पशुपतिमा सुविधा सम्पन्न किरियापुत्री भवन बनाउन पर्यटनमन्त्री श्रेष्ठको पहल

पशुपतिमा सुविधा सम्पन्न किरियापुत्री भवन बनाउन पर्यटनमन्त्री श्रेष्ठको पहल


बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले पशुपति क्षेत्र परिसरमा सुविधा सम्पन्न किरियापुत्री भवन बनाउन चासो देखाएका छन्। पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसँग बुधबार छलफल गर्दै उनले पशुपतिमा सुविधा सम्पन्न किरियापुत्री भवन बनाउन आवश्यक रहेको बताए। 
    
उक्त प्रयोजनका निम्ति पर्यटनमन्त्री श्रेष्ठले बागमती प्रदेशबाट पशुपतिमा सुविधा सम्पन्न भवन बनाइदिने योजना सुनाए। पाशुपत क्षेत्र सङ्घीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत रहेपछि पशुपति क्षेत्र विकास कोषसँगको सहकार्यमा उक्त क्षेत्रमा किरियापुत्री भवन, भण्डारखाल क्षेत्र लगायतको पूर्वाधार निर्माणमा प्रदेश सरकारले सहयोग गर्ने मन्त्री श्रेष्ठको प्रतिबद्धता थियो । 

पर्यटन मन्त्रालयका सचिव मदन कोइराला, पर्यटन आयोजना प्रमुख विष्णु भण्डारीसहित पशुपति पुगेका संस्कृतिमन्त्री श्रेष्ठले पवित्र पाशुपत क्षेत्रको विकास र विस्तारमा प्रदेश सरकार तयार रहेको बताए। 

उनले  प्रदेश सरकारको पनि उपस्थिति हुनेगरि योजना प्रस्ताव गर्न पशुपति क्षेत्र विकास कोषका कार्यकारी अधिकृत डा घनश्याम खतिवडालाई आग्रह गरे। “पशुपतिनाथ मन्दिर परिसरमा रहेको किरियापुत्री भवनको भौतिक सुधार, राम्रो शौचालयको व्यवस्थापनका साथै सुन्दर बगैँचासहितको भौतिक निर्माणका लागि बागमती प्रदेश सरकार संस्कृति तथा पर्यटन मन्त्रालयमार्फत के गर्न सकिन्छ भनी रायसुझाव लिन स्थलगत भ्रमण गरिएको हो”, मन्त्री श्रेष्ठले भने।
      
यसैबीच मन्त्री श्रेष्ठले थानकोटस्थित त्रिभुवन पार्कको विकास र विस्तारमा प्रदेश सरकारले गर्नसक्ने कामको निरीक्षण पनि गरेका थिए। बागमती प्रदेश सरकार संस्कृति तथा पर्यटन मन्त्रालयले उक्त पार्कमा हालको आयाेजनाको अवस्था र आगामी वर्ष समावेश गरिनुपर्ने कार्यक्रमका विषयमा सरोकारवासँग छलफल, रायसुझाव लिनुका साथै कार्य प्रगति विवरणका बारेमा जानकारीसमेत लिएका थिए। पर्यटन मन्त्रालयले उक्त पार्कका लागि एक करोड बजेट विनियोजन गरेको थियो ।
      
चन्द्रागिरि नगरपालिका लगलगेपाखा सामुदायिक वनस्थित पैदलमार्गसहितको पिकनिक स्थलसमेत मन्त्री श्रेष्ठले निरीक्षण गरेका थिए। पर्यटन मन्त्रालयको पर्यटन विकास आयोजनाले चन्द्रागिरि पुग्नेगरी उक्त पैदलमार्ग निर्माण गर्दैछ। पैदलमार्गसहितको पिकनिक स्थलको काम समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठले निर्देशन दिए।

Logo