‘सबैले जागिर नै खानुपर्छ भन्ने छैन, गर्न सक्ने हाे भने चिया बेचेर पनि राम्रो आम्दानी हुन्छ’

‘सबैले जागिर नै खानुपर्छ भन्ने छैन, गर्न सक्ने हाे भने चिया बेचेर पनि राम्रो आम्दानी हुन्छ’


मानिसको आफ्नै सोच हुन्छ। कोही कामको खोजीमा विदेश जान्छन् त कोही विदेशबाट फर्किएर पनि स्वदेशमै केही गरिरहेका हुन्छन् । कोही रहरले काम गर्छन् त कोही बाध्यताले धेरैजसो चाहिँ बाध्यताले नै जस्तो काम पनि गरिरहेका हुन्छन् । परिवार पाल्नको लागि सबैले केही न केही काम गर्नैपर्ने बाध्यता सबैमा हुन्छ । 

पाँचथर घर भएका ३९ वर्षिय जयकुमार राई करिब ६ महिना पहिले काठमाडौँ आएका हुन् । काठमाडौँमा केही काम गर्ने सोच बनाएर आएका उनले कामको खोजीमा धेरै भौतारिनु पर्यो । कामको लागि कहिले जब सेन्टरमा गए त कहिले कहाँ । आएको २ महिना त उनलाई कोठा भाडा तिर्न पनि धौधौ भयो । अब के गर्ने के नगर्ने भन्ने कुरा सोच्नै सकेनन् । जागिर खोज्दा केही नपाएपछि उनको दिमागमा चिया बनाएर बेच्ने सोच आयो । अनि सुरु गरे चिया बनाएर बेच्न । 

उनी भन्छन्, “गाउँबाट कामको शिलशिलामा हिँडेको थिएँ । तर काम पाइएन । काठमाडौँमा बस्नको लागि केही त गर्नै पर्यो त्यसैको लागि दुःखसुख गरिरहेको छु । काठमाडौँ आएको ६ महिना मात्र भयो । पहिला काठमाडौँ आएको २ महिनासम्म त के गर्ने के नगर्ने भनेर सोच्नै सकिनँ । कोठा भाडा तिर्नै धौ धौ पर्यो । काम कति खोजें कति । जब सेन्टरमा पनि कुरा गरें तर त्यहाँ त पैसा तिर्नुपर्ने रहेछ । अनि केही गर्दा पनि नभएर अहिले चिया बेच्न थालेको ४ महिना भयो ।”

चिया बेच्नका लागि उनी विहान उठेर चिया तयार पारेर एयरपोर्टमा जान्छन्, अनि बेलुका  पशुपतिमा । सुरु सुरुमा चिया बनाएर कहाँ बेच्ने उनलाई केही थाहा थिएन । बाटोमा हिँड्ने मान्छे होस् या बस्ने सबैलाई सोधे उनले चिया पिउँने भनेर । पहिला जब सेन्टरमा काम खोज्न गएपछि पनि केही नभएपछि उनले एक ठाउँमा काम गर्न त थाले तर त्यहाँ पनि पैसा नदिएका कारण त्यो काम नै छाडिदिए । भन्छन्, “काठमाडौँ आएर बस्न त बसेँ, तर कोठा भाडा तिर्नै गाह्रो भयो । एउटा ठाउँमा काम गर्न गएको महिनामा पैसा पनि नदिने । पैसा नदिएपछि त परिवार भएको मान्छेलाई गाह्रो हुन्छ । त्यही भएर खानका लागि त केही गर्नु पर्छ, सोचिरहेको थिएँ दिमागमा अनि बरु मैले चिया बेचेँ भने राम्रो हुन्छ होला भनेर  चिया बेच्न थालेँ । कसले के भन्छ केही सोचिनँ ।”

जयकुमार राईले पनि जीवनमा धेरै दुःख गरे । गाउँघरमा हुँदा पनि कहिले भैंसी पालेर दुध बेचे त कहिले तरकारी खेती गरे । त्यति गर्दा पनि नभएर उनी विदेश पनि गए । तरकारी खेती गर्दा राम्रो उत्पादन भए पनि बजार भाउ नै नभएका कारण उनी विदेश जान बाध्य भए ।

