नेपाली घ्यू जापानमा लोकप्रिय

नेपाली घ्यू जापानमा लोकप्रिय


सरकारको स्वामित्वमा सञ्चालित  हैटौंडा दुग्ध वितरण आयोजनाद्वारा उत्पादित घ्यू जापानमा निर्यात हुन थालेपछि माग समेत बढेको छ । 

आयोजनाका प्रमुख नरेश जोशीका अनुसार गत वैशाख देखि माघ महिनासम्ममा ५१ हजार लिटर घ्यू निर्यात भएको थियो । उनले  जापानमा नेपाली घ्यूको माग बढ्दै गएको र एक पटकमा सात÷आठ हजार लिटर घ्यू निर्यात  हुने गरेको छ । अहिलेसम्म सातपटक घ्यू निर्यात भइसकेको छ । आयोजनाले दैनिक  ५०० लिटर घ्यू उत्पादन हुने गर्छ । 
  
हेटौंडा औद्योगिक क्षेत्रमा ३८ रोपनी जमीनमा वि.सं. २०३०को वैशाखमा डेनिस सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा दुग्ध विकास संस्थान अन्तर्गत आयोजना स्थापना भएको थियो । आयोजनाबाट दैनिक २५ हजार लिटर दुग्ध मकवानपुर, बारा, पर्सा , सर्लाही र रौतहट जिल्लामा  सङ्कलन भइरहेको छ ।

तीमध्ये प्रशोधित ६ हजार ५०० लिटर दुग्ध र १५ सय लिटर दही दैनिक बिक्रीवितरण हुने गरेको आयोजनाले जनाएको छ । आयोजनाले  दैनिक ६ हजार कृषक घरपरिवारबाट दुग्ध खरीद गरी उनीहरुलाई मासिक रु तीन करोडदेखि रु पाँच करोडसम्म भुक्तानी गर्दै आएको छ । 

बेमौसममा रु तीन करोड र अन्य मौसममा रु पाँच करोड भुक्तानी भएको छ । आयोजनाको प्रशोधित क्षमता प्रतिघण्टा तीन हजार लिटर दुग्ध रहेको छ । यसका साथै दही, पनीर, घ्यू, मख्खन  फ्रसमिल्क, लालमोहन, रसबरी, आइसक्रिम, प्रशोधित  क्रिम, पेडा र खुवालगायतका दुग्ध पदार्थ उत्पादन गरी बिक्रीवितरण भइरहेको बताइएको छ ।

उत्पादित उपरोक्त दुग्ध पदार्थ वीरगन्ज, नारायणघाट र हेटौँडाको शहरी तथा ग्रामीण बजार क्षेत्रमा बिक्री हुने गरेको र थप बजार क्षेत्र बढ्दै गएको आयोजनाले जनाएको छ । आयोजना अन्तर्गत सात चिस्यान केन्द्र क्रमशः चन्द्रनिगाहपुर, गरुडा ,नवलपुर, बरहथवा, हरैया, बसवरिया र सिम्रोनगढमा रहेको छ ।

मकवानपुरलगायत अन्य जिल्लाको दुग्ध उत्पादक सहकारी संस्थाबाटसमेत दुग्ध सङ्कलन हुने गरेको आयोजनाका अधिकृत ठाकुरदास श्रेष्ठले भने, “आयोजनाले आवश्यकता अनुसारको दूध खपतगरी  बढी भएको दूध बालाजुलगायत  अन्य आयोजनामा पठाउने गरेको छ ।”
 
आयोजनाको ६० हजार लिटर दूध भण्डारण क्षमता रहेको छ । दही तीन हजार लिटर, घ्यू, मख्खन ,पनीर उत्पादन क्षमताप्रति दिन ५०० केजी, फेसमिल्क ,एक हजार ५०० बोतल  प्रति सिफ्ट, पेडा ३६० प्याकेट  प्रतिदिन र लालमोहन ९०० प्याकेट  प्रतिदिन उत्पादन  हुने गरेको  उहाँले जानकरी दिनुभयो ।
 
बिक्रीवितरण क्षेत्रमा तीन वितरक, २८ डिलर र १९७ बिक्री बुथमार्फत बिक्री भइरहेको छ । लकडाउनमा पनि आयोजनाले आफ्नो सेवालाई निरन्तरता दिएको थियो ।

Logo