राखेपले चाँडै पूर्णता पाउँछ : खेलकुदमन्त्री गहतरा

राखेपले चाँडै पूर्णता पाउँछ : खेलकुदमन्त्री गहतरा


युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराले राष्ट्रिय खेलकुद परिषद (राखेप) मा नियुक्त गर्नुपर्ने सदस्यहरुको चाँडै टुङ्गो लाग्ने बताएका छन् ।

आइतबार बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष समेत रहेका मन्त्री गहतराले केही निकायका प्रतिनिधिहरु नियुक्त गर्न बाँकी रहेको भन्दै छिट्टै बोर्डलाई पूर्णता दिने बताएका हुन् ।

ओलम्पिकको प्रतिनिधि, पाराओलम्पिकको प्रतिनिधि, विश्वविद्यालयको प्रतिनिधि र राखेपकै एक सदस्य आउन बाँकी छ ।   नयाँ आर्थिक वर्ष शुरु भएसँगै वार्षिक कार्ययोजना बनाउनका लागि राखेपको पहिलो बोर्ड बैठक बसेको हो ।

बोर्ड सदस्य हरि खड्का नेपाल पुलिसमा जागिरे रहँदा गलत प्रमाणपत्र बुझाएकोमा अदालतबाट दोषी ठहर भएपछि खड्काको पद स्वतः रिक्त थियो । सोही पद र अन्य निकायका सदस्य नियुक्त गर्न बाँकी छ । 

 मन्त्री गहतराजले नयाँ आर्थिक  वर्ष शुरु भएसँगै नजिकिँदै गरेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता, राखेपको वार्षिक कार्य योजनालाई एजेन्डा बनाई बोर्ड बैठक बोलाएका हुन् । राष्ट्रिय खेलकुद विकास ऐनमा बोर्ड बैठकले वार्षिक कार्यक्रम योजना तथा बजेटमाथि छलफल गरी स्विकृत गर्ने प्रावधान छ । बैठकमा मुख्यतः नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा केन्द्रित रहेर छलफल हुन लागेको हो ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुँदैछ । त्यसका लागि विभिन्न उपसमिति सहित तयारीका काम अघि बढाइएको छ । प्रतियोगिताको तयारी स्वरुप खेल सामग्री खरिदका लागि टेण्डर प्रक्रिया अघि बढेको छ ।

 

Logo