चिया कहाँ गएर बेच्ने कसलाई बेच्ने केही थाहा नभएका उनले बाटो, मन्दिर, रोडको जाम सबैमा लगे । तर कसले खान्थ्यो र जहाँ पायो त्यहीँ । बेलुका विक्री नभएर सबै खेर जान्थ्यो । तर त्यो चियालाई खेर जान नदिनको लागि उनले मन्दिरमा बसेका अपाङ्गता भएका र सडकको छेउमा भएका बृद्धबृद्धालाई बाँड्दै आउँथे । उनी भन्छन्, “सुरुमा कति खेर जान्थ्यो । नजानेर कहाँ लाने कसले खान्छ भनेर थाहा पनि थिएन । बाटोमा हिँड्ने मान्छेलाई चिया खाने भनेर सोध्दै हिँड्थे । थाहा नै हुँदैन थियो । बसेको मान्छेलाई पनि सोध्थेँ । जस्तोलाई पनि सोधेर हिँडे ।”

जय राईको पहिलो दिनमा २ सय रुपैयाँ मात्र कमाई भएको थियो । एक दिनमा २ सय रुपैयाँमात्र कमाइ भएपछि फेरि उनको मन बदलियो । यो काम गर्दा पनि नहुँने रहेछ भनेर फेरि मनमा निराशा पलायो । फेरि हार पनि मानेन् । भन्छन्, “चिया बेचेको पहिलो दिनमा मेरो कमाइ २ सय रुपैयाँ मात्र भएको थियो । अनि यसले पनि नहुने रहेछ भनेर हार मानिसकेको थिएँ । काठमाडौँमा बस्नको लागि दिनको यतिले पुग्दैन जस्तो लाग्यो । फेरि हरेश पनि खाइनँ । पहिला नराम्रो पछि राम्रो पक्कै पनि आउँछ भनेर निरन्तर गरिरहेँ । पछि पछि विस्तारै दिनको ५/६ सय रुपैयाँ हुँदै गयो । मैले यहाँबाट एउटा शिक्षा चाहिँ पाएँ, जुन काम गरिरहेको छ त्यो कामलाई निरन्तरता चाहिँ दिनै पर्ने रहेछ हार मान्न नहुने रहेछ । त्यसमै सफलता पाइने रहेछ । त्यसैले मैले पनि हार मानिनँ ।”

राईलाई पशुपतिमा बाहिर मागेर बसेका र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क चिया दिन पाउँदा मनमा आनन्द आउँछ । मन शान्ति हुन्छ । भन्छन् “मलाई चिया बेच्दा एउटा राम्रो पाटो चाहिँ के लाग्छ भने जो मान्छे अपाङ्गता भएको हुन्छ त्यस्तोलाई चिया दिन पाउँदा धेरै खुशी लाग्छ । ऊसँग पैसा हुँदैन तर खान मन लागेको हुन्छ । उनीहरुलाई दिन पाइयो भने त मन पनि आनन्दित हुन्छ । पैसाभन्दा पनि उनीहरुलाई सेवा गर्यो भने त्यतिबेला सबैभन्दा खुशी लाग्छ । मरेर अरुले गरिदिएको दानभन्दा बाँचुन्जेल आफूले गरेको सेवा नै राम्रो हुन्छ ।”

चिया बेच्न जाँदा कसैले केही भने पनि उनलाई केही फरक पर्दैन । किनकी उनलाई थाहा छ दुःख नगरी कोही पनि माथि पुग्न सक्दैन भनेर । भन्छन्, “पहिला नै सम्पन्न भएर कोही आउँदैन, सबैको आआफ्ना दुःख हुन्छन् । आआफ्नो दुःख गरेर आएको हुन्छ । एकैचोटी ठूलो ठाउँमा कोही पनि पुग्दैन ।”

जयकुमार राईले पनि जीवनमा धेरै दुःख गरे । गाउँघरमा हुँदा पनि कहिले भैसी पालेर दुध बेचे त कहिले तरकारी खेती गरे । त्यति गर्दा पनि नभएर उनी विदेश पनि गए । तरकारी खेती गर्दा राम्रो उत्पादन भए पनि बजार भाउ नै नभएका कारण उनी विदेश जान बाध्य भए । भन्छन्, “सहरमा काम गर्न थाल्यो भने जिस्क्याउँछन् । गाउँमा गर्नका लागि केही छैन । सागसब्जी उत्पादन गर्यो राम्रो बजार भाउ पाउँदैन । पहिला मैले पनि गरेको हो, तरकारी खेती पनि गरेँ । भैंसी पालेर दूध पनि बेचेँ तर त्यही हामीले लगेको दूध नै तिनीहरु जाँचेर मात्र लिन्छन् । अनि विदेशबाट चाहिँ जस्तो पनि ल्याउँछन् । अनि नेपालमा बनेको भन्दा अलिक सस्तोमा पाएपछि किन्न जाने त सबैले त्यही हो । यहाँ उत्पादन भएको सबै कुहिएर जान्छ । देशमा कृषि व्यवसाय गर्छु भन्ने युवालाई राम्रो तरिकाको सुविधा दिएर उसलाई निव्र्याजीमा लगानी गर्न दिने हो भने देशका युवा कहिँ जानु पर्दैन यहीँ छ पैसा । कतिपय विदेश गएर घरविहिन पनि भएका छन् ।”

सबैले जागिर नै खानुपर्छ भन्ने छैन। आफूले गर्न सक्ने जे काम गर्दा पनि हुन्छ । तर राम्रो हुनु पर्यो । म पनि गर्दै गर्छु यस्तै काम । पछि पछि एउटा सानो क्याफे खोल्ने सोचमा छु ।

उनी विहान विहान एयरपोर्टमा चिया लिएर जाँदा विदेश जानेको भिड देख्छन्। त्यस्तो विदेश जानेको भिड लागेको देख्दा उनको मनमा चिसो पस्छ । भन्छन्, “म पनि पहिला विदेश गएर आएको हो । त्यो विदेशको दुःख सम्झिँदा हामी नेपाली हुनुको कुनै अर्थ हुँदैन जस्तो मलाई लाग्छ । धितो राखेर ऋण लिएर विदेश जाउँला, फेरि डुबिएला, र परिवार विचल्ली होला । त्यो सबै कुरा सोच्नुपर्छ ।”

जय देशमा राम्रो सोच्ने कोही नभएको कुरामा गुनासो गर्छन् । उनी हरेक उत्पादन देशमै होस्, बाहिरबाट ल्याउन नपरोस् भन्ने अपेक्षासमेत राख्छन् सरकारसँग । भन्छन्, “सडकमा बसेर आफ्नो जिविकोपार्जन गर्नेहरुलाई त नगर प्रहरीले कुटेर खेद्छ। सामान पनि सबै फालिदिन्छ । यहाँ त ठूला ठूलाहरुको पैसा पहुँच हुनेको लागि मात्र रहेछ व्यापार ।”

पहिले व्यापार नभए पनि अहिले उनको व्यापार राम्रो भएको छ । कहाँ कसले खान्छ भनेर उनलाई सबै थाहा भैसक्यो। सबैकुराको खर्च कटाएर उनी दिनको विहान बेलुका गरेर ९ सयदेखि १ हजारसम्म फाइदा बसाउँछन्। उनी भन्छन्,“ दिनको नाफा त धेरै हुँदैन । तर पनि धेरैजसोले चिनेको मान्छेले कति राम्रो काम गर्नुभएको । राम्रो छ गर्दै जानुस्, भन्नुहुन्छ । त्यतिबेला एकदम खुशी लाग्छ । कसैले बाटोमा चिया माग्छन् अनि खाएर हिँड्छन् । पैसा छैन भने छैन भन्दा पनि हुन्छ म छाडिदिन्छु तर खाएर केही नभनी चुपचाप हिँड्दा त कस्तो कस्तो लाग्छ ।”

उनलाई बाटोमा हिँड्दा कोही कोहीले के चिया बेचेको होला भनेर हाँस्छन् । तर उनी केही भन्दैनन् । कुनै पनि काम गर्दा मानिसले उसलाई हौसला र प्रेरणा पायो भने राम्रो हुने उनी बताउँछन् । भन्छन्, “उसले गरेको कामलाई मजाक बनाएर उडायो भने उसले त्यो काम छाडेर नराम्रो काममा जान्छ । बाँच्नका लागि केही काम गर्नुपर्छ । त्यो काम गर्दा पनि उसले राम्रो प्रतिक्रिया पाएन भने उसले कि चोर्छ कि नराम्रो कामतिर लाग्छ । यो कुरालाई सरकारले कहिले पनि सोचेन । सबैले जागिर नै खानुपर्छ भन्ने छैन। आफूले गर्न सक्ने जे काम गर्दा पनि हुन्छ । तर राम्रो हुनु पर्यो । म पनि गर्दै गर्छु यस्तै काम । पछि पछि एउटा सानो क्याफे खोल्ने सोचमा छु ।”

Logo