च्यासलमा एमाले केन्द्रीय कमिटी बैठक जारी, यी प्रतिवेदनमाथि छलफल हुँदै

च्यासलमा एमाले केन्द्रीय कमिटी बैठक जारी, यी प्रतिवेदनमाथि छलफल हुँदै


नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । 

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा सुरु भएको बैठकमा ‘मिसन ग्रासरुट’ अभियानको समीक्षा गर्ने तयारी छ । त्यसका लागि पार्टीको सचिवालय बैठकले यसअघि नै एजेण्डा तय गरिसकेको छ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक प्रतिवेदन पेस गर्नेछन् भने ग्रासरुट अभियान अन्र्तगत नौ वटा प्रतिवेदन पेस हुनेछन् । मिसन ग्रासरुट अभियानका लागि सातै प्रदेशमा एमालेले गठन गरेको अभियानका प्रदेश स‌योजक रहेका पार्टी सचिवहरुले आ–आफ्ना प्रदेशको प्रतिवेदन पेस गर्नेछन् । साथै बैठकमा गैर-भौगोलिक प्रदेश कमिटीका तर्फबाट २ वटा प्रतिवेदन पनि पेस हुनेछन् । 

तीन दिनसम्म सञ्चालन हुने बैठकमा अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगले पनि छुट्टाछुट्टै प्रतिवेदनहरु पेस गर्ने कार्यसूची रहेको बताइएको छ । सबै प्रतिवेदनमाथि समूहगत छलफल हुनेछ ।सोही छलफलबाट प्रदेशहरुको कार्ययोजना निर्माण गरिने छ ।

नेकपा (एमाले)को केन्द्रीय कमिटी ३ सय ३५ सदस्यीय छ, जसमा दुई केन्द्रीय सदस्य निलम्बित छन् । अनुशासन, लेखा, निर्वाचन आयोग, केन्द्रीय सल्लाहकार परिषद् सदस्य केन्द्रीय कमिटीका पदेन सदस्य हुन्छन्। 

Logo