सीजी मोटर्सले ल्यायो नेपाली बजारमा नयाँ ब्रान्डको इलेक्ट्रिक कार, कति पर्छ मूल्य ?

सीजी मोटर्सले ल्यायो नेपाली बजारमा नयाँ ब्रान्डको इलेक्ट्रिक कार, कति पर्छ मूल्य ?


चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले नेपाली बजारमा नयाँ ब्रान्डको इलेक्ट्रिक कार नेटा भी ल्याएकाे छ।

वातावरणमैत्री विद्युतीय सवारीको व्यवसायमा प्रवेश गरेको सीजी मोटर्सले नेटाको ‘नेटा भी’ विद्युतीय कार नेपाली बजारमा सार्वजनिक गरेको हाे। नेटा ब्रान्ड चिनियाँ मोटर उत्पादक कम्पनी होजोन अटोमोबाइलले उत्पादन गर्दै आएको छ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र विभिन्न प्रतिष्ठित व्यक्तिहरुद्वारा एक कार्यक्रमका बीच सो कार सार्वजनिक गरिएको थियाे। सीजी मोटर्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले पेट्रोलियम पदार्थको आयात घटाई व्यापारघाटा कम गर्ने सरकारी नीतिलाई सहयोग पुर्याउन आफूहरुले विद्युतीय सवारीको प्रवर्द्धन गरेको बताए।

सीजी मोटर्सले चिनियाँ विद्युतीय सवारी उत्पादक कम्पनी होजोन अटोको क्रसओभर कार नेपाली बजारमा ल्याएको हो । अन्य अधिकांश सवारी उत्पादकले आइसी इन्जिनयुक्त कारकै लागि डिजाइन गरिएको प्लेटफर्ममा विद्युतीय कार बनाउँदै आएको भएपनि नेटा ब्रान्ड भने पूर्णरुपमा विद्युतीय सवारी उत्पादन गर्नकै लागि डिजाइन गरिएको कार भएकाले यो निकै इफिसियन्ट रहेको कम्पनीको भनाइ छ ।

सीजी मोटर्सले पहिलो चरणमा नेपाली बजारमा नेटा भी कार ल्याएको हो। यसले एक पटकको फुल चार्जमा ३८० किलोमिटर भन्दा बढी रेन्ज दिने कम्पनीको भनाइ छ।

नेटा भी कारमा संसारको सबैभन्दा ठूलो ब्याट्री उत्पादक कम्पनी सिएटीएलले उत्पादन गरेको ३८.५ किलोवाट आवर ब्याट्री प्रयोग गरिएको छ। नेटा भीको अधिकतम गति १०१ किलोमिटर प्रतिघण्टा रहेको छ। नेटामा प्रयोग भएका ब्याट्री र मोटरमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटर वारेन्टी दिइएको कम्पनीको भनाइ छ।

फ्रन्ट एक्सएलमा रहेको विद्युतीय मोटरले ७० किलोवाट, ९५ पीएस पावर र १६० एनएम टर्क जेनेरेट गर्छ। यो कारमा गर्मी वा जाडो मौसममा समेत ब्याट्रीको दक्षता कम नहोस् भनेर अटोमेटिक हिटिङ तथा कुलिङ प्रणाली रहेको छ।

नेपाली बजारमा उपलब्ध नेटा भी विभिन्न ५ रंगमा उपलब्ध छ भने यसको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ । त्यस्तै सीजी मोटर्सका हरेक खरिदकर्तालाई ६.६ केडब्लूको चार्जर र एक वर्षको बीमाको सुविधा निःशुल्क उपलब्ध गराइने छ।

Logo