कनकाईमा नबिल बैंककाे डिजिटल बैंकिङ तथा वित्तीय पहुँच अभिवृद्धि कार्यक्रम सम्पन्न

कनकाईमा नबिल बैंककाे डिजिटल बैंकिङ तथा वित्तीय पहुँच अभिवृद्धि कार्यक्रम सम्पन्न


नबिल बैंकले झापाको कनकाई नगरपालिकामा डिजिटल बैंकिङ तथा वित्तीय पहुँच अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ । 

कनकाई नगरपालिकाको कार्यालयमा भएको कार्यक्रममा १५० जना युवा तथा महिला उद्यमीहरूको उत्साहपूर्ण सहभागिता थियो । दिगो बैंकिङलाई प्रवर्द्धन गर्न गरिएको सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले कृषिको बिस्तार र विकासमा वित्तीय क्षेत्रको महत्त्वपूर्ण भूमिका रहने बताए । 

उनले नबिलले गर्दै आएको दिगो बैंकिङले युवा तथा महिला उद्यमीहरुलाई आफ्नो व्यापार व्यवसाय प्रवर्द्धन गर्न थप हौसला दिएको बताए । कार्यक्रममा सम्बोधन गर्दै उपमेयर आशा शिवाकोटीले रोजगारीका अवसर सृजना गर्न साथै उद्यमशीलता प्रवर्द्धन गर्न वित्तीय क्षेत्रको विशेष भूमिका रहने बताइन् । विशेषतः स्थानीय क्षेत्रको कृषि प्रवर्द्धन, युवा तथा महिला उद्यमशीलता, डिजिटल बैंकिङ्ग तथा वित्तीय साक्षरतामा केन्द्रित रहेको कार्यक्रममा बोल्दै नबिल बैंकका मेची क्लस्टर प्रमुख सरोज श्रेष्ठले डिजिटल बैंकिङ आजको आवश्यकता भएको र क्युआर कोडले व्यवसायमा पुर्‍याउने योगदानका विषयमा प्रष्ट पारे ।

नबिल बैंकका दिगो बैंकिङका प्रमुख लिलाप्रसाद ओझाले नबिल दिगो बैंकिङको विभिन्न आयामहरूको बारेमा चर्चा गर्दै कृषि कर्जा, महिला तथा युवा उद्यमशील कर्जाका बारेमा पनि जानकारी दिए  । नेपाल सरकारले अवलम्बन गरेको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवसको दिन दिगो बैंकिङको सुरुवात गरेको हो ।

सुरुमा १७ वटा शाखाबाट सुरु गरेको दिगो बैंकिङ बैंकले हाल १०० शाखामा विस्तार गरेको छ । दिगो बैंकिङ अन्तर्गत किसान कर्जा र उद्यमशील कर्जा मार्फत ५०० भन्दा बढी उद्यमीलाई ५५ करोड भन्दा बढी कर्जा प्रवाह गरेको छ ।

Logo