२० असार २०७९ सोमबार
1
1
1
1

१८ वर्षदेखि सडकमा बसेर ज्ञानको व्यापार गर्दै : ‘पहिले जस्तो व्यापार हुन छोड्यो’

1
1
1
1

मानिसलाई काम गर्नका लागि केही कुराले छेक्न सक्दैन । काम गर्नका लागि न त पढाईले छेक्छ न त  अरु कुराले नै । बस मानिसमा इच्छा शक्ति हुनु पर्यो । जति पढे पनि अन्तिममा धेरै युवा विदेशिने गरेको पनि नदेखिएको होइन । तर जति नै अप्ठ्यारो आइपरे पनि नेपालमै केही गर्छु भन्ने पनि नआएका चाहिँ होइनन् । काठमाडौँ पढ्न आएकाहरु पनि अन्तिममा हार मानेर विदेश गएका पनि हामीले देखिरहेका छौँ। अनि कोही आफ्नो करियर बनाउन भनेर आएकाहरु घरपरिवारको जिम्मेवारी बोकेर काम गर्न थाल्छन् । यसरी नै पढ्न भनेर आएका रमेशप्रसाद ढुंगेल बाध्यताबस आफ्नो परिवारको जिम्मेवारी निभाएर काम गर्न थालेका उदाहरणीय व्यक्ति बन्न सफल भएका छन्। 

दोलखा घर भएका रमेश करिब २ दशक पहिले काठमाडौँ आएका हुन् । उनी सबैभन्दा पहिले आइएनजिओ, एनजिओमा काम गर्न सोलु गएका थिए । त्यहाँ पनि टाढा भएका कारण आफ्नै गाउँमा आएर पढाउने सोच बनाएर गाउँमा आएर पढाउन पनि सुरु गरे । उनी भन्छन्, “म पहिला एनजिओ, आइएनजिओबाट सोलुमा काम गर्न गएको थिएँ । अनि त्यत्रो टाढा छ घरदेखि के गर्नु भनेर आफ्नै गाउँमा पढाउने सोच बनाएँ । गाउँमा आएर केही समय पढाएँ पनि । त्यो गर्दा गर्दै आफ्नो पढाईलाई निरन्तरता दिने सोच आयो । किनकी मैले १२ कक्षा मात्र पास गरेको थिएँ । अनि पढ्नका लागि आएँ काठमाडौँ ।” 

काठमाडौँ आएर उनले सबैभन्दा पहिले एउटा गार्मेन्टमा काम गर्न सुरु गरे । पढ्न भनेर गर्दै गरेको काम छोडेर आएका रमेशले ब्याचलरमा भर्ना त गरे तर पढ्ने सपनाबीचमै अधुरो रह्यो । उनलाई पारिवारिक समस्याले झेल्न थाल्यो र पढाई छाडेर कामलाई मात्र प्राथमिकता दिए । उनले अब एकदिनमा ३ ठाउँमा काम गर्न थाले, बिहान पत्रिका पुर्याउने काम, दिउँसो किताब बेच्ने काम र बेलुका रेस्टुरेन्टमा ।

उनले सके जति काम गर्न कुनै कसुर राखेनन् । भन्छन्,“पढ्न भनेर काठमाडौँ त आएँ तर कसरी पढ्ने भन्ने केही थाहा थिएन । उमेर बढ्दै गएको हुनाले पारिवारिक समस्या पनि आइलाग्यो । त्यहि भएर किताब पढ्न मन भएतापनि किताब बेच्न पर्यो । मेरो परिवारमा बुबाको केही आश थिएन । भाइहरुलाई मैले नै हेर्न पर्थ्याे, त्यहि भएर कामलाई नै पहिलो प्राथामिकता दिए । एकैचोटी ३ ठाउँमा काम गर्न सुरु गरेँ । पत्रिका बाँड्ने, किताब बेच्ने र बेलुका रेष्टुरेन्टमा काम गर्ने । पछि त्यो रेष्टुरेन्टमा छोडेर २ वटामा मात्र गर्न थालें ।” 

काम गर्न थालेको केही वर्षपछि उनले विवाह पनि काठमाडौँमै गरे । उनले भाइहरुलाई पनि राम्रो शिक्षा दिएर विवाह गरिदिए । अहिले उनका कुनै भाइ विदेश गएका छन् भने कोही नेपालमै बसेर काम गरेर बसिरहेका छन्, परिवारका साथमा । अहिले उनी लोकन्थलीमा श्रीमती र छोराका साथ बस्दै आएका छन् । अनि पत्रिका बाँड्ने काम छाडेर त्यहीँ किताब मात्र बेच्छन् । पहिले १२ वर्ष उनले रत्नपार्कमा बेचे अनि त्यहाँ छोडेर अहिले जडिबुटीमा बेच्दै आएका छन् । रत्नपार्कमा हुँदा राम्रै भएको थियो तर कोठा टाढा भएको कारण उनी त्यहाँ छोडेर कोठा नजिकै आएका हुन् । उनी भन्छन्, “म पहिला रत्नपार्कमा बेच्थेँ, त्यहाँ त यहाँ भन्दा राम्रो थियो । बिहान पत्रिका बेच्थें, दिउँसो किताब लिएर बेच्न जान्थेँ । अहिले चाहिँ मैले पत्रिका बाँड्न छाडिदिएँ, बिरामी भएर।”  

उनी किताब बेच्ने मात्र काम गर्दैनन् । बिहान पूजापाठमा हिँड्छन्, त्यसका साथमा जग्गाको काम पनि गर्छन् । अहिले किताब बेच्न उनी आफ्नो रहरले आएका हुन् । किनकी अहिले उनलाई नपुग्दो केही छैन । श्रीमती लोकन्थलीमै फेन्सी पसल चलाइरहेकी छिन् । श्रीमतीले फेन्सी पसल चलाएको पनि १० वर्ष भैसक्यो ।  

