ड्रागन फ्रुट खेतीबाट मनग्य आम्दानी, उत्पादनभन्दा बजारको माग धेरै

ड्रागन फ्रुट खेतीबाट मनग्य आम्दानी, उत्पादनभन्दा बजारको माग धेरै


बाराको निजगढ नगरपालिका-७ भमराटोलमा एकबहादुर श्रेष्ठले विगत तीन वर्षअघि सुरु गरेको नौलो तथा मिठो फल ड्रागन फ्रुट खेतीमा सफलता प्राप्त गर्दै गएका छन् ।

आफूले थालेको सो खेतीबाट राम्रो आम्दानी पनि हुन थालेपछि उनी खुसी देखिएका छन् । जिल्लाकै पहिलो व्यवसायको रूपमा श्रेष्ठले हेर्दै रहरलाग्दो, आर्गानिक तथा मिठो फल ड्रागन खेती सुरु गरेका थिए । निजगढका अगुवा तथा मेहनती किसान श्रेष्ठले करिब २२ लाखको लागतमा ४०० बोट ड्रागन फ्रुट १५ कठ्ठामा लगाएर व्यवसायको रूपमा ड्रागन फ्रुटको खेती सुरु गरेका हुन् ।

जुनसुकै माटो र माैसम समेत ड्रागन फ्रुटको लागि उपयुक्त हुने उनले बताए । ड्रागन फ्रुट खेतीको प्रति कठ्ठामा ५० वटा सिमेन्टको पिल्लर आवश्यक पर्ने हुन्छ । एउटा पिल्लरमा करिब ३ देखि ५ वटा ड्रागन फ्रुटको बाेट छन् । अहिले श्रेष्ठको १५ कठ्ठा आफ्नै बारीमा ४०० बोट ड्रागन फ्रुटका बोटहरू छन् । करिब २५० वटा बोटहरू फूल फुल्ने र फल फल्ने क्रममा रहेका छन् । श्रेष्ठले ड्रागन फ्रुटका साथमा अहिले खोर्सानी, भिण्डी र काँक्रोसमेत लगाएका छन् ।

श्रेष्ठका अनुसार प्रति कठ्ठाबाट वार्षिक कम्तीमा एक लाख ५० हजारसम्म आम्दानी हुने र यसको उत्पादनसँगै एकै ठाउँमा सानो बाेट हुने तरकारीको खेती समेत गरेर दोहोरो फाइदा लिन सफल भएको श्रेष्ठले बताए । कृषि पेसामा फाइदा नहुने भनाइलाई गलत सावित गर्दै व्यावसायिक ड्रागन फ्रुट खेतीमा उनी रमाइरहेका छन् ।

काम गर्ने जाँगर र आँट भए स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरणसमेत बनेका छन् श्रेष्ठ । ड्रागन फ्रुटको बजारमा माग थेरै रहेको हुँदा मागअनुसार ड्रागन फ्रुटसमेत बजारमा नरहेको श्रेष्ठले बताए । श्रेष्ठले भने, युवा शक्ति विदेश पलायन हुनुभन्दा आफ्नै मुलुकमा उत्पादनमा जोडिनु पर्छ भन्दै ड्रागन फुड खेतीको सुरुवात गरिएको र ड्रागन फ्रुटको उत्पादनभन्दा बजारमा माग बढी रहेको बताए ।

बजारको समस्या नभएको र घरमै आएर ग्राहकले किनेको र सबैलाई यो फल चाख्न भ्याइ नभ्याइ भएको देख्दा भने खुसी लागेको श्रेष्ठले बताए ।
पहिलो लटमा लगभग ७० हजार रूपैयाँको फल बेचेको उनले बताए । श्रेष्ठका अनुसार फूल फुलेको ३० औं दिनमा फल पाकेर खानको लागि योग्य हुने र टिपेर राख्दा १० र १५ दिनसम्म नबिग्रिने हुन्छ ।

गर्मी समयको वैशाखदेखि मंसिरसम्म मुख्य रूपमा फल दिने ड्रागन फ्रुट वर्षमा आठ महिनासम्म फल्ने गर्दछ । यसमा फूल फुल्ने, कोपिला लाग्ने, फल फल्ने क्रम एक साथ चलिरहन्छ । श्रेष्ठको बारीमा पहिलो र दोस्रो छिमालको फल फलेर बिक्री भइसकेको छ । तेस्रो छिमालका फलहरू अहिले फल्दैछन् भने चौथो छिमालको फल उत्पादनको लागि पनि कोपिला बसिसकेको छ ।

ड्रागन फ्रुट रोपेको २५ वर्षसम्म उत्पादन लिन सकिन्छ । श्रेष्ठको बारीबाटै प्रतिकेजी ५०० देखि ६०० सम्ममा बिक्री हुने गरेको छ । श्रेष्ठको बारीको आकर्षक ड्रागन फ्रुट हेर्न धेरै मानिसहरू फार्म पुग्ने गरेका छन् । एक पटक बिरूवा लगाएपछि समय समयमा सामान्य गोडमेल र सिँचाइबाहेक अन्य गोडमेल गर्नु नपर्ने र रोपेको दुई वर्षदेखि लगातार लामो समयसम्म फल दिने हुनाले अन्न खेतीवालीको तुलनामा यसको खेतीबाट राम्रो आम्दानी हुने अनुभव बटुल्न सफल भएको श्रेष्ठले सुनाए ।

थोरै लागानीबाट व्यवसायी सुरु गर्न सकिने भएपछि ड्रागन फ्रुट खेती गर्ने बाराका कृषकहरु बढ्न थालेको छ । कम मेहनत र लगानीमा छोटो समयमा धेरै आम्दानी लिन सकिने भएपछि ड्रागन फ्रुट खेतीमा कृषकको आकर्षण बढेको हो ।

Logo