टाटा मोटर्सको बिक्रीमा उत्साह, जुलाईमा इलेक्ट्रिक कार हालसम्मकै सर्वाधिक बिक्री

टाटा मोटर्सको बिक्रीमा उत्साह, जुलाईमा इलेक्ट्रिक कार हालसम्मकै सर्वाधिक बिक्री


भारतीय अटो निर्माता टाटा मोटर्सले जुलाई महिनामा विक्रीमा उत्साह देखिएको छ । 

जुलाईमा टाटा मोटर्सले ४७ हजार ५०५ युनिट कार बिक्री गरेको हो । जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा ५७ प्रतिशतले बढी हो । अघिल्लो वर्ष सोही महिनामा कुल ३० हजार १८५ युनिटको विक्री भएको थियो । कमर्सियल सहित उसले अघिल्लो महिना ८१ हजार ७९० युनिट सवारीसाधन बिक्री गरेको छ ।

प्यासेन्जर कारको बिक्री बढाउन नेक्सन र टिगोर जस्ता इलेक्ट्रिक कारले ठूलो भुमिका खेलेको जनाइएको छ । सो महिना ४ हजार २२ युनिट इलेक्ट्रिक कार बिक्री भएको थियो । जुन अघिल्लो वर्षको सोही महिनामा बिक्री भएको ६ सय ४ युनिटको तुलनामा ५ सय ६६ प्रतिशतले बढी हो । प्यासेन्जर कारको कुल विक्रीमा इलेक्ट्रिक कारले ८ प्रतिशत र कुल विक्रीमा ४ प्रतिशत हिस्सा ओगट्न सफल भएको जनाइएको छ ।

अघिल्लो महिना बिक्री भएको इलेक्ट्रिक कारको संख्या हालसम्मकै सर्वाधिक रहेको टाटा मोटर्सले बताएको छ । जुन महिनामा कम्पनीले ३ हजार ५०७ युनिट इलेक्ट्रिक कार बिक्री गरेको थियो । भारतको इलेक्ट्रिक कार बजारमा ८० प्रतिशत हिस्सा सहित टाटा मोटर्स अग्रस्थानमा रहँदै आएको छ ।

यो ब्रान्डको इलेक्ट्रिक कार नेपाली बजारमा समेत सर्बाधिक बिक्री हुने ब्रान्डका रुपमा स्थापित भएको छ । हालसम्म यसको ७ सय हाराहारी इलेक्ट्रिक कार बिक्री भैसकेका छन् भने माग पति उत्तिकै मात्रामा बृद्धि भैरहेको छ । इलेक्ट्रिक कार वाहेक यसको नेक्सन एसयूभी, टिगोर र ट्यागो ह्याचव्याक जस्ता कार समेत लोकप्रिय वनिरहेका छन् ।

Logo