वस्तु आयात–निर्यातको दुरी बढ्दै, मुलुकको व्यापारघाटा चुलिँदै

वस्तु आयात–निर्यातको दुरी बढ्दै, मुलुकको व्यापारघाटा चुलिँदै


मुलुक आर्थिक संकटतिर उन्मुख भइरहेका बेला व्यापारघाटा चुलिँदै गएको तथ्यांक सार्वजनिक भएको छ। चालु आर्थिक वर्षको फागुनसम्ममा १३ खर्ब बढीको वस्तु आयात भएको छ। 

भन्सार विभागको तथ्यांक अनुसार १३ खर्ब ८ अर्ब ७३ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको हो । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा ३८.६४ प्रतिशतले बढी हो । गत वर्षको फागुनसम्ममा ९ खर्ब ४३ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो।

गत फागुन महिनामा मात्रै १ खर्ब ६१ अर्ब रुपैयाँको वस्तु आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । गत पुस महिनामा १ खर्ब ४८ अर्ब रुपैयाँको आयात भएको थियो भने मंसिरमा १ खर्ब ६० अर्ब रुपैयाँको आयात भएको थियो ।

यसअघि कात्तिकमा यस वर्षकै धेरै १ खर्ब ८८ अर्ब रुपैयाँको बस्तु आयात भएको थियो भने साउन भदौ र असोजमा क्रमशः १ खर्ब ६३ अर्ब, १ खर्ब ६४ अर्ब र १ खर्ब ७१ अर्ब रुपैयाँको बस्तु आयात भएको तथ्यांक छ ।

यस अवधिमा निर्यात पनि केही बढेको छ । फागुनसम्मा १ खर्ब ४७ अर्ब रुपैयाँ बराबरको बस्तु निर्यात भएको छ । गत वर्षको यसै अवधिमा यस्तो निर्यात ८० अर्ब रुपैयाँ मात्रै थियो ।
आयात र निर्यात दुबै बढ्दा वैदेशिक व्यापारको हिस्सा भने बढ्दै गएको छ । यस अवधिमा बैदेशिक ब्यापार ४२ प्रतिशतले बढेर १४ खर्ब ५६ अर्ब रुपैयाँ पुगेको छ । जसमा नेपाललाई ११ खर्ब ६० अर्ब रुपैयाँ ब्यापारघाटा छ ।

फागुनसम्ममा डिजेलको आयात सबैभन्दा उच्च छ । डिजेलको आयात ८ महिनामा ८७ अर्ब ८३ करोड रुपैयाँको भएको छ । खाना पकाउने ग्याँस ४० अर्ब र पेट्रोल ३९ अर्ब रुपैयााको आयात भएको छ । यस्तै सोयाविन तेल ४३ अर्बको आयात भएको छ ।

कुन देशबाट कति आयात ?
चालू आर्थिक वर्षको ८ महिनामा नेपालमा १४८ देशबाट १३ खर्ब ८ अर्ब ७३ करोड रुपैयाँ बराबरको विभिन्न वस्तु तथा सेवा आयात गरिएको छ। यस अवधिमा सबैभन्दा धेरै भारतबाट सामान आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ। भारतबाट ७ खर्ब ३ अर्ब ५४ करोड ५१ लाखको सामान आयात भएको छ। 

त्यस्तै भारतपछि सबैभन्दा धेरै सामान आयात चीनबाट भएको छ। चीनबाट १ खर्ब ४५ अर्ब ९१ करोड ३६ लाख मूल्य बराबरका वस्तु आयात भएको छ। नेपालको कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ८९.३७ प्रतिशत रहेको छ भने निर्यातको हिस्सा १०.६३ प्रतिशत रहेको छ। यसरी आयात बढ्दै जाँदा विदेशी मुद्राको सञ्चिति घट्दै गएको छ। राष्ट्र बैंकको तथ्यांक अनुसार हाल ६ महिनाको लागि मात्रै आयात धान्ने विदेशी मुद्रा सञ्चिति रहेको छ।

