केन्द्रीय तथ्यांक विभागले भने जस्ताे आर्थिक वृद्धिदर ५.८४ प्रतिशतले बढ्ला ? (भिडियाेसहित)

केन्द्रीय तथ्यांक विभागले भने जस्ताे आर्थिक वृद्धिदर ५.८४ प्रतिशतले बढ्ला ? (भिडियाेसहित)


केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.८४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ। बिहीवार काठमाडौंमा पत्रकारसम्मेलन गर्दै केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.८४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको हो । 

आर्थिक वर्ष २०७८/०७९ को राष्ट्रिय लेखा तथ्यांक प्रस्तुत गर्दै विभागका निर्देशक ईश्वरीप्रसाद भण्डारीले बजार मूल्यमा अहिलेको राष्ट्रिय लेखा अनुमानमा कृषि क्षेत्रमा अहिलेको नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर ६.९ प्रतिशत हुने बताए । विभागले अनुमान गरेको आर्थिक वृद्धिदर एक दशकको औसत वृद्धिभन्दा बढी हो । बितेको दशकमा औसत ४ प्रतिशत हाराहारीमा आर्थिक वृद्धि भएको थियो । 

कोरोना कहरका कारण अघिल्लो वर्ष आर्थिक वृद्धि २.४२ प्रतिशतले ऋणात्मक हुन पुगेको थियो । कोरोना कहरबाट उठ्न खोजेको अर्थतन्त्र गत वर्ष ३.९३ प्रतिशतले वृद्धि भएको संशोधित अनुमान विभागले सार्वजनिक गरेको छ । विभागले प्रक्षेपण गरेको चालू आर्थिक वर्षको वृद्धि एशियाली विकास बैंक, विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले गरेको अनुमानभन्दा बढी हो । 

तेस्रो वर्ष आइपुग्दा मात्रै आर्थिक वृद्धिको यकिन तथ्यांक विभागले सार्वजनिक गर्ने गरेको छ। चालु आर्थिक वर्षमा अध्यादेश बजेटले साढे ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेकोमा वर्तमान सरकारले प्रतिस्थापन बजेटमार्फत ७ प्रतिशत वृद्धि हुने लक्ष्य राखेको थियो । अहिलेको आर्थिक वृद्धिदर २.३ प्रतिशत मात्रै छ । गैरकृषि क्षेत्रको वृद्धिदर ६.९ प्रतिशत रहेको छ।’

नेपालीको वार्षिक आम्दानीमा पनि वृद्धि भएको छ । यो वर्ष नेपालीको वार्षिक आम्दानी बढेर १ हजार ३७२ डलर पुगेको छ। चालु आर्थिक वर्षको अर्थतन्त्र विस्तारसम्बन्धी विवरणमा प्रतिव्यक्ति आय बढेको उल्लेख छ । गत वर्ष प्रतिव्यक्ति आय १ हजार १९१ डलर थियो । 

नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) पनि वृद्धि भएको छ । गत आर्थिक वर्षको तुलनामा यो वर्ष जीडीपीको आकार ३ खर्ब ७२ अर्ब २७ करोड रुपैयाँले बढेको निर्देशक भण्डारीले बताए । नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) आधारभूत मूल्यमा ४१ खर्ब ५ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । गत वर्ष  ३७ खर्ब ३३ अर्ब २७ करोड रुपैयाँ थियो ।

कुल गार्हस्थ्य उत्पादनमा खानी तथा उत्खनन् क्षेत्रले ०.५८ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान विभागको छ । त्यस्तै कृषि तथा वन मत्स्यले २३.९५ प्रतिशत, उद्योगले ५.६५ प्रतिशत, विद्युत, ग्यास, वाष्प तथा आपूर्ति सेवाबाट १.३७ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान छ । 

निर्माण ६.१७, थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मत सेवा १६.४०, यातायात तथा भण्डारण ५.९८, आवास तथा भोजन सेवा १.६५, सूचना तथा सञ्चार २.०९, वित्तिय मध्यस्थता ६.८६, घरजग्गा कारोवारको सेवा ८.७९, पेशागत वैज्ञानिक तथा प्राविधिक क्रियाकलाहरु ०.९९, प्रशासनिक तथा सहयोगी सेवाका क्रियाकलापहरुबाट ०.७८ प्रतिशत कुल गार्हस्थ्य उत्पादनमा योगदान पुगेको विभागले जनाएको छ। त्यस्तै सार्वजनिक प्रशासनिक तथा रक्षाबाट ७.७३, शिक्षाबाट ८.१, स्वास्थ्य तथा सामाजिक कार्य १.७९, अन्य सेवाका क्रियाकलापहरुबाट ०.६१ प्रतिशत योगदान पुगेको प्रारम्भिक अनुमान छ।

 

Logo