा एक महिला, सुनसरीको धरानमा तीन महिला र २० पुरुष, दुहवीमा सात महिला र एक पुरुष, इटहरीमा एक महिला र पाँच पुरुष, कोशी गाउँपालिकामा पाँच पुरुष, इनरुवामा दुई पुरुष र गढीमा एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।

यस्तै झापाको दमकमा छ महिला र तीन पुरुष, मेचीनगरमा एक महिला र एक पुरुष, विर्तामोडमा एक महिला र एक पुरुष, कनकाईमा एक महिला, संखुवासभाको चैनपुरमा एक महिला र १० पुरुष, धर्मदेवीमा एक पुरुष, उदयपुरको चौदण्डीगढीमा एक महिला र प्रदेश बाहिरका दुई पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा संक्रमितको सङख्या चार हजार ६१९ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु भएको छ । विराटनगरकी एक महिलाको मृत्यु भएको हो । प्रदेशम हालसम्म कोरोना सङक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको छ ।

यस्तै प्रदेशमा शुक्रबार ६६ जना सङ्क्रमित निको भइ घर फर्केका छन् । सुनसरी बराहक्षेत्रको रमानन्द आचार्य सेवा पीठ चतराधामबाट ३९, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १६, मेची अस्पताल झापाबाट १० र होम आइसोलेशनबाट एक जना निके भइ घर फर्केका छन् ।
प्रदेशमा आजसम्म दुई हजार १९ जना सङक्रमित निको भइ घर फर्केका छन् । प्रदेशमा १ लाख पाँच हजार ७७४ जनाको पिसिआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Logo