पहिले १२ वर्ष उनले रत्नपार्कमा बेचे अनि त्यहाँ छोडेर अहिले जडिबुटीमा बेच्दै आएका छन् । रत्नपार्कमा हुँदा राम्रै भएको थियो तर कोठा टाढा भएको कारण उनी त्यहाँ छोडेर कोठा नजिकै आएका हुन् ।

उनीहरु दुवैजना मिलेर जग्गा पनि किनेका छन् । भन्छन्, “म पहिले त बाध्यताले पनि आउनुपर्यो किताब बेच्नका लागि तर अहिले म दिन कटाउनका लागि आउँछु किनकी दिनैभरी त्यसै बस्नुभन्दा यो लिएर आयो भने साथीभाइसँग गफ पनि हुन्छ। दिन कटाउँन पनि सहज हुन्छ । कमाई पनि हुन्छ । हामी २ जना मिलेर जग्गा यहीँ नजिक किनेका छौँ । घर बनाउन बाँकी छ। विस्तारै बनाउन थाल्नुपर्छ ।” 

उनले किताब बेच्न थालेको १८ वर्ष भैसक्यो। एकपटकमा २ देखि ३ लाखसम्मको हाल्छन् । विस्तारै कुन बढी जान्छ अनि थप्दै थप्दै जान्छन् । पहिला रत्नपार्कमा हुँदा उनलाई महिनाको ३०/३५ हजार नाफा हुन्थ्यो। भन्छन्, “रत्नपार्कमा हुँदा त ३० हजारदेखि ३५ हजारसम्म नाफा हुन्थ्यो । त्यहाँ महिनाको ३०/३५ हजार नाफा हुन्थ्यो । यहाँ आएपछि त महिनाको १५/२० हजार मात्र नाफा हुन्छ । व्यापार राम्रै भैरहेको छ। १२ बजेदेखि १ बजेसम्म यहाँ आइपुग्छु। दिनमा ४/५ हजारको विक्री हुन्छ। 

सबैभन्दा बढी चाहिँ नेपाली वर्णमालाको किताब विक्री हुन्छ। पात्रो पनि विक्री भैरहेको छ। वर्णमालापछि जापानिज भाषाको किताब जान्छ । कथा पनि जान्छ। रत्नपार्कमा हुँदा क्यालेण्डर र राशिफलले सबैभन्दा बढी हुन्थ्यो नेपालको नक्सा जान्थ्यो । विश्वको भूगोल जान्थ्यो । हाम्रो पात्रो आएपछि मात्र यो पात्रो तथा राशिफल घट्न थालेको हो । सूर्य पञ्चांग पनि जान्छ । नयाँ वर्ष लागेपछि पात्रोको र पञ्चांगको व्यापार बढेको छ। वर्णमाला मात्र पनि लाखौंको विक्री हुन्छ । महिनाको २ लाख किताब ल्याएको ठाउँमा बुझाउनु पर्छ ।” 

सडकमा व्यापार गर्दा अरुलाई गाली गरे पनि रमेशलाई नगर प्रहरीले केही गर्दैनन् । उनी नगर प्रहरीले केही नगर्नुको कारण किताब बेच्ने भएर होला भन्छन् । उनले अरु काम पाएतापनि यहि किताब बेच्ने कामनै ठिक छ जस्तो लागेर यसैलाई निरन्तर दिइरहे । भन्छन्, “मैले यहि काम राम्रो हुन्छ भनेर अरु काममा हातै हालिन । पैसा मात्र ठूलो हैन जीविको चलाउँन पुग्यो भने हुन्छ भनेर पढ्न छोडेर यहीँ काम निरन्तर गरिरहे । पहिला पत्रिका बेच्दा तलव ५ हजार थियो त्यसपछि बढेर ९ हजारसम्म पुग्यो । तर मलाई ५ सयदेखि १ हजार रुपैयाँ बोनस दिन्थे अनि अलिक बढीनै हुन्थ्यो । दशैंको बेलामा अफिसबाट पनि बोनस दिन्थ्यो ।”

उनी किताब ल्याउँदा आदि पैसा दिएर ल्याउँछन् भने आदि बाँकीमै ल्याउँछन् । उनी बाटोमा हिँड्ने मान्छेले नराम्रो भनेको कुराको गुनासो गर्दै भन्छन्, “कोही कोही मान्छेले त आजकालको जमानामा पनि के यस्तो गरेको मोबाइलमा छ सबै भनेर खिल्ली उडाउँछन् । तर म वास्तै गर्दिनँ । चुप लागेर बस्छु । तिनीहरुले अहिले यस्तो भने पनि तिनीहरुको दिन पनि यस्तै हो । भोलि के हुन्छ कसले देखेको हुन्छ र नेपालको जागिर यस्तै हो । विदेश गएपनि सग्लो मान्छे आएको छैन ।”
उनलाई मानिसले यस्तो  किताब चाहियो भनेर अर्डर पनि गर्छन् । प्रायःजसो जापानिज भाषा, मुलुकी ऐन र आर्मी पुलिसका किताब चाहिँ अर्डरको हो। 

यसरी नै शहरमा पढ्न आएका कति युवाहरु पारिवारिक समस्याले गर्दा पढ्नै छोडेर कामतिरै लाग्छन् । कोही विदेश जान्छन् । तर कोही समस्याहरुको कसरी समाधान गर्न सकिन्छ भनेर खोजी गर्छन् । अनि सफल पनि हुन्छन् । 

अर्थ संसार

प्रकाशित: ७ बैशाख २०७९ ०८:३२ बुधबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी