काम गर्न उमेरले छेक्दैन, ७२ वर्षको उमेरमा पनि जडिबुटीको व्यापार गर्दै ‘रविदत्त’

काम गर्न उमेरले छेक्दैन, ७२ वर्षको उमेरमा पनि जडिबुटीको व्यापार गर्दै ‘रविदत्त’


भनिन्छ नि खाने मुखलाई जुँगाले छेक्दैन। मानिस जति नै बुढो होस् उसमा काम गर्ने जोश जाँगर, इच्छाशक्ति छ भने उसलाई कसैले पनि रोक्न सक्दैन। चाहे जस्तो परिस्थितीलाई सहेर उसले काम गरिरहेको हुन्छ। अनि जति उमेर घट्दै गयो उति उसको मनस्थितीले काम गर्न छाड्छ । हातमा सिप र काम गर्ने मन भए खान र बस्नको लागि केही गाह्रो हुँदैन । जानेको सिपलाई सदैव प्रयोग गर्न सकिन्छ । 

आफूले सकुन्जेल काम गर्ने साेंच पनि केही व्यक्तिमा हुन्छ। केहीमा भने अब बुढो भैसकेँ के काम गर्नु र भन्नेतर्फ लाग्छन् । काठमाडौं सहरको त्यो बसपार्कमा मानिसको घुँइचो त्यही हो । कोही आफ्नो गन्तव्यमा पुग्नको लागि गाडी पर्खिरहेका हुन्छन् त कोही आफ्नै व्यापार सम्हालिरहेका हुन्छन् । अनि कोही किनमेलमा व्यस्त । त्यही भीड हुने ठाउँ (माछापोखरी) मा छन् रविदत्त न्यौपाने। 

जुम्ला जन्म घर भएका रविदत्त अहिले ७२ वर्षका भए । न्वारनको नाम र नागरिकतामा भएको नाम अर्कै भएतापनि उनलाई सबैले चिन्ने भनेको रविदत्त नै हो । उमेरले बुढो भएतापनि उनको काम गर्ने जोश भने २५ वर्षे ठिटोभन्दा कम छैन। बुढा भएतापनि काम गर्ने जोश अझै हराएको छैन । उनी ४५ वर्ष अगाडिदेखि आफ्नै गाउँबाट जडिबुटी ल्याएर बेच्दै आएका छन् । बसपार्क सडकको छेउमा बसेर वरपरका मानिससँग गफ गर्दै जडिबुटी बेच्नुका साथै हातले कुरुष (स्विटर) बुनिरहेका हुन्छन् आफ्नै पारामा । 

रविदत्त पहिले आर्मी थिए । २०२३ सालमा लाहुरेमा भर्ति भएका उनले २०२६ सालमा राजीनामा दिए । खाएको जागिर राजीनामा दिनु उनको रहर थिएन, बाध्यता थियो । उनका बाबुको मृत्यु भएका कारण उनले जागिरबाट नै राजीनामा गरिदिएका थिए। बाबुको कामका लागि आएका उनी फेरि गएनन् । उनी भन्छन्, “पहिले आर्मीमा जागिर गरेँ २ वर्ष । पेन्सन पकाउन पाइनँ । बुवाको मृत्यु भएको थियो । जागिरबाट आएपछि म गइनँ । अनि जडिबुटी संकलन गरेर बेच्न थालें । पहिलेदेखि नै बाउ बाजेहरु पनि त्यहीँ काम गरेका हुनाले मैले पनि यही गरेको हुँ। यही ठाउँमा बसेर जडिबुटी बेच्न थालेको ४५ वर्षको भैसक्यो ।”

काठमाडौं आएर उनी कुनै भाडाको घरमा बसेनन् खाली भएको ठाउँमा पाल ओछ्याएर बसे । अनि बिहान बेलुका सेक्युरिटी गार्ड गर्न गए भने दिउँसो फेरि उही जडिबुटी बेच्ने काममा । केही बर्ष त्यही काम गरेर उनले छोराछोरीलाई पढाए । अनि काठमाडौँमा घर पनि बनाए । अहिले त उनले एउटा छोरा जुम्ला जिल्लाको डाक्टर बनाएका छन् भने एउटा इन्जिनियर बनाएका छन् । अनि छोरी बैँकमा । 

