मौद्रिक नीतिका लागि सरोकारवालासँग राष्ट्र बैंकले सुझाव माग्याे

मौद्रिक नीतिका लागि सरोकारवालासँग राष्ट्र बैंकले सुझाव माग्याे


नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिका लागि राय, सुझाव माग गरेको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ मा भएको व्यवस्थाअनुसार बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्नका लागि सम्बन्धित सरोकारवालासँग राय, सुझाव माग गरेको हो । 

ऐनको परिच्छेद–५ को दफा ४४ ले मौद्रिक नीति निर्माण तथा कार्यान्वयन गर्ने पूर्ण अधिकार राष्ट्र बैंकलाई दिएको छ ।  राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले इमेल [email protected] मा राय, सुझाव उपलब्ध गराउन सूचित गरेको छ । 
  
राष्ट्र बैंकले यसअघि आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति २०७८ साउन २९ गते सार्वजनिक गरेको थियो । सामान्यतया बजेट पेस भएको एक महिनापछि मौद्रिक नीति सार्वजनिक गर्ने गरिन्छ । आर्थिक वर्ष २०७९/८० को बजेट जेठ १५ गते सङ्घीय संसदमा पेस भएको थियो । 

मौद्रिक नीतिमा अल्पकालीन कर्जाको ब्याजदर, मुद्रा आपूर्ति, मुद्रास्फीति नियन्त्रण गर्ने तथा मुद्राको स्थायित्व कायम गर्ने र राष्ट्रको मुद्रामा विश्वास कायम गराउन लक्ष्य लिने नीति हो । 

कुनै पनि देशको मौद्रिक नीति त्यस देशको केन्द्रीय बैंकले निर्माण गर्छ । अर्थतन्त्रमा मुद्रा प्रदायकको स्तर कति रहनुपर्छ र त्यस्तो मुद्रा अर्थतन्त्रको कुन क्षेत्रमा प्रवाहित वा उपभोग हुनुपर्छ भन्ने विषय मौद्रिक नीतिले निर्धारण गर्छ । 

 

 

Logo