एकै दिन ३२ जनामा कोरोना संक्रमणसँगै काठमाडौं उपत्यकामा कूल संख्या १५५ पुग्यो

एकै दिन ३२ जनामा कोरोना संक्रमणसँगै काठमाडौं उपत्यकामा कूल संख्या १५५ पुग्यो


काठमाडौं ।

नेपालको संघीय राजधानी काठमाडौं उपत्यकामा पनि कोरोना संक्रमण बढ्दै गएको छ । नेपालमा कोरोना संक्रमण देखिए पछि सरकारले गत चैत ११ गतेदेखि सरकारले उपत्यका लगायत देशभरी नै लकडाउन गरेको थियो । लकडाउन पछि तीन महिनाको बीचमा काठमाडौं उपत्यकामा सुरुका केहि दिन बाहेक अन्य दिनमा खासै संक्रमण देखिएको थिएन तर विगत सात दिनदेखि लगातार रुपमा कोरोना संक्रमण बढ्दै गएको छ ।

काठमाडौं उपत्यकामा सबैभन्दा बढी जनसङख्या तथा जनघनत्व भएकाले यहाँ कोरोना संक्रमण बढ्दै जाँदा लकडाउन खुकुलो भएसँगै भिडभाड पनि धेरै बढेको छ । यसले महामारीको रुप लिन सक्ने भन्दै सबैको ध्यान काठमाडौं उपत्यकामा रहेका बेला हालसम्म १५५ जनामा संक्रमण पुष्टि भएको छ ।

काठमाडौं उपत्यकामा भाइरस संक्रमण फैलिन नदिनको लागि उच्च सर्तकता अपनाइए पनि पछिल्ला दिनमा भने संक्रमितको संख्या ह्वातै बढेको छ । यसरी बढ्दै जाँदा आजसम्म उपत्यकाका ३ जिल्लामा कोरोना भाइरस (कोभिड–१९) बाट १ सय ५५ जना संक्रमित पुगिसकेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा टेकुले जनाएको छ ।

बिहिबार मात्रै एकै दिनमा काठमाडौं उपत्यकाका तीन जिल्लामा ३२ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौंमा ११ पुरुष, १७ महिला गरी २८ जनामा, भक्तपुरका २ जना पुरुष र ललितपुरको २ जना पुरुषमा गरी ३२ जनामा कोरोना संक्रमण देखिएको छ । बुधबार पनि उपत्यकाका तीन जिल्लामा १७ जनामा संक्रमण पुष्टि भएको थियो । जस अनुसार काठमाडौंमा १०, ललिपुरमा ५ र भक्तपुरमा २ जना सक्रमित थपिएका थिए ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म काठमाडौं उपत्यकाका तीन जिल्लामा मध्ये काठमाडौंमा ११०, ललितपुरमा १७ र भक्तपुरमा २८ जनामा संक्रमण पुष्टि भएको छ । यसरी तीन जिल्लामा गरी कुल संक्रमितको सङख्या १ सय ५५ जना पुगेका छन् । जस मध्ये ललितपुरका दुई जनाको मुत्यु भएको छ भने काठमाडौं र भक्तपुरमा अहिले सम्म एक जनाको पनि मुत्यु भएको छैन ।

त्यस्तै, वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार विहिबार संक्रमित पुष्टि भएका बाहेक काठमाडौका २३ जना, ललितपुरका ११२ जना र भक्तपुरका २ जना गरी १ सय ३७ जना आइसोलेसनमा बसेका छन भने १८ जना निको भएका छन् ।

पछिल्लो समय उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको तर सबै व्यापार व्यवसाय सञ्चालनमा आएकाले उच्च जोखिम बढ्ने विज्ञहरुले बताउन थाले्का छन् । लकडाउन खुकुलो भएसँगै बाहिर जिल्ला र विदेशबाट आउने मानिसबाट समेत काठमाडौँ उपत्यकामा जोखिम बढिरहेको छ ।

Logo