विवेकशील साझा पार्टीको परिचालन समिति गठन

विवेकशील साझा पार्टीको परिचालन समिति गठन


विवेकशील साझा पार्टीले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरि निर्वाचन परिचालन समिति र विभिन्न उपसमितिहरू गठन गरेको छ । 

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले केन्द्रीय कार्यसम्पादन समिति सदस्य एवं प्रवक्ता शरदराज पाठकको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको हो । 

समितिमा नारायण कोइराला, शोभा शाक्य, समीक्षा बास्कोटा,  अब्दुस मियाँ, नन्दप्रसाद काप्री, हरिकृष्ण अधिकारी, अनुपा श्रेष्ठ, हरिप्रसाद गौतम, दिपक प्रसाद उप्रेती, अमृत पुडासैनी, आशिष रेग्मी, सौरेन्द्र बहादुर शाह, सूर्य दीप रेग्मी र उद्धव राज भेटुवाल सदस्य रहेका छन् । 

साथै नवगठित निर्वाचन परिचालन समितिको बैठकले स्थानीय निर्वाचनलाई लक्षित गरि विभिन्न उपसमितिहरू गठन गरेको छ । बैठकले नारायणप्रसाद कोइरालाको संयोजकत्वमा उम्मेदवार समन्वय उपसमिति गठन गरेको छ । 

सौरेन्द्र बहादुर शाहको संयोजकत्वमा घोषणापत्र मस्यौदा उपसमिति, सूर्य दीप रेग्मीको संयोजकत्वमा सामाजिक सञ्जाल उपसमिति र उद्धवराज भेटुवालको संयोजकत्वमा सञ्चार उपसमिति गठन गरिएको छ। त्यस्तै, शोभा शाक्यको संयोजकत्वमा शुभेच्छुक समन्वय समिति, हरिप्रसाद गौतमको संयोजकत्वमा नेतृत्व भ्रमण उपसमिति, आशिष रेग्मीको संयोजकत्वमा कोष सङ्कलन उपसमिति र पार्टीको सचिवालय व्यवस्थापन प्रमुख समेत रहेका दीपकप्रसाद उप्रेतीको संयोजकत्वमा प्रशासनिक व्यवस्थापन उपसमिति गठन गरिएको छ। 

पार्टीले सबै प्रदेशमा प्रादेशिक निर्वाचन परिचालन समिति समेत गठन गर्ने जनाएको छ । प्रादेशिक समितिका संयोजकहरू पनि केन्द्रीय निर्वाचन परिचालन समितिको सदस्य रहनेछन् । 

‘स्थानीय निर्वाचनमा सातै प्रदेशका बढिभन्दा बढी स्थानीय तहमा उम्मेदवारी दिने गरि पार्टीले तयारी थालेको छ,’ विवेकशील साझाले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

पार्टीका तर्फबाट उम्मेदवार भएकाहरूको सशक्त र नतिजामुखी प्रतिस्पर्धा सुनिश्चित गर्न समिति र उपसमितिहरूले काम गर्ने केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक एवं पार्टी प्रवक्ता शरदराज पाठकले जनाएका छन् । 

Logo