बुटवलमा निर्माणाधिन लुम्बिनी केबलकार आगामी माघदेखि सञ्चालनमा आउने

बुटवलमा निर्माणाधिन लुम्बिनी केबलकार आगामी माघदेखि सञ्चालनमा आउने


रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका बमघाटदेखि पाल्पा जिल्लाको तिनाउ गाउँपालिका बसन्तपुर डाँडासम्म पुग्ने निर्माणाधिन लुम्बिनी केबलकार आगामी माघ महिनादेखि सञ्चालनमा आउने भएको छ । 

हालै सम्पन्न कम्पनीको विशेष साधारणसभामा प्रगती प्रतिवेदन प्रस्तुत गर्दै लुम्बिनी केबलकार प्राइभेट लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकारको निर्माण आगामी पौषभित्र सम्पन्न हुने र माग १ गतेदेखि सञ्चालनमा आउने बताएका हुन् ।
 
करिब तीन किलोमिटर लामो केबलकारको यात्रापछि पुगिने बसन्तपुर डाँडामा सुविधासम्पन्न होटल, मनोरञ्जन पार्क तथा मन्दिरसहितका संरचनाहरु निर्माण हुनेछन् । नौ वटा टावरमध्ये ८ वटा टावरको सिभिल निर्माण कार्य सम्पन्न भइसकेको छ भने बाँकी रहेको टावरको कार्य अगाडी बढिरहेको उनले बताए ।  माथिल्लो स्टेशनमा सव–इन्सट्रक्चरको कार्य अन्तिम चरणमा रहेको र केबलकारको उपकरण तथा पार्टपुर्जाहरुको आयात गर्ने काम अगाडि बढेको बताए ।

त्यसैगरी, माथिल्लो स्टेशनमा रहेको मन्दिर क्षेत्रको निर्माण कार्य पनि केबलकार परियोजना सँग–सँगै सम्पन्न गर्नुपर्ने भएकोले हाल कार्यरत निर्माण कम्पनीलाई नै पुरानै सर्त बमोजिम कार्य प्रारम्भ गर्न निर्देशन दिइएको बताए । ढकालले माथिल्लो स्टेशनमा प्रस्तावित होटललाई अन्तराष्ट्रिय चेन–होटलसँग आबद्ध गराउन अन्तराष्ट्रिय परामर्शदाताहरुसँग छलफल भइरहेको जानकारी  दिए ।

केबलकारको २०७७ साल फागुन १ गते पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।

Logo