के नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तै टाट पल्टने अवस्थामा पुगेको हो ?

के नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तै टाट पल्टने अवस्थामा पुगेको हो ?


आर्थिक सूचकहरु यो बेला नकारात्मक छन् । जसले मुलुकमा ठूलै आर्थिक संकटको संकेत गर्दैछ ।

अर्थतन्त्र झन् ओरालोतिर लाग्दैछ । तर, सरकार अवस्था सुधारतर्फ नलागी ढाकछोप गर्न तल्लिन छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको १० महिनामा १४ खर्ब ३१ अर्बको व्यापारघाटा भएको छ। स्वदेशमै उत्पादन हुने वस्तु पनि उत्पादन गर्न नसक्दा सरकार टाट पल्टिने अवस्थामा पुग्न थालेको छ ।

निजी क्षेत्र उद्योग छाडेर विदेशी सामान बिक्री गर्न रमाइरहेको छ। सहकारी पनि उत्पादनमा केन्द्रित नभई पैसाको किनबेचमै रमाइरहेको छ। सरकारले विदेशी वस्तु आयात रोक्दा पनि व्यापारघाटा निरन्तर बढिरहेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १० शीर्षकका वस्तु ल्याउन बन्देज लगाएको छ। अन्तर्राष्ट्रिय बजारको मूल्यवृद्धिको प्रभावले नेपालमा दिन–प्रतिदिन महँगीले उपभोक्तालाई गाँजिरहेको छ।

युक्रेन–रूस युद्धले अन्तर्राष्ट्रिय मूल्यवृद्धि बढेको कारण देखाउँदै व्यवसायीले आन्तरिक वस्तुको पनि मूल्य सोही अनुपातमा बढाएका छन् । यसका कारण सर्वसाधारण थप मर्कामा परेका छन् । चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म विभिन्न वस्तुको आयात गर्दा मुलुकबाट १७ खर्ब ६३ अर्ब २२ करोड रुपैयाँ बराबरको मुद्रा बाहिरिएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको ११ महिनाको ब्यापार स्थितिअनुसार डेढ सयभन्दा बढी देशहरुबाट नेपालमा विभिन्न थरीका वस्तु आयात भएको छ । नेपालमा भारतबाट सबैभन्दा धेरै रकमको वस्तु आयात हुने गर्छ । भारतबाट मात्रै ११ महिनामा ११ खर्ब रुपैयाँ बराबरको वस्तु भित्रिएको छ भने नेपालले भारतलाई १ खर्ब ४५ अर्ब रुपैयाँको वस्तु निर्यात गरेको छ ।

११ महिनाको अवधिमा स्वदेशी वस्तु निर्यात गरेर मुलुकले १ खर्ब ८५ अर्ब ८३ करोड रुपैयाँ बराबरको मुद्रा आर्जन गरेको छ । समग्रमा आयात ठूलो भएकाले मुलुकको व्यापार घाटा १५ खर्ब ७७ अर्ब ३८ करोड पुगेको छ । हाल रसियाले आक्रामण गरिरहेको मुलुक युक्रेनसँग पनि नेपालको ब्यापार ठूलो छ । नेपालसँग व्यापारका आधारमा युक्रेन आठौं ठूलो मुलुक हो । युक्रेनबाट नेपालमा ११ महिनामा २० अर्ब ८१ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।

खासगरी तेलहनको कच्चा पदार्थ युक्रेनबाट बढी मात्रामा आयात हुने गर्छ । भारतपछि चीनबाट सबैभन्दा धेरै २ खर्ब ४४ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ । भारत र चीनपछि धेरै वस्तु आयात हुने मुलुकहरुमा क्रमशः अमेरिका, इन्डोनेसिया, युएई, अर्जेन्टिना, अस्ट्रेलिया, युक्रेन, मलेसिया, ब्राजिल, थाइल्याण्ड र बंगलादेश पर्दछन् । एकातिर उपभोग्य वस्तुको मूल्य बढेको छ। अर्कोतर्फ व्यवसायीहरूले कारोबारलगायतका लगानी गर्न बैंकबाट कर्जा पाइरहेका छैनन् ।

झन्–झन् डलरको भाउ पनि उच्च हुँदै गर्दा नेपाली मूल्य अवमूल्यन भएको छ। आयातीत वस्तुको आकार पहिलाकै परिमाण कै हाराहारीमा भए पनि अन्तर्राष्ट्रिय महँगीले गर्दा हरेक महिना अर्बौंको आयातमा डलर लगायतका विदेशी मुद्रा बढी भुक्तानी अर्थात् खर्चिनु परेको छ। यसो हुँदा मुलुकको विदेशी विनिमय सञ्चिति पनि क्रमशः घट्दै जान थालेको छ। सञ्चिति बढाउने रेमिट्यान्स, पर्यटन, वैदेशिक ऋण, अनुदानलगायतको स्रोतबाट पनि अपेक्षा गरेअनुसारको विदेशी मुद्रा आम्दानी हुन सकेको छैन।

परिणाम स्वरूप मुलुकको अर्थतन्त्र चौतर्फी रूपबाट संकटमा धकेलिँदै छ । गत वर्षको तुलनामा अहिले तेल, घिउ, जिरा, धनियाँ, गेडागुडी, दाल, चामल, गहुँ, मकैलगायतका अधिकांश खाद्यवस्तुको मूल्य बढेर दोब्बर भएको छ। डाल्डा घिउ  र नेपाली घिउको मूल्य पनि दोब्बर बढेको छ। तेल तथा घिउसँगै बजारमा गेडागुडी तथा दालको मूल्य पनि उत्तिकै महँगो भएको छ। 