कति निर्यात ?
यस अवधिमा नेपालले १ खर्ब ४७ अर्ब रुपैयाँ बराबरको बस्तु निर्यात गरेको छ। जसमध्ये भारतमा ९६ अर्ब ५६ करोड तथा चीनमा ४५ करोड ६२ लाख ४७ हजार रुपैयाँ बराबरको वस्तु निर्यात गरेको भन्सार विभागले जनाएको छ। निर्याततर्फ पनि सोयाविन तेल र पाम तेलको हिस्सा धेरै रहेको छ । प्रशोधन गरिएको पाम तेल ११ अर्बभन्दा बढीको निर्यात भएको छ भने सोयाविन तेल ३४ अर्ब रुपैयाँ भन्दा धेरैको निर्यात भएको भन्सार विभागले जनाएको छ।

विलासिताका वस्तु खरिदमै नेपालको तीन खर्ब बाहिरियो
बैंकहरुमा अहिले पैसाको अभाव छ। पैसा नहुँदा बैंकहरुले ऋण उपलब्ध गराउन सकेका छैनन् । बैंकले ऋण उपलब्ध गर्न नसक्दा नयाँ उद्योग तथा व्यवसाय गर्न चाहनेले लगानी गर्न पाएका छैनन्। बैंकहरुसँग पैसाको अभाव भइरहँदा विलासिताका वस्तु खरिदमा भने खर्बौं रुपैयाँ देशबाट बाहिरिएको पाइएको छ। 

भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को सात महिनामा विलासिताका वस्तु खरिदमा मात्र नेपालबाट तीन खर्बभन्दा बढी रकम बाहिरिएको छ। यो रकम २०७८ साउनदेखि माघ मसान्तसम्मको अवधिमा बाहिरिएको हो । 

विभागका अनुसार यस अवधिमा मात्र नेपालले विभिन्न देशबाट २८ अर्ब ३८ करोड ५६ लाख २७ हजार रुपैयाँको मोबाइल फोन ल्याएको विभागको तथ्यांकले देखाउँछ। 

यस्तै टर्की र युनाइटेड अरब इमिरेट्स (युएई) बाट नेपालमा २५ अर्ब २१ करोड ६८ लाख ३१ हजार रुपैयाँको सुन भित्रिएको छ। सोही अवधिमा विभिन्न देशबाट १२ अर्ब ६९ करोड ४२ लाख ५४ हजार रुपैयाँको चाँदी नेपाल आएको छ। नेपालमा ७ अर्ब ८० करोड ३ लाख ६५ हजार रुपैयाँको ल्यापटप तथा नोटबुक भित्रिएका छन्। 

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको हालसम्म ३४ अर्ब ३१ करोड रुपैयाँका बिभिन्न गाडी, मोटरसाइकल, स्कुटर नेपाल भित्रिएका छन्। सो समयमा ३ अर्ब ४३ करोड  रुपैयाँको विद्युतीय कार/जिप नेपालले खरिद भएको छ। 

इन्टरनेटको राउटर मात्र नेपालले २ अर्ब ७४ करोड ९६ लाख ९० हजार रुपैयाँको खरिद गरेको छ। उक्त अवधिमा २ अर्ब ३७ करोड १ लाख ७२ हजार रुपैयाँको वासिङ मेसिन नेपाल भित्रिएका छन्। सोही समयमा २ अर्ब १६ करोड १५ लाख ७५ हजार रुपैयाँको टेलिभिजन सेट नेपाल आएका छन्।

विलासी सामानको आयातमा कडाइ, कुन–कुन सामानको आयात निरुत्साहन गर्दैछ राष्ट्र बैंक?

नेपाल राष्ट्र बैंकले सवारीसाधनलगायतका विलासी सामानका साथै सुनचाँदी जस्ता बहुमूल्य वस्तु आयातलाई कडाइ गरेको छ। बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गर्दै राष्ट्र बैंकले आयात निरुत्साहित हुने व्यवस्था गरेको हो। 

निर्देशनमा चिनी/चकलेट, ल्वाङ, मिनरल वाटर, मदिरा/भिनागर, चुरोट/सुर्तिजन्य वस्तु, कस्मेटिक सामान, काठका सामानहरू, जुत्ता चप्पल, छाता र लठ्ठि, मार्वल, सिमेन्ट, प्लास्टर र सेरामिक वस्तु तथा सुनचाँदीलगायतका बहुमल्य सामान आयात निरुत्साहित गर्न खोजिएको छ। 

