माधव नेपाल स्वदेश फिर्ता

माधव नेपाल स्वदेश फिर्ता


नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल आज स्वदेश फिर्ता भएका छन् । 

दिउँसो १२ बजे श्रीलङ्कन एयरको युएल १८१ उडानबाट अध्यक्ष नेपाल स्वदेश फिर्ता भएको अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए । उनका अनुसार श्रीलङ्कन कम्युनिष्ट पार्टीको ८०औँ स्थापना दिवसको कार्यक्रममा सहभागी हुन तथा दक्षिण एशियाका कम्युनिष्ट पार्टीको बैठकमा सहभागी हुन सोमबार अध्यक्ष नेपाल श्रीलङ्का प्रस्थान गरेका थिए । 

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले त्यहाँका राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटघाट गरेका थिए । श्रीलङ्काका राष्ट्रपति रणिल विक्रम सिंघेसँग गरेकाे शिष्टाचार भेटवार्तामा दुई देशबारे छलफल भएको उनको सचिवालयले जनाएको छ । 

यसैगरी अध्यक्ष नेपालले श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणवद्र्धनेसँग पनि बुधबार साँझ भेटवार्ता गरेका थिए । प्रधानमन्त्री निवासमा करिब एक घन्टा पाँच मिनेट लामो शिष्टाचार भेटमा दुई देशको भाइचारा सम्बन्ध, एशियाका मुलुकमा विकसित घटनाक्रमबारे वार्ता भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ । 

उक्त शिष्टाचार भेटमा नेपाल र श्रीलङ्काबीच पुरानो मित्रता रहेको जनाउँदै दुवै देशले एकअर्कालाई आवश्यक सहयोग गर्न सकिने विषयमा पनि छलफल भएको बताइएको छ ।

Logo