तीन पूर्वअर्थमन्त्रीको नजरमा कस्तो छ देशको अर्थतन्त्र ? (भिडियाे)

तीन पूर्वअर्थमन्त्रीको नजरमा कस्तो छ देशको अर्थतन्त्र ? (भिडियाे)


पूर्वअर्थमन्त्रीत्रयले आर्थिक स्थायित्व, विकास र सुशासनमा जोड दिन सरकारको ध्यानाकर्षण गराएका छन्। आइतबार पत्रकार सम्मेलन आयोजना गरेर पूर्वअर्थमन्त्रीहरु विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे र डा युवराज खतिवडाले मुलुकको अर्थतन्त्र खस्किन नदिन सरकारको ध्यानाकर्षण गराएका हुन्। 

उनीहरुको वक्तव्यमा बाह्य क्षेत्र सन्तुलन सङ्कटग्रस्त हुँदै गएको, यो आर्थिक वर्ष देशको आयात अनियन्त्रितरुपमा बढेर आठ महिनामा करिब १५ खर्ब पुगिसकेको र अहिलेकै अवस्था कायम रहेमा वर्षभरिमा २२ खर्बभन्दा बढीको आयात हुने स्थिति रहेको, बढ्दो आयातले उपभोग बढाउने कामबाहेक उत्पादनमा कुनै योगदान नगरेको भन्दै समयमै सोच्न सरकारलाई आग्रह गरेका हुन्। 

हाल व्यापार घाटा बढेको र अहिलेकै अवस्था कायम रहे यो आर्थिक वर्षको अन्त्यसम्ममा व्यापार घाटा २० खर्ब नाघ्ने अनुमान पनि उनीहरुले गरेका छन्। उनीहरुले गभर्नर महाप्रसाद अधिकारीमाथि गरिएको निलम्बनको निर्णयको विरोध पनि गरे ।

प्रतिस्थापन बजेटकै कारण अर्थतन्त्र संकटमा

नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमालेले सरकार छाडेपछि अर्थतन्त्र समस्यामा परेको बताएका छन्। अर्थतन्त्र जोगाउन सार्थक र प्रभावकारी हस्तक्षेप जरुरी रहेको बताउँदै उपाध्यक्ष पौडेलले गठबन्धन सरकारले मुलुकको अर्थव्यवस्था जोखिममा धकेलेको बताएका छन् ।

अर्थतन्त्रका सूचकहरु खराब अवस्थामा पुगेको बताउँदै पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलले यो सरकारले सहि नीति लिएर अघि बढ्न चाहेको भए अर्थतन्त्र सवल हुने दावीसमेत गरे । 

प्रतिस्थापन बजेटकै कारण अर्थतन्त्र संकटमा परेको दावी गर्दै पौडेलले आफूले ल्याएको बजेट लोकप्रिय भए पनि राजनीतिक कारणले नै प्रतिस्थापन बजेट ल्याएको बताए । 

देशको अर्थतन्त्र गम्भीर दुर्घटना हुने अवस्थामा 

यस्तै पूर्वअर्थमन्त्री तथा नेकपा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले देशको अर्थतन्त्र गम्भीर दुर्घटनाको अवस्थामा पुगेको बताएका छन्। नेकपा एमालेको तर्फबाट वर्तमान अर्थतन्त्रबारे आफ्नो धारणा राख्दै उनले देशमा आर्थिक संकटको अवस्था आएको र मुलुक गम्भीर मोडमा जान लागेको बताए। 

अहिलेको अवस्थामा राजनीतिकभन्दा पनि आर्थिक समस्या सुल्झाउनेतिर लाग्नुपर्ने उनको भनाइ छ। सरकारका अर्थतन्त्रलाई सुधार गर्न नसकेर त्यसको दोष राष्ट्र बैंकका गर्भनरमाथि लगाइरहेको उनको आरोप छ। सरकार आफ्नै कारण मुलुकलाई अर्थतन्त्र अस्तव्यस्त बनाउने अवस्थामा पुगेको उनको भनाइ छ। अहिलेकै अवस्था रहने हो भने एकदिन अर्थमन्त्री नै भाग्नुपर्ने अवस्था आउने बताए। 

अर्थमन्त्री जनार्दन शर्मा नै भाग्ने अवस्था आउन सक्ने उनको आरोप छ। अर्थमन्त्री शर्माले कानुन विपरित काम गरिरहेको भन्दै यसले उनलाई नै समस्या पर्ने बताए। अर्थमन्त्रीले विदेशबाट आएको रकम खुलाउन राष्ट्र बैंकका गभर्नरलाई पत्र लेखेको भन्दै पाण्डेले उक्त काम गैर कानुनी भएको बताए ।

देशको अर्थतन्त्र गलत व्यक्तिको हातमा 

पूर्वअर्थमन्त्री तथा एमाले नेता युवराज खतिवडाले देशको अर्थतन्त्र गलत व्यक्तिको हातमा पुगेको आरोप लगाएका छन्। गलत व्यक्तिको हातमा जाँदा देशको अर्थतन्त्र इतिहासकै गम्भीर अवस्थामा पुगेको उनको आरोप छ। 

मुलुकमा व्यापार घाटा निकै बढेको उनको भनाइ छ। अहिले आर्थिक बृद्धिभन्दा पनि धरासायी हुने चिन्ता भइरहेको उनले बताए। ‘आठ महिनामा आठ खर्ब आयात भइसकेको छ। अब वर्षभरिमा २२ खर्बको आयात हुनेछ। दुई खर्ब निर्यात गर्दा पनि २० खर्ब व्यापार घाटा हुनेछ,’ खतिवडाले भने । 

पूर्वअर्थमन्त्रीहरुले गठबन्धन सरकारले नेकपा (एमाले) को सरकारका लोकप्रिय कार्यक्रम खारेज गरेको, आर्थिक अध्यादेशमाथि खेलबाड गरेको, सरकारको ध्यान आर्थिक समस्याभन्दा आफ्नै स्वार्थसिद्धितिर केन्द्रित भएको, संसद्बाट एमसीसी अनुमोदन गराउँदा गठनन्धनले अनौठो तमासा देखाएको, वैदेशिक व्यापारघाटा देशले धान्नै नसक्ने गरी अकाशिएको, बैंकिङ प्रणालीको अस्वस्थ्य प्रतिस्पर्धाले तरलता संकट निम्तिएको, सरकारकै संरक्षणमा हुण्डी फस्टाएको लगायतका आरोप लगाएका छन् ।

 

Logo