निर्देशन अनुसार यी सामानहरु आयात गर्नका लागि आयातकर्ताले प्रतितपत्र खोल्दा नै शतप्रतिशत मार्जिन रकम बैंकमा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ। 

यसैगरी विद्युतीय बाहेकका गाडी र मोटरसाइकल आयातको लागि समेत ५० प्रतिशत नगद मार्जिन राख्न निर्देशन गरेको छ। उक्त मार्जिन रकमका लागि बैंकहरुले ऋण दिन नपाउने र मार्जिन वापत जम्मा भएको रकममा व्याजसमेत दिन नपाइने राष्ट्र बैंकको निर्देशनमा छ। 
आयातलाई निरुत्साहित गर्नका लागि राष्ट्र बैंकले कडाइ गरेको हो। 

उच्च व्यापारघाटा र रेमिट्यान्स घट्दा वैदेशिक मुद्रा संचितिमा समेत दवाव बढ्दै गएपछि राष्ट्र बैंकले आयातमा कडाइ गरेको हो। यसअघि पनि राष्ट्र बैंकले चाँदी आयात कडाइ गर्न सीमा तोकेको थियो।

राष्ट्र बैंकको कडाइपछि विलासिताका सामान आयातमा भारी गिरावट, राजस्व ह्वात्तै घट्यो
नेपाल राष्ट्र बैंकले विलासिताका वस्तुहरूको आयातमा प्रतितपत्र (एलसी) खोल्दा नयाँ प्रवाधान अनिवार्य गरेसँगै आयातमा भारी गिरावट आएको छ। 

बैंकले १८ वटा शीर्षकका विलासिताका वस्तुहरूको आयातमा एलसी खोल्दा नै शतप्रतिशत र दुईवटा शीर्षकमा ५० प्रतिशत नगद जम्मा (मार्जिन) राख्नुपर्ने व्यवस्था गरेसँगै भैरहवा भन्सार कार्यालयबाट हुने आयात ६० प्रतिशत घटेको हो। दैनिक ७ सय मालवाहक गाडी जाँचपास हुँदै आएको भैरहवा भन्सार कार्यालयमा गत पुसदेखि यो संख्या घटेर दुई सय ५० हाराहारीमा झरेको छ।

नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले ‘क’ वर्गको वाणिज्य बैंक र ‘ख’ वर्गको विकास बैंकलाई विभिन्न २० वटा हार्मोनिक कोड अन्तर्गतको वस्तुको एलसी खोल्दा अनिवार्य तोकिएको मार्जिन प्रतिशत लिनु भनी परिपत्र गरेको हो। सोही परिपत्रसँगै भैरहवा भन्सारसहित मुलुकका सबै भन्सार कार्यालयमा भारत तथा तेस्रो मुलुकबाट हुने आयात घटेको छ। 

‘राष्ट्र बैंकले वस्तु आयातमा कडाइ गर्नु सकारात्मक’
पछिल्लो समय बढेको आयात र त्यसले विदेशी विनिमय सञ्चितिमाथि पारेको चापलाई न्यूनीकरण गर्न नेपाल राष्ट्र बैंकले विभिन्न वस्तुको आयातमा कडाइ गर्नु सकारात्मक भएको अर्थविद्हरूले बताएका छन् । प्रतितपत्र अर्थात् एलसी खोल्दा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्थाले आयातमा केही दुरुत्साहन हुनुका साथै विदेशी विनिमय संचितिमा केही सकारात्मक प्रभाव पार्ने उनीहरूको तर्क छ ।

राष्ट्र बैंकले चिनीजन्य पदार्थ, श्रृंगार, दुई पांग्रे तथा चार पांग्रे सवारी, फर्निचर, जुत्ता चप्पल, धुम्रपान तथा मध्यपानलगायत विभिन्न वस्तुको आयात गर्न एलसी खोल्दा अनिवार्य रूपमा नगद मार्जिन राख्ने व्यवस्था गरेको छ । त्यस्तो नगद अन्य सामानमा शतप्रतिशत तथा दुई पांग्रे तथा चार पांग्रे सवारीमा ५० प्रतिशत राख्नुपर्ने व्यवस्था छ । तर, उद्योगहरूले आफ्नो प्रयोजनका लागि तथा औषधिजन्य प्रयोजनका लागि आयात गर्ने वस्तुमा भने यो व्यवस्था लागू नहुने बताएको छ।

