तरकारी खेतीसँगै माैरीपालनमा युवा, जसको सिको गर्दै गाउँभरिका किसान व्यवसायिकता तर्फ

तरकारी खेतीसँगै माैरीपालनमा युवा, जसको सिको गर्दै गाउँभरिका किसान व्यवसायिकता तर्फ


१८ वर्षअघि व्यवसायिकरुपमा तरकारी खेतीमा लाग्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेको बाँझघरेका ईन्द्र श्रेष्ठलाई छिमेकीले नै पत्याएका थिएनन्। बजारबाट तरकारी ल्याएर खाने गरिन्थ्यो तर त्यही तरकारी आफ्नै बारीमा फलाउन सकिन्छ भन्नेमा कसैको ध्यान गएको थिएन।

त्यो बेला कृषिविज्ञ मदन राई र सूर्यबहादुर राईको नेतृत्वमा खाल्लेको नाहिमा कृषि श्रोत केन्द्र सञ्चालन थियो। नाहिमा हाल शुभम् फाउण्डेसन (दिक्तेल रुपाकोट मझवागढी नगरपालिका–२ सोल्मा)को रुपमा सञ्चालनमा छन्। त्यही कृषि श्रोत केन्द्र पुगेर व्यवसायिक तरकारी खेतीसम्बन्धी तालिम लिएर श्रेष्ठले बारीमा कृषि कर्म सुरु गरे। 

गोलभेंडा, तितेकरेला, फर्सी, काँक्रोलगायत तरकारी फलाउन थालेपछि भने ईन्द्रलाई छिमेकीले पत्याउन थाले । उनको बारीमा उत्पादित तरकारी दिक्तेल बजार पुग्न थाल्यो । तरकारी बिक्रीबाट राम्रो आम्दानी गर्न थाले । बिस्तारै छरछिमेकमा उनको सिको सुरु भयो । घर–घरमा तरकारी खेती हुन थाल्यो । 

हाल खाल्ले बाँझघरेका स्थानीयले तरकारी खेतीलाई आम्दानीको माध्यम बनाएका छन्। बाँझघरेमा १७ घरपरिवारको बसोबास छ। यी सबै घरमा तरकारी खेती हुन्छ। तरकारी बिक्रीबाट किसानले मासिक ३५–४० हजार आम्दानी गर्छन्। तरकारी खेतीबाटै घर खर्च टरिरहेको स्थानीय सूर्योदय कृषक समूहका अध्यक्ष टंक श्रेष्ठ बताउँछन्।
 
तरकारीसँगै मौरीपालन 
अगुवा किसान ईन्द्र श्रेष्ठ तरकारी खेतीमा मात्र सिमित भएनन्। उनले व्यवसायिकरुपमा मौरीपालन पनि सुरु गरे । हाल वार्षीक ५० देखि ६० केजी मह बिक्री हुने गरेको श्रेष्ठ बताउँछन्। उनको घर वरपर मौरीका १७ घार छन् । मौरीपालनबाट राम्रो आम्दानी गर्न सकिने सम्भावना भएकाले घार थप्ने योजना बनाएको श्रेष्ठ बताउँछन्। मौरीपालन भने ६–७ वर्षअघि मात्र सुरु गरिएको हो।

मौरीपालनका लागि उनले आफैंले मौरीको घार निर्माण गर्ने गरेका छन्। हाल उनले नयाँ २५ घार तयारी अवस्थामा राखेका छन्। मौरीपालनलाई थप वृहत बनाउन उनका छोरा इटहरी पुगेर तालिम लिएर फर्किसकेका छन्। 

Logo