यी हुन् एक अर्बदेखि पाँच अर्बसम्म नाफा कमाउने बैंक

यी हुन् एक अर्बदेखि पाँच अर्बसम्म नाफा कमाउने बैंक


लगानीयोग्य वित्तीय स्रोतको अभाव भइरहेका बेला वाणिज्य बैंकहरूले नाफा कमाएका छन्। विदेशी मुद्राको अभाव र आयातमा भएको कर्जा वृद्धिले बैंकहरू वित्तीय स्रोतको अभावमा छन्। तर, गएको आर्थिक वर्षमा भने सबै बैंकहरूले उल्लेख्य नाफा कमाएका छन्।

शनिबारसम्म २६ वटै वाणिज्य बैंकहरूले गएको आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन्। अघिल्लो आर्थिक वर्षमा ६० अर्ब ४१ करोड रुपैयाँ नाफा कमाएका बैंकहरूले गएको आर्थिक वर्षमा २३.२७ प्रतिशतले नाफा बढाएका छन्। सबैभन्दा बढी नाफा राष्ट्रिय वाणिज्य बैंकको ५ अर्ब २१ करोड रुपैयाँ छ।

यसैगरी, ग्लोबल आईएमई बैंकले ५ अर्ब २० करोड, नबिल बैंकले ४ अर्ब ९७ करोड, एनआईसी एसियाले ४ अर्ब ५२ करोड र नेपाल इन्भेष्टमेन्ट बैंकले ४ अर्ब ८ करोड रुपैयाँ नाफा गरेका छन्।

सबैभन्दा कम नाफा सेञ्चुरी कमर्सियल बैंकको १ अर्ब ३५ करोड छ। सिभिल बैंकले १ अर्ब ३८ करोड, लक्ष्मी बैंकले १ अर्ब ६० करोड, नेपाल एसबीआई बैंकले १ अर्ब ६३ करोड र बैंक अफ काठमाडौँले १ अर्ब ८१ करोड नाफा रुपैयाँले गरेको छ। सेञ्चुरी र सिभिलको नाफा वृद्धिदर भने सबैभन्दा बढी छ।

अघिल्लो आर्थिक वर्षको तुलनामा सेञ्चुरीको १६२ र सिभिलको ११५ प्रतिशतले नाफा बढेको छ। कृषि विकास, हिमालयन र सानिमा बैंकको नाफा भने घटेको छ।

कृषि विकासको नाफा २६ प्रतिशतले घट्दा हिमालयनको १७ प्रतिशत तथा सानिमाको १ प्रतिशतले घटेको छ।

Logo