आयात प्रतिवन्ध रहेकाे २५० सीसी माथिका मोटरसाइकल कुन महिनामा कति मूल्यका भित्रिए ?

आयात प्रतिवन्ध रहेकाे २५० सीसी माथिका मोटरसाइकल कुन महिनामा कति मूल्यका भित्रिए ?


नेपालमा विदेशी मुद्राको सञ्चिति कम हुँदै गएपछि यसले देशको अर्थतन्त्रमा गम्भीर धक्का दिने भन्दै गत वैशाख १३ गतेदेखि  विभिन्न १० विलासी सामानको आयातमा प्रतिबन्ध लगाइएको छ ।

नेपाली बजारमा हाल २५० सीसी वा सो भन्दा बढी क्षमताका मोटरसाइकल आयात गर्न पाइदैन । सरकारले गत बैशाख पहिलो साता देखि नै यस प्रकारको प्रतिबन्ध लगाएको हो । यद्यपि असार मसान्त यता भने १५० सीसी माथिका मोटरसाइकल समेत आयात गर्न नपाइने व्यवस्था छ ।

पहिलो चरणमा सवै प्रकारका कम्वस्चन इन्जिनयुक्त प्यासेन्जर कार र २५० सीसी माथिका मोटरसाइकलको आयातमा पूर्ण प्रतिबन्ध लगाएको सरकारले २ दिनअघि फेरि आयातमा कडाई गर्दै प्रतिवन्धलाई भदौ १४ गतेसम्मका लागि लम्ब्याएको छ । यस पटकको प्रतिबन्धमा निम्न मध्यम आय स्तर भएका सर्वसाधारणले प्रयोग गर्ने १५० सीसी माथिका मोटरसाइकलमा समेत प्रतिबन्ध थोपरिएको छ ।

यद्यपि पहिले नै एलसी खोलिसकेका केही संख्यामा मोटरसाइकल भित्रिएका छन् । भन्सार विभागको तथ्यांक अनुसार असार महिनामा ६ करोड १७ लाख ६६ हजार रुपैयाँ बराबरका मोटरसाइकल भित्रिए । यो भन्दा पहिले जेठमा ८ करोड भन्दा बढी रकमका मोटरसाइकल भित्रिएका थिए । नेपाली बजारमा सबैभन्दा बढी मोटरसाइकल चाडपर्व र नयाँ वर्षलाई लक्ष्यित गरी भित्रिने गरेका छन् ।

गत आर्थिक वर्षमा सबैभन्दा बढी यो सेगमेन्टका मोटरसाइकल असोज महिनामा भित्रिएका थिए । असोज महिनामा २५ करोड ४८ लाख रुपैयाँ भन्दा बढीका मोटरसाइकल भित्रिएका थिए । त्यसैगरी दोस्रो नम्बरमा कात्तिक महिनामा २१ करोड ५० लाख रुपैयाँ भन्दा बढी यो सेगमेन्टका मोटरसाइकल भित्रिएका थिए ।

हाल यो प्रतिबन्धका कारण धेरै मोटरसाइकल कम्पनीका आयातकर्ताहरु समस्यामा परेका छन् । यो सेगमेन्टका मोटरसाइकल मात्र आयात गरी कारोबार गर्दै आइरहेका रोयल इन्फिल्ड, जावा र बीएमडब्लुसहित केटीएम, बेनेली, होन्डा, सिएफ मोटो, टीभीएस, बजाज, यामाहा लगायत अन्य केही ब्रान्डका मोटरसाइकल आयात समेत प्रभावित बनेको छ ।

यो सेगमेन्टका मोटरसाइकल रुचाउने युवा र अन्य राइडरहरु समेत नेपाली बजारमा धेरै छन् । विशेष गरी एड्भेन्चर, टुरिङ र स्पोर्ट सेगमेन्टमा रहेका यस्ता मोटरसाइकल लामो वा छोटो दुवै दुरीको यात्राका लागि उपयुक्त मानिन्छन् । त्यसैगरी आरामदायिता र विशेष प्रकारका फिचर हुने भएकाले पनि यस्ता मोटरसाइकल रुचाउने गरेको पाइन्छ । 

Logo