बैंकहरुमा तरलता कायमै, तेस्रो त्रैमासपछि अभाव हुने संकेत

बैंकहरुमा तरलता कायमै, तेस्रो त्रैमासपछि अभाव हुने संकेत


कोरोना महामारीको कारण करिब एक वर्षसम्म उद्योग, व्यापार, व्यवसाय ठप्प हुँदा मुलुकको अर्थतन्त्र नै शिथिल बन्न पुग्यो । उद्योग व्यवसाय बन्द भएकाले अर्थतन्त्र चलायमान हुन सकेन ।

यसको प्रत्यक्ष असर बैंकिङ क्षेत्रमा पर्यो । कोभिडको कारण सरकारले गरेको लकडाउन र असहज व्यवसायिक वातावरणले चैतदेखि असारसम्म ठप्प जस्तै रहेको कर्जा लगानीले बैंकहरु अधिक तरलताको अवस्थामा पुगेका थिए ।

तर पछिल्लो समय आर्थिक गतिविधि बढ्दै गएकाले अर्थतन्त्र पनि चलायमान हुन थालेको छ । अर्थतन्त्र चलायमान हुन थालेकाले उद्योग व्यवसाय विस्तारको काम पनि धमाधम हुन थालेका छन् । यसरी उद्योग व्यवसाय तथा शेयर कारोबारमा कर्जा विस्तार हुन थालेकाले बैंकहरुमा तरलता अभाव हुन थालेको भन्ने हल्ला बाहिर आए पनि बैंकिङ प्रणालीमा अझै पनि तरलता कायमै रहेको बैँकर्सहरु बताउँछन् ।

पछिल्लो पुष र माघ महिनामा आयात बढेका कारणले तरलता अभाव भन्ने हो तर अहिले बैंकिङ प्रणालीमा कुनै पनि तरलताको अभाव नदेखिएको नेपाल बैंकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भूवन दाहालले बताए । उनका अनुसार आजसम्म पनि अन्तर बैंकको ब्याजदर ०.५ को हाराहारीमा रहेका तथा २५ प्रतिशत एक्सिस लिक्युडीटी रहेको बताए ।

बैंकहरुमा अहिले पनि २ सय अर्ब रुपैँयाँ लोन लिन पुग्ने रकम रहेको छ । उनी भन्छन्, 'अन्तर बैंक लोनको ब्याजदर ०.५ रहेकाले बैंकहरुमा तरलता अभाव हुँदा ब्याजदर ६ देखि ७ प्रतिशतसम्म बढ्दै जान्छ । त्यसैले अहिले ब्याजदरमा पनि कुनै कडाई छैन ।'

चैतमा राजश्व उठ्छ त्यसपछि यदि सरकारले खर्च गरेन भने त्यति बेला बैंकहरुमा तरलताको अभाव होला नभए त्यसभन्दा अगाडि तरलता हुने संकेत नभएको दाहालको भनाइ छ ।
त्यस्तै, नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष तथा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केसरी शाहले कोभिड पछाडि सरकारले आक्रामक रुपमा कर्जा विस्तार गरेर ठूलो मात्रामा आन्तरिक ऋण उठाइरहँदा सोही अनुपातमा निक्षेप नबढेकोले बैंकहरुमा तरलताको कमी देखिन सक्ने बताए ।

उनका अनुसार बैंकहरुमा कर्जाको माग उच्च रहेको र सरकारले पनि आन्तरिक ऋण उठाउँदा अहिले तरलता घट्दै गएकाले ब्याजदर पनि बढ्दै जानेछ । उनले केन्द्रविन्दुसँग कुरा गर्दै भने, 'मैले पहिले पनि चैत मसान्तसम्म बैंकमा रहेको, एक्सिस लिक्युडीटी घट्दै जान्छ र बैंकहरुमा तरलताको चाप पर्न सक्ने भनेको थिएँ । अहिले त्यसैको संकेत बैंकिङ प्रणालीमा देखिँदै गएको छ ।'

त्यस्तै, अहिले विभिन्न कर्जाको माग पनि उच्च रहेको छ । यता, बैंकमा तरलता घट्दै जाँदा ब्याजदर पनि तेस्रो त्रैमासमा बढ्ने संकेत रहेको शाहको भनाइ छ । नेपाल राष्ट्र बैंकमा पुस मसान्तसम्म २ खर्ब अधिक तरलता (एक्सेस लिक्विडिटी) रहेको थियो । तर माघ महिनामा सवा एक खर्बभन्दा माथिको तरलता बाहिरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका प्रवक्ता गुणाकरण भट्टका अनुसार गत आइतबारसम्म बैंकिङ प्रणालीमा ७६ अर्ब रुपैँयाँ लगानीयोग्य रकम रहेको थियो । माघ महिनामा कर्जा विस्तार तथा आयात बढेकाले बैंकिङ प्रणालीमा थुप्रिएको पैसा बाहिर जान थालेको भट्टले जानकारी दिए । उनका अनुसार रकम बाहिरिएसँगै आर्थिक गतिविधिसमेत चलायमान हुन थालेको छ । आर्थिक गतिविधि बढेसँगै लगानी बढ्दै गएको छ । यसरी लगानीको अनुपात हेर्दा केही समयमै बैंकिङ प्रणालीमा लगानीयोग्य रकमको अभाव हुन सक्ने संकेत रहेको छ । यसरी तरलता अभाव भएमा बैंकहरुले महंगो ब्याज दिएरै निक्षेप तान्ने स्थिति आउने तथा कर्जाको ब्याजदर समेत वृद्धि हुने देखिन्छ । कोभिडको कारण बैंकिङ प्रणालीमा अधिक तरलता हुनुको प्रमुख कारण कर्जाको माग नहुनु र बैंकहरुबीच कर्जा तानातान हुँदा बैंकहरुले आफ्नो लागत घटाउन निक्षेपको ब्याजदर घटाएका थिए ।

बैंकहरुको पछिल्लो तथ्यांक अनुसार माघ महिनामा मात्र वाणिज्य बैंकहरुले ७४ अर्ब रुपैयाँ ऋण विस्तार गरेका छन् । निक्षेप भने ५ अर्ब रुपैँयाँले मात्र बढेको छ । यस अवधिसम्म वाणिज्य बैंकहरुले कुल ३३ खर्ब १७ अर्ब रुपैँयाँ ऋण विस्तार गरेका छन् भने निक्षेप संकलन ३७ खर्ब ८६ अर्ब रुपैँयाँ पुगेको छ । असार मसान्तयता निक्षेप २ खर्ब ९९ अर्ब रुपैँयाँले बढ्दा ऋण बिस्तार ४ खर्ब १४ अर्ब रुपैयाँले बढेको देखिन्छ ।

त्यस्तै, नेपाल राष्ट्र बैंकको पछिल्लो वित्तिय तथ्यांकले चालू आर्थिक वर्षको ६ महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ११.४ प्रतिशतले बढेको देखाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ८.६ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा हेर्दा यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १४.९ प्रतिशतले बढेको हो । कोरोनाको कारण लामो समय लगानी गर्न नपाएका बैंकहरु पछिल्लो समय लगानी विस्तारमा आक्रामक देखिन थालेका छन् । राष्ट्र बैंकको निर्देशित लगानीका कारण पनि बैंकहरु ऋण विस्तारमा आक्रामक देखिएका हुन् ।

आयात, घरजग्गा तथा व्यक्तिगत कर्जाको उच्च माग

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केसरी शाहले पछिल्लो समय विभिन्न कर्जाको माग उच्च रहेको बताएका छन् । उनका अनुसार पछिल्लो