राष्ट्र बैंकले आयात कडाइ गरेका यी वस्तुमा चालू आर्थिक वर्ष २०७८/०७९ को पहिलो ४ महिनामा झण्डै ६४ अर्ब १६ करोड रुपैयाँ बाहिरिएको थियो। त्यसमा पनि दुई तथा चारपांग्रे सवारीमा मात्र २३ अर्ब रुपैयाँ, चाँदीलगायत चाँदी जन्य पदार्थमा १४ अर्ब, सिरेमिकका सामानमा झण्डै ६ अर्ब रुपैयाँ चालू वर्षमा बाहिरिएको थियो।

‘समष्टिगतरूपमा अर्थतन्त्रको अवस्था भयावह छैन’: राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले मुलुकमा समष्टिगत अर्थतन्त्रको अवस्था भयावह नरहेको जनाएको छ। बैंकका कार्यकारी निर्देशक एवं प्रवक्ता गुणाकर भट्टले वित्तीय क्षेत्रमा देखा परेको तरलताले मुद्रास्फीतिमा दबाबका साथै मूल्यवृद्धिमा चाप परेकाले अर्थतन्त्रमा केही प्रभाव परेको भए पनि अर्थतन्त्रका आधार त्यति कमजोर नरहेको बताए।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि पनि भएको बताउँदै निर्देशक भट्टले विदेशी विनिमय सञ्चिति गत वर्षको तुलनामा केही कम भएको भए पनि डराउनुपर्ने अवस्था नरहेको तथा कोभिडपछि विश्व अर्थतन्त्र सामान्य अवस्थामा जाने क्रममा रहेकाले त्यसको सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे।

निर्देशक भट्टले गत आवमा ५० अर्बको चामल आयात गरेको तथ्यांक उल्लेख गर्दै यो वर्षको आठ महिना मात्रै हेर्दा ३७ अर्बको चामल आयात भएको जानकारी दिए। उनले चालू आवको दोस्रो चौमासिकमा करिब २७ अर्बको तरकारी, १६ अर्बको फलफूल आयात गरेको बताए।

अत्यावश्यक बाहेकका वस्तुको एलसी नखोल्ने बैङ्कर्स सङ्घको निर्णय
वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको छाता संस्था नेपाल बैङ्कर्स सङ्घले अति आवश्यक बाहेकका वस्तुको प्रतीतपत्र (एलसी) नखोल्ने निर्णय गरेको छ।

आइतबार (चैत २७) बसेको सङ्घको बैठकले अत्यावश्यक बाहेकका वस्तुको एलसी नखोल्ने निर्णय गरेको हो । बैङ्कर्स सङ्घका कार्य समिति सदस्य तथा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बैठकले गाडी, सुनचाँदीसहित अत्यावश्यक बाहेकका वस्तुको एलसी तत्काल नखोल्ने निर्णय भएको जानकारी दिए।

उनका अनुसार नेपाल राष्ट्र बैंकको मौखिक निर्देशनअनुसार सङ्घले सो निर्णय गरेको हो। सङ्घले निजी गाडी, चिनी, चकलेट, चुइगम, ड्राई फुड, फर्निचर, चुरोट, रक्सी, सजावटका सामग्री, पर्फ्युम, काठका सामग्री, मोबाइललगायत सामग्री आयातका लागि एलसी नखोल्ने निर्णय गरेको हो।
यसअघि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्र गर्दै विभिन्न ४७ वटा वस्तुको आयातमा ५० प्रतिशतदेखि शतप्रतिशत मार्जिनको व्यवस्था लागू गरेको थियो।

यस्तैगरी, गत हप्ता सोमबार राष्ट्र बैंकले २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) लाई बोलाएर गाडी लगायतका वस्तु आयातको एलसी रोक्नलाई निर्देशन दिएको थियो । राष्ट्र बैंकको निर्देशनअनुसार सबै बैंकले गाडी लगायतका वस्तुको एलसी खोल्न बन्द गरिसकेका छन् ।

Logo