प्रधानमन्त्रीको गुनासो- ‘मन्त्रिपरिषद्ले गरेका निर्णयहरु नै कार्यान्वयन भएनन्’

प्रधानमन्त्रीको गुनासो- ‘मन्त्रिपरिषद्ले गरेका निर्णयहरु नै कार्यान्वयन भएनन्’


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषदले गरेका कैयौँ निर्णयहरू अझै पनि कार्यान्वयन हुन नसकेको बताएका छन् । 

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित मन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री दाहालले निर्णय कार्यान्वयनको विषयलाई लिएर देखिने गरी काम गर्ने प्रतिबद्धता जाहेर गरेका हुन् । 

उनले भने, ‘मन्त्रिपरिषदले गरेका कैयौँ निर्णयहरू अझै पनि कार्यान्वयन हुन सकेका छैनन्, यो विषयमा उचित र प्रभावकारी समन्वय प्रधानमन्त्री कार्यालयबाट हुन सकेन कि भन्ने मेरो अनुभूति छ। यसमा देखिने गरी सुधारका लागि आजैदेखि काम थाल्न म आग्रह गर्दछु। प्रधानमन्त्री कार्यालयका कार्यहरूको वार्षिक क्यालेन्डर (कार्ययोजना ) तयार गरी लागू गर्नुहोस्, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कर्मचारीहरूले दैनिक रूपमा आफूले गरेका कार्यहरूको डायरी लगत तयार गरी लिखित रूपमा एक तहमाथिको सुपरीवेक्षकसमक्ष पेश गर्ने र सोहीअनुसार कर्मचारीको पाक्षिक रूपमा मूल्यांकन गर्ने प्रणालीको सुरुवात गर्नुहोस् ।’ 

प्रधानमन्त्री दाहालले कार्यालयलाई स्मार्ट र सेन्टर अफएक्सिलेन्सको रूपमाविकास गर्नुपर्ने बताए। ‘अहिले म प्रधानमन्त्री भएर आएको ७ महिना बितिसकेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय देशको सर्वोच कार्यकारी कार्यालय हो। यहाँबाट हुने कार्यसम्पादनको प्रतिबिम्बले सिँगो देशको कार्यप्रगति र सरकारको प्रतिबिम्व झल्किन्छ। त्यसैले हामी स्मार्ट र सेन्टर अफ एक्सिलेन्सको रुपमा विकास हुन जरुरी छ । प्रधानमन्त्री कार्यालय जगेडा कर्मचारी थन्काउने थलो भनेर जसरी विम्ब स्थापना गर्न खोजिएको छ, त्यसलाई चिर्न पनि जरुरी छ।’

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अन्तर्गतका निकायहरूले गरेका कार्यप्रगतिको समीक्षा गर्दा समस्याका चाङ पनि यथावतै रहेको उनको भनाइ छ ।

Logo