नयाँ वर्षका दिन ३ लाख ८६ हजार शिशु जन्मिएको अनुमान

नयाँ वर्षका दिन ३ लाख ८६ हजार शिशु जन्मिएको अनुमान


संयुक्त राष्ट्रसंघ, १८ पुस । संयुक्त राष्ट्र संघीय बालकोष (युनिसेफ)ले सन् २०१८ को जनवरी १ का दिनमात्र विश्वमा ३ लाख ८६ हजार शिशु जन्मिएको अनुमान गरेको छ ।

यसरी जन्मेकामध्ये ९० प्रतिशतभन्दा बढी कम विकसित देशका रहेको सो संस्थाले जनाएको छ ।

युनिसेफका अनुसार आधाभन्दा बढी ती शिशुको जन्म ९ वटा राष्ट्रमा भएको छ । ती राष्ट्रहरु भारत, चीन, नाइजेरिया पाकिस्तान, इन्डोनेसिया, अमेरिका, कङ्गो, इथोपिया र बङ्गलादेश रहेका छन् ।

यी शिशुमध्ये केहीको दुर्भाग्यबस जन्मेको २४ घन्टाभित्रै मृत्यु पनि हुने गर्दछ । यस्तो अवस्था पनि ती देशमा नै रहेको छ ।

सन् २०१६ को एक तथ्याङ्कअनुसार जन्मेको २४ घण्टाभित्रै २ हजार ६ सय बालबालिकाको मृत्यु भएको थियो ।

युनिसेफका अनुसार विश्वमा करिब २० लाख बालबालिकाको जन्मेको एक हप्ताभित्रै मृत्यु हुने गरेको पाइने गरेको पनि सो संस्थाले जनाएको छ ।

त्यसैगरी २६ लाख बालबालिकाले आफ्नो जन्मपछिको अर्को महिना देख्न पाउने गरेका छैनन् । तर पनि विगत दुई दशकयता भने बालबालिकाको मृत्यु दरमा केही मात्रामा भए पनि कमि आएको देखिएको छ ।

Logo