चालू आर्थिक वर्ष सुरु भएदेखि नै बैंकिङ प्रणालीमा लगानी योग्य पुँजी (तरलता ) अभाव रहँदै आएको छ। हुँदाहुँदै बैंकले नयाँ ऋणीलाई कर्जा दिन ठप्पै गरेका छन्। ग्राहकहरू बैंकमा ऋण लिन जाँदा नपाएको गुनासो गर्छन्। निर्माण व्यवसायीदेखि विभिन्न उद्योग व्यवसायीहरूले ऋण पाइरहेका छैनन् । ऋण नपाउँदा व्यवसाय विस्तार गर्नदेखि चलायमान गर्न चुनौती थपिएको छ।

तरलता अभावका कारण सहकारीले निक्षेप फिर्ता गर्न सकेका छैनन्। विभागका अनुसार देशभर ३० हजार सहकारी छन्। सहकारीमार्फत १० खर्ब कारोबार भएको छ। सहकारीमा ७३ लाख सदस्य छन् । सहकारीले तीन–चार महिनादेखि कर्जा प्रवाह रोकेका छन् । बैंकहरूले सहकारीलाई ऋण दिन नसकेका कारण पनि सहकारीले आफ्ना सदस्यहरूलाई ऋण दिन नसकेका हुन्। निक्षेप झिक्न चाहे पनि सहकारीकर्मीले निर्वाधा रूपमा पाएका छैनन् । 

त्यसैगरि डलरको भाउले क्रमशः नयाँ उचाइ लिँदै गएको छ। डलर बलियो बन्दै जाँदा नेपाली रुपैयाँ झनै कमजोर बनेको छ। नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमयदर रहेको छ। यस कारण पनि डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुने गरेको छ। डलरको भाउ बढ्नेबित्तिकै विदेशी सामानहरू नेपालीका लागि बढी मूल्य तिर्नुपर्ने भएकाले यसको असर नेपाली अर्थतन्त्रमा  पर्छ। एकातर्फ महँगो डलर अर्कोतर्फ अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा नेपाललाई महँगीको भार थेक्न हम्मे परेको छ।

असार ५ गते राति १२ बजेदेखि लागू हुने गरी मूल्य बढेसँगै सर्वसाधारणले अहिले पेट्रोल लिटरको १ सय ९९ रुपैयाँ तिरिरहेका छन् । पेट्रोलसँगै डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्य २७ रुपैयाँ प्रतिलिटरले बढेर १९२ रुपैयाँ पुगेको छ । हवाइ इन्धन (आन्तरिक)तर्फ १९ रुपैयाँ लिटरमा बढ्दा १८५ रुपैयाँ, हवाइ इन्धन (बाह्य) तर्फ अमेरिकी डलर सयले वृद्धि हुँदा प्रतिकिलोलिटर अमेरिकी डलर एक हजार छ सय ४५ कायम भएको छ ।

एलपी ग्यासको मूल्य भने हाललाई पूर्ववत् कायम राखिएको निगमले जनाएको छ । निगमका अनुसार पेट्रोल लिटरमा १३.५८ पैसा, डिजेल १३.९५ पैसा, मट्टितेल ४३.०६ रुपैयाँ नाफा, हवाइ इन्धन आन्तरिकमा १३.६१ रुपैयाँ नाफा, बाह्यमा ५६.६७ पैसा नाफा र एलपी ग्यास प्रतिसिलिन्डर ७५१.१४ रुपैयाँ घाटा रहेको छ । 

यति मूल्य बढ्दा पनि मासिक रुपमा चार अर्ब ७० करोड घाटा रहेको निगमको दाबी छ। असार मसान्तसम्ममा करिब ५० देखि ५५ अर्ब रुपैयाँ नोक्सानी हुने देखिएको निगमले दाबी गरेको छ। एलपी ग्यासतर्फ मासिक २ अर्ब २८ करोड घाटा रहने निगमले जनाएको छ। यसअनुसार निगमले भारतीय आयल कर्पोरेसनलाई तिर्नुपर्ने रकम २२ अर्ब बक्यौता पुग्ने देखिएको जनाएको छ । 

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै सार्वजनिक यातायातको भाडा समेत वृद्धि भएको छ । सोमबार यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै पछिल्लो पटक बजेटको पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै अन्तरप्रदेश सञ्चालन हुने सार्वजनिक यातायातका यात्रुवाहक सवारी र मालवाहक सवारीको भाडा समायोजन गरिएको जनाएको छ ।

विभागका अनुसार यात्रुवाहक सवारीको भाडामा ५.३० प्रतिशतले वृद्धि गरिएको छ भने पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको ६.९४ प्रतिशतले र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको अधिकतम ७.७ प्रतिशतले भाडा वृद्धि गरिएको छ । विश्व बजारमा पेट्रोलियम, खाद्यान्न र खाने तेल आपूर्तिमा रसिया र युक्रेनको महत्वपूर्ण योगदान छ । जति यी दुई देशबीच युद्ध लम्बिन्छ त्यति नै विश्व बजारमा पेट्रोलियम पदार्थ, भान्सामा प्रयोग हुने तेल र खाद्यान्नको मूल्यमा प्रभाव बढ्दै जान्छ । 
 

Logo