९ जेठ २०७९ सोमबार
1
1
1
1

परम्परागत पहिरन बनाएर स्वरोजगार बन्दै कञ्चनपुरका महिला

1
1
1
1
1
1

कृष्णपुर नगरपालिका-६ का कमला डगौरा थारु समुदायका महिलाले लगाउने परम्परागत पहिरन बनाउने सीप बूढापाकाबाट सिकेर नयाँ पुस्तालााई सिकाउनमा व्यस्त छिन् ।

 सानै छँदा घरका बज्यै, आमाबाट महिलाले लगाउने लेहङ्गा, चोली बनाउन उनले सिकेकी हुन् । पुस्तौँदेखि पुस्तान्तरण हुँदै आएको सीपलाई उनले आफूमा मात्रै सीमित राखेकी छैनन् । उनले गाउँका युवतीलाई  लेहङ्गा, चोलीलगायत बनाउन सिकाउनका लागि मद्दतसमेत पुर्‍याउँदै आएकी छन् ।

उनलाई युवतीलाई सीप सिकाउने कार्यमा महाकाली सामुदायिक वनले सहयोगसमेत गरेको छ । एक महिने नि:शुल्क तालिम आयोजना गरी २० युवतीलाई लेहङ्गा, चोली बनाउने तालिम दिइएको उनले बताइन् । उनका अनुसार पहिला आजभोलि जस्तो कपडा सिउने मेसिनको प्रचलन थिएन । त्यसैले सबै कपडा हातैले सियो धागोको मद्दले सिउने गरिन्थ्यो ।

एकै जोडी लेहङ्गा चोली बनाउन १० देखि १५ दिन लाग्ने गर्दथ्यो । त्यो कार्य फुर्सदको समय मात्रै हुने गर्दथ्यो । आजभोलि कपडा सिउनका लागि मेसिनको प्रयोग गरिन्छ । कपडा सिउनका लागि केही घण्टा मात्रै लाग्ने गरेको छ । लेहङ्गा चोलीमा बुट्टा भर्ने, सितारा राख्ने, लेस अर्सा राख्ने कार्यसँगै ड्राफ्ट तयार गर्ने कार्य सहजरुपमा हुने गरेको छ । “बुट्टा भर्ने र नयाँ डिजायन तयार गर्ने कार्यका लागि युटयुवको सहायतासमेत लिने गरेका छौँ”, उनले भनिन्, “आँखा सिपालु भए पछि सबै सिपालु हुन्छन् ।

देखेको कुरालाई दिमागमा राखेर अरुभन्दा नयाँ कार्य गरे । त्यसबाट बढी आम्दानी लिन सकिन्छ । परम्परागत पहिरनलाई जोगाउन सकिन्छनै । आम्दानी बढ्ने भएकाले बेरोजगार भएर बस्नु पर्दैन ।” लेहङ्गा चोली तयार गरी बेचेर उनले मासिकरुपमा रु ४० हजार बढी आम्दानी गर्ने बताउँछिन्। उनले तयार गरेका लेहङ्गा चोली कञ्चनपुर, कैलालीदेखि बाँके बर्दियासम्म बिक्री हुने गरेका छन् ।

 एकजोर लेहङ्गा, चोली बनाउन दुईदेखि तीन दिनसम्म लाग्ने गरेको छ । एक जोडी तयार गर्नका लागि रु तीन हजार जति खर्च लाग्ने गरेको छ । जसबाट रु दुई हजार जति नाफा हुने गरेको अनिता देवी डगौरा बताउँछिन्। “लेहङ्गा चोली बनाउन आवश्यक कपडा, सितारालगायत भारतबाट मगाउनुपर्ने हुन्छ”, उनले भनिन्, “त्यसैले एक जोर बनाउनै धेरै खर्च आउछ ।” 

लेहङ्गा, चोलीसँगै महिलाले लगाउने अन्य पहिरन पनि बनाउने भएकाले कमाइ पनि गतिलो नै हुने गरेको उनको भनाइ रहेको छ । “पहिला घर खर्चका लागि श्रीमानको मुख ताक्नुपर्ने बाध्यता थियो”, उनले भनिन्, “हाल श्रीमान् काममा नगएको बेला कमाइको केही रकम पकेट मनिका रुपमा हामीबाटै माग्नुहुन्छ ।

 बेरोजगार हुँदा श्रीमानबाट रकम माग्थ्यौँ । हाल तालिम दिएर दक्ष भई काम गर्न थालेपछि श्रीमान्लाई पैसा दिन थालेका छौँ ।” तीन वर्षदेखि कपडा सिउने कार्य गर्दै आएकी भावना चौधरी भन्छिन् । उनि पनि लेहङ्गा, चोली सिउने कार्य गर्ने गर्छिन् । वर्षमा उनले ३० जोर जति लेहङ्गा, चोली बनाउँछिन् । जसबाट उनले रु ६० हजार जति आम्दानी हुँदै आएको छ । “तालिम लिएर परम्परागत कपडा तयार गर्न सिकेपछि आम्दानी बढेको छ”, उनले भनिन्, “घर खर्च सहजरुपमा चलेको छ । 

लेहङ्गा, चोली बनाउने कार्यबाट गाउँका महिलाले गतिलो आम्दानी लिने कार्य गर्दै आएको जानकारी पाईएपछि आस्पती राजवंशीसमेत परम्परागत लेहङ्गा, चोली बनाउने सीप सिक्नमा लागेकी छन् । “लेहंगामा बुट्टा भर्ने, ड्राफ्ट तयार गर्ने कार्य महाकाली सामुदायिक वनले दिएको तालिमका क्रममा सिकेको छु”, उनले भनिन्, “सीपलाई निर्खानका लागि सीप सिकेका महिला कहाँ गएर सिक्न थालेको छु । यस कार्यका लागि घर परिवारको सहयोगसमेत पाईएको छ ।”

वन पैदावारबाट आएको आम्दानीको केही हिस्सा खर्चेर महिलालाई परम्परागत पहिरन जोगाउनका लागि सीप सिकाउने कार्य गरिएको महाकाली सामुदायिक वनका अध्यक्ष वीरबहादुर राजवंशीले बताए । “महिलाको नेतृत्व विकास, सशक्तीकरण, गरिबी निवारण गर्ने उद्देश्यसँगै रोजगारी सिर्जना गर्नका लागि परम्परागत सीपमा आधारित सीप महिलाहरुलाई सिकाइ व्यावसायिक बनाएका छौँ”, अध्यक्ष राजवंशीले भने, “जसबाट पुरानो सीप नयाँ पुस्तामा हस्तान्तरण गर्न सहज भएको छ ।

बजार प्रवद्र्धन गर्ने कार्य सामुदायिक वनका तर्फबाट गरिरहेका छौँ । थारु समुदायको संस्कृति जोगाउनसमेत मद्दत पुगेको छ ।” लेहङ्गा, चोली बनाउने सीपसँगै दुनाटपरी बनाउने, बेतबाँसका सामग्री बनाउने सीपसमेत सामुदायिक वनका उपभोक्तालाई दिइएको उनको भनाइ रहेको छ । 

अर्थ संसार

प्रकाशित: १९ बैशाख २०७९ ०९:४४ सोमबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी