आयल निगमको थानकोट डिपोमा अब रहेन सुरक्षा चुनौती

आयल निगमको थानकोट डिपोमा अब रहेन सुरक्षा चुनौती


नेपाल आयल निगमको थानकोट डिपोमा ट्यांकर व्यवस्थापन, पार्किङ लगायत पूर्वाधारका क्षेत्रमा तीव्ररुपमा सुधार भइरहेको छ । 

विगतमा मुख्य सडकबाट डिपोमा छिर्ने सडकभरी ट्यांकरको अव्यवस्थित पार्किङ र डिपोमा जाने बाटो धुलाम्मे हुने हुँदा  स्थानीयवासीसमेत डिपोका कारण प्रभावित बनेका थिए । अहिले स्थिति फेरिएको छ । एक वर्ष अघि सो डिपोको प्रमुख भएका प्रदीपकुमार यादवका अनुसार यहाँ अहिले वरिपरी पक्की पर्खाल बनाएर सुरक्षा चुनौतीको खतरा हुने स्थितिको अन्त्य गराइएको छ । दैनिक करिब छ सय किलोलिटर पेट्रोल र आठ सय किलोलिटर डिजेलको सप्लाइ हुने यस डिपोलाई सामान्य तारबारले घेरिँदा असुरक्षा हुँदै आएकामा अहिले व्यवस्थित तुल्याइएको छ । 

नेपाल–भारत पेट्रोलियम पाइप विस्तारका समयमा अमलेखगञ्ज डिपोका प्रमुख भई परियोजना सफल बनाउन भूमिका निर्वाह गरेका यादव थानकोटको जिम्मेवारीमा आएपछि सुधारका कामले गति लिएकोे निगमले जनाएको छ।

हाल निगमको स्वामित्वमा डिपोमा रहेको ३९ रोपनी जग्गालाई प्रयोग गरेर तीन सय ट्यांकर अट्न सक्ने पार्किङ बनाइएको छ । पार्किङसँगै व्यवस्थित शौचालय र बाथरुमको व्यवस्था गरिएको छ, यसले गर्दा अव्यवस्थित पार्किङको समस्या समाधान भएको छ । 

तेलको आपूर्तिमा भइरहको ढिलाइ अन्त्य गर्न ट्यांकरमा तेल भर्ने प्वाइन्टको संख्यालाई बढाएर दोब्बर बनाइएको डिपो प्रमुख यादवले बताए। 

वि.सं. ०५५ सालमा निर्माण भएको सो डिपो ०५७ सालदेखि सञ्चालनमा आएको हो । डिपोमा अहिले १५ हजार किलोलिटर तेल भण्डारण गर्ने क्षमता छ । नौ वटा भर्टिकल ट्यांकी र पाँच वटा अन्डरग्राउन्ड ट्यांकीमा सो परिमाणमा भण्डारण क्षमता भएको हो । त्यसमध्ये यो डिपोबाट अहिले दैनिक ३ हजार किलोलिटर तेलको खपत हुन्छ ।

Logo