एनआईसी एशिया र म्यूजिक नेपालबिच ‘आईडीया टु आईपीओ’ सम्झौतामा हस्ताक्षर

एनआईसी एशिया र म्यूजिक नेपालबिच ‘आईडीया टु आईपीओ’ सम्झौतामा हस्ताक्षर


एनआईसी एशिया क्यापिटल र म्यूजिक नेपाल लिमिटेडबीच क्यापिटलको ‘आईडीया टु आईपीओ’ सेवा उपलब्ध गराउने सम्बन्धी दुई पक्षिय सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पत्रमा एनआईसी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझी र म्यूजिक नेपाल लिमिटेडको तर्फबाट महाप्रबन्धक श्री उत्तम थापाले हस्ताक्षर गरेका थिए । नेपालको सन्दर्भमा म्यूजिक नेपाल लिमिटेड सर्वसाधारणमा आईपीओ जारी गर्ने संगीत क्षेत्रको पहिलो कम्पनी हो ।
एनआईसी एशिया क्यापिटलले ‘आईडिया टु आईपीओ’ सेवा अन्तर्गत कुनै पनि कम्पनीहरुलाई कम्पनीको स्थापनाकालदेखि आईपीओ जारी गर्ने चरणसम्म आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आएको छ । यसै कार्यका लागि यी दुई कम्पनी बिच सम्झौता भएको हो ।

म्यूजिक नेपालले सङ्गीत भनेको सोख र रहर पूरा गर्ने माध्यम मात्र हो भन्ने आमधारणामा आमूल परिवर्तन गर्दै यसलाई उद्योग–व्यवसायका रुपमा विकसित गर्न सकिन्छ भन्ने विश्वासले सुरुकै दिनमा रोयल्टी प्रथाको सुरुवात गर्दै यस क्षेत्रमा यो नेपालकै जेठो निजीस्तरको साङ्गीतिक उद्योगका रुपमा स्थापना भएको कम्पनी हो ।

नेपाली गीतसङ्गीत, कला र संस्कृतिको उत्थान गर्नुमा समर्पित रहँदै उच्च गुणस्तरीय गीतसङ्गीत, कला र संस्कृति नेपालीहरुको घरघरमा र विश्वव्यापी रुपमा  पुर्याउने कम्पनीको मुख्य उद्देश्य रहेको छ । विभिन्न सञ्चार तथा साङ्गीतिक संस्थाहरुसँग सुमधुर सम्बन्ध स्थापना गर्नु, बौद्धिक सम्पत्ति संरक्षण सम्बन्धी अधिकार (मूलतःप्रतिलिपिअधिकार ऐन) को सम्मान गर्नु र यसको महत्वका बारेमा प्रचारप्रसार गर्नु, सङ्गीतको औपचारिक शिक्षालाई  प्रर्वद्धन गर्नु, “स्रष्टाको संरक्षण गरौ राष्ट्रलाई समृद्ध बनाऔँ” भन्ने मुलनारा जस्ता मूलभूत उद्देश्यहरुलाई अनुसरण र कार्यान्वयन गर्दै आइरहेको छ । 

निजीस्तरको पहिलो रेकर्डिङ स्टुडियोको रुपमा अत्याधुनिक टेपमेटिक डिजिटल लुपबिन प्लान्ट जडान गर्ने दक्षिण एसियाकै पहिलो यस कम्पनीले बहुराष्ट्रिय सङ्गीत कम्पनीहरुबाट इजाजतपत्र प्राप्त गरी गीत प्रसारण गर्ने पहिलो नेपाली साङ्गीतिक कम्पनी हुने सौभाग्य पनि प्राप्त गरेको छ ।

विश्व प्रसिद्ध जापानी टेलिभिजन संस्था एनएचकेको एसियाज (हु इज हु)मा प्रस्तुत हुने पहिलो दक्षिण एसियाली साङ्गीतिक संस्था म्यूजिक नेपाल अन्तरर्राष्ट्रिय गोल्ड स्टार सम्मानद्वारा सम्मानित हुने दक्षिण एसियाकै प्रथम साङ्गीतिक संस्था पनि हो । शिक्षा मन्त्रालयको स्वीकृति प्राप्त गरी सङ्गीतको औपचारिक शिक्षाको लागि नेपाल सङ्गीत बिद्यालयको स्थापना गर्ने शौभाग्यपनि यसै कम्पनीले पाएको छ ।

प्रविधि अनुकूल आफुलाई परिवर्तन गर्दै आएको यस संस्थाले पछिल्लो समय विकसित भएको डिजिटल तथा मोवाइल फोनको अनलाइन प्रविधिमा पनि आफुलाई अब्बल बनाउन सफल भएको छ । बिभिन्न म्यूजिक कम्पनी तथा स्रष्टा कलाकारहरु सँगको सहकार्य समेत रहेको यस कम्पनी मूख्य डिजिटल प्लेटफर्मको रुपमा समेत कार्यरत रहेको छ ।

सबै भन्दा बढी सब्सक्राइबर भएको यस कम्पनीले अडियो, भिडियो तथा नेपाली चलचित्रहरु स्ट्रिमिङ्ग गर्न मिल्ने ‘मोमो’ एप पनि सञ्चालन गरिरहेको छ । नेपाली गीतसङ्गीत तथा भिडियोजन्य सामाग्रीहरु र नेपाली चलचित्रहरुलाई निरन्तर रुपमा बिश्व बजारमा पुर्याउन यस कम्पनी क्रियाशिल रहिरहेको छ ।

 

Skip This
Logo