“पहिले आर्मीमा जागिर गरेँ २ वर्ष । पेन्सन पकाउन पाइनँ । बुवाको मृत्यु भएको थियो । जागिरबाट आएपछि म गइनँ । अनि जडिबुटी संकलन गरेर बेच्न थालें । पहिलेदेखि नै बाउ बाजेहरु पनि त्यहीँ काम गरेका हुनाले मैले पनि यही गरेको हुँ। यही ठाउँमा बसेर जडिबुटी बेच्न थालेको ४५ वर्षको भैसक्यो ।”

आफूले केही गर्न नसकेको गुनासो गर्दै उनी भन्छन्, “जागिर छोडेपछि के गर्ने त,  केही त गर्नै पर्यो। अनि बाउ बाजेले बेच्ने जडिबुटी लिएर म पनि उहाँहरुसँगै काठमाडौँ छिरेँ। काठमाडौं पहिला त खाली नै थियो अनि हामी पनि त्यहाँ केही ठाउँमा पाल ओछ्याएर बस्न थाल्यौँ । कोही कता कोही कता । केही दिनमै विदेशी कम्पनीको एउटा कम्पनीमा बिहान वेलुका काम (सेक्युरिटी गार्ड) गर्न गएँ, अनि दिउँसो स्विटर बुन्दै जडिबुटी बेच्न थालें। त्यही काम गरेर घर बनाएँ, छोराछोरी पढाएँ र जागिरे बनाएँ । अहिले म सम्पूर्ण कुराले सम्पन्न छु । १० वर्ष मात्र भयो जागिर छोडेको । उमेरले पनि नेटो काटिसक्यो।”

अहिले उनी आफ्नो गाउँ जाने भनेको कहिलेकाहीँ मात्र हो । उनले बेच्ने जडिबुटी ल्याउँदा गाउँबाटै मगाउँछन् । भन्छन्, “काम गर्दै यहाँ बसेको ४५ वर्ष भैसक्यो, जुम्ला जाने भनेको त कहिलेकाहीँ मात्र हो । त्यही पनि अहिले त गएकै छैन । मेरा नातिनीहरु पनि जागिरे भैसके । तर म सकुन्जेल काम गर्छु । कसैको आश गर्दिनँ यो स्विटरको अर्डर आउँछ । धागो आफैंले ल्याउँछन् । मैले त बुनेको ज्याला मात्र खाने हो ८ सयदेखि १२ सयसम्म हेरिहेरिको हुन्छु । म यहीँ बसेर बुनिरहन्छु । मान्छे आएको बेला दिने हो नत्र बुनिरहन्छु । नगरपालिकाले पनि केही गर्दैन । दिनमा ४ देखि १२ सयसम्मको व्यापार हुन्छ । उताबाट मगाउँदा १०/२० हजारको मगाउँछु । मलाई २५/३० हजार फाइदा हुन्छ ।”

रविदत्तकी श्रीमती पनि घरमा बसेर बत्ती बेचेर महिनाको ६/७ हजार कमाउँछिन् । अनि रविदत्त चाहिँ खुट्टादेखि टाउको दुखेसम्म निको हुन्ने औषधी बेच्छन् । उनीहरु दुई मिलेर घर राम्ररी चलाएका छन् । रोडको छेउमा बसेका रविलाई नगरपालिकाले पनि केही गर्दैन । त्यहीँ छेउमा आएर सोध्ने मानिसलाई जडिबुटीको महत्व उनी मज्जाले बुझाइदिन्छन् । भन्छन्, “म यहाँ आएर सोध्ने सबैलाई औषधीको महत्व बुझाइदिन्छु। विदेशी पनि आएर मेरो धेरै पटक फोटो खिचेर लैजानु भयो । कसैले औषधी पनि लिएर जानुहुन्छ । म सकुन्जेल यहीँ काम गर्छु। ” 

Logo