महिलाद्वारा सञ्चालित उद्योगमा दर्जनौँलाई रोजगारी

महिलाद्वारा सञ्चालित उद्योगमा दर्जनौँलाई रोजगारी


इलामको कोशेली ललिपप धेरैको रोजाइमा पर्दछ । दूधबाट बनेको ललिपप इलाम घुम्न आउने पर्यटकले घर फर्किंदा कोसेलीको रुपमा प्रायः लिएर जाने गर्दछन् । निकै स्वादिलो मिठाईका रुपमा लिइने ललिपप उद्योगबाट धेरै महिलाले रोजगारीसमेत पाएका छन् । 

ललिपपसम्बन्धी उद्योग सञ्चालन गरेर इलामका महिलाले आत्मनिर्भर मात्र हैन धेरै महिला तथा पुरुषलाई रोजगारीको अवसर बनेको छ । धेरै महिला तथा पुरुष जागिरको खोजीमा कोही नेपालमा नै त कोही रोजगारी नपाएर वैदेशिक रोजगारीमा समेत जाने गर्दछन् तर इलामकि दीपा गुरुङले धेरै महिलालाई रोजगारी दिएकी छन् ।

सानो लगानीबाट सुरु गरेको ललिपप उद्योगबाट अहिले धेरै महिला दिदीबहिनीलाई रोजगारी दिन सफल भएकी छन्,दीपा । इलाम तिल्केनीकी दीपाको दैनिकी अहिले निकै व्यस्त छ । आठ वर्ष पहिले उनले स्थापना गरेको ग्रिनसिटी ललिपप उद्योगमा अहिले ४६ महिलाले रोजगारी पाएका छन् । बिहान ४ बजेदेखि राति अबेरसम्म उनि काममा नै व्यस्त रहन्छिन् ।

उनको उद्योगबाट ललिपप र बम्बैसन बन्ने गर्दछ । इलाममा मात्र सीमित ललिपप र बम्बैसन पछिल्लो समय काठमाडौँसम्म पुग्ने गरेको छ । छ जनाबाट सुरु भएको उनको उद्योगमा अहिले ४६ महिलाले दैनिक काम गर्छन् । रु पाँच लाखबाट सुरु भएको उनको उद्योगले अहिले वार्षिक रु ३५ लाखसम्म कमाइ गर्दै आएको छ । 

त्यस्तै इलाम बजार नजिकै सुष्मा राईले पनि इलामेली ललिपप उद्योग स्थापना गरेकी छन् । उनको उद्योगमा पनि दैनिक ३४ कामदारले काम गर्छन् । रु चार लाखको लागतबाट सुरु भएको व्यवसायबाट राम्रै आम्दानी हुने गरेको उनले सुनाइन् । थोरै लगानीबाट सुरु भएको उद्योगमा धेरै महिलाले रोजगारी पाएसँगै उनिहरु खुसी छन् । उद्योगमा सबैलाई कामको बाँडफाँट गरिएको छ । 

मिठाईका परिकारमा लेबल लगाउने, स्टिकर टाँस्ने, प्याकेजिङ गर्ने काममा महिला दिदीबहिनीले रोजगारी पाएका छन् । गाउँबाट बालबच्चा पढाउन सदरमुकाम बसेका महिलासमेत सो उद्योगमा काम गर्छन् । उनिहरुले श्रीमान् वा आफन्तबाट पैसा माग्न नपर्ने बताउँछन्। बरु उल्टै परिवारमा पैसा सरसहयोग गर्न पाएको भन्दै खुसीसमेत व्यक्त गर्छन् ।

दूधबाट खुवा तयार पारेपछि ललिपप बनाइन्छ । ललिपपसँगै बम्बैसन पनि तयार पारिन्छ । १५ वर्ष पहिले सामान्यरुपमा बिक्री हुने ललिपप पछिल्लो समय लोकप्रिय बन्दै गएको छ । दूध पकाउन चुला बनाएर आगोबाट गरिँदै आएको भए पनि पछिल्लो विद्युतीय प्रविधिबाट समेत दूध सुकाएर कुराउनी निर्माण गरिन्छ । दूध फटाएर छुर्पी, चिज, सेतो रसबरीलगायतका परिकार बनाइन्छ ।

हाल ललिपपलगायत दूधजन्य वस्तुको बजारमा समस्या नभएका कारण यस क्षेत्रमा जिल्लावासीको आकर्षण बढ्दै गएको छ । यस्ता उद्योग सञ्चालन गर्नेको सङ्ख्यासमेत बढ्दै गएको छ । कतिपय युवायुवती बेरोजगार बनेर विदेश पलायन भइरहेको अवस्थामा इलामका ललिपप उद्योगले धेरैलाई रोजगारी दिइरहेका छन् ।

कोरोना सङ्क्रमणमा धेरै मार खाएका यी उद्योगलाई टिकाइ राख्न राज्यका सम्बन्धित निकायले भने ध्यान दिन नसकिरहेको उद्योगीको भनाइ छ । जिल्लामा अनुदानका केही कार्यक्रम आए पनि वास्तविक व्यक्तिसम्म पुग्न नसकेको उद्योगीको गुनासो छ । यस विषयमा समेत सम्बन्धित निकायले सोच्न आवश्यक छ । 

Skip This
Logo