प्रधानमन्त्रीद्वारा कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास

प्रधानमन्त्रीद्वारा कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास


प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गरेका छन् । आज कञ्चनपुरको निर्माणस्थलमै पुगेर प्रधानमन्त्रीले औद्योगिक क्षेत्रको शिलान्यास गरेका हुन् । औद्योगिक क्षेत्रको ८ अर्ब स्वदेशी लगानीमा निर्माण सम्पन्न गर्ने सरकारको योजना रहेको छ भने यसको क्षेत्रफल ४ सय ५० बिघा रहेको छ ।

पहिलो पटक प्रदेशमा निर्माण हुने औद्योगिक क्षेत्र प्रदेशको मात्रै नभई मुलुककै व्यापार घाटा कम गर्न मद्दत गर्ने विश्वास गरिएको छ । एकैपटक चार प्रदेशमा पाँचवटा औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको लक्ष्य अनुरुप दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गरिएको हो । औद्योगिक क्षेत्रहरूको शिलान्यासका लागि फागुन १० , ११ , १३, १४ र १६ गते औद्योगिक क्षेत्र शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । उक्त पाँच कार्यक्रम मध्ये प्रधानमन्त्रीले दुई वटा, अर्थमन्त्री विष्णु पौडेलले एउटा र उद्योगमन्त्री लेखराज भट्टले दुईवटा औद्योगिक क्षेत्रहरूको शिलान्यास गर्ने कार्यक्रम तय भएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ । 

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली नदी बेचेको नभई फिर्ता ल्याएको बताएका छन् । उक्त दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले आफूले धेरै गाली खाएको उल्लेख गर्दै महाकाली सन्धि गरेर नदी बेच्यो भनेर आरोप लगाइन्छ तर, नदी बेचेको नभई त्यत्तिकै अर्काले लगिरहेको पानी आफ्नो खेतमा हाल्ने फैसला गरिएको तथा  फिर्ता ल्याइएको उल्लेख गरे । 

प्रधानमन्त्री ओलीले महकालीको पानी नेपाली किसानको खेतसम्म पुर्याउने योजना निर्माणाधीन अवस्थामा रहेको र छिट्टै पूरा हुने पनि बताए । विशेष गरेर नेपालका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री पिभी नरसिंह रावलबीच ०५२ माघ १९ गते महाकाली नदीको एकीकृत विकास सम्बन्धी महाकाली सन्धि भएको थियो । यो सन्धि नेपालको हितविपरीत भएको र त्यसमा ओलीले महत्वपूर्ण भूमिका खेलेको आरोप लाग्दै आएको थियो । 

यस्तै कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकारले सुदूरपश्चिममा ऐतिहासिक काम गरेको दाबी पनि गरे । उनले दार्चुलामा गुमेको नेपाली भूमि फिर्ता ल्याउने प्रक्रिया अगाडि बढेको बताउँदै समग्र नेपालको भूमि समेटेर नक्सा र संविधानमा समावेश गर्न सकेका र सोही कार्यले नयाँ वातावरणसहित भारतसँग संवादको माहोल तयार भइरहेको जानकारी पनि गराए । 

कार्यक्रममा प्रधानमन्त्री ओलीले पश्चिम सेती जलविद्युत आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा निर्माण गरिने दाबी पनि गरे । उनले प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको फैसला दुई, तीन दिनभित्रै हुन सक्ने संकेत गर्दै चुनावको तयारीमा जुट्न सबैसँग आग्रह गरे । प्रधानमन्त्री ओलीले संसद पुनस्र्थापना भए देश झन् अस्थिरतातर्फ धकेलिने बताए । 

प्रधानमन्त्री ओलीले गत शनिबार विराटनगरमा आयोजित सभामा प्रतिनिधिसभा पुनस्र्थापना भए आन्दोलन गर्छु भनेको विषय स्मरण गर्दै त्यसको बचाउ पनि गरे । उनले प्रधानमन्त्रीले प्रतिनिधिसभा पुनःस्थापना भए आन्दोलन गर्छु भन्यो भन्दै गलत प्रचार गरिएको भन्दै त्यो नारा जुलुस गर्छु भनेको नभई देश विकासको आन्दोलन गर्छु भनेर जनतामाझ बोलेको प्रष्ट पारे । 

Logo