वायुसेवा निगमले वैशाख ९ गतेदेखि साउदी अरेबियामा नियमित उडान भर्ने

वायुसेवा निगमले वैशाख ९ गतेदेखि साउदी अरेबियामा नियमित उडान भर्ने


नेपाल वायुसेवा निगमले साउदी अरेबियामा नियमित उडान भर्ने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले राष्ट्रिय ध्वजाबाहक विमानबाट साउदी अरेबियामा नियमित उडान भर्नका लागि पहल चालेसँगै अब वायुसेवा निगमले नियमित उडान भर्ने भएको हो।

निगमका अनुसार वैशाख ९ गतेदेखि वायुसेवाको राष्ट्रिय ध्वजाबाहक विमानले पहिलो पटक साउदी अरेबियाको रियादमा नियमित उडान गर्न लागेको हो। उक्त उडानका लागि नेपाल नागरिक उड्डययन प्राधिकरणले पनि वायुसेवा निगमलाई उडान अनुमति दिइसकेको निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिए। 

उनका अनुसार वायुसेवा निगमले साउदी अरेबियाको रियाद, दमाम तथा जेद्दामा उडान गर्नसक्ने गरी अनुमति पाएको छ। निगमले व्यवसायिक योजनाअनुरुप काठमाडौँ–रियाद–काठमाडौँ सेक्टरमा नियमित उडान सुरु गर्ने भएको हो। यो रुटमा निगमले लामो समयदेखि उडानको तयारी गरे पनि अनुमति भने पाएको थिएन । मन्त्री आलेले उडान अनुमतिका लागि पहल चालेपछि अब वायुसेवाको राष्ट्रिय ध्वजाबाहक विमानले उडान भर्ने भएको हो। यसअघि हिमालय एरलाइन्सले मात्रै साउदीमा उडान अनुमति पाएको थियो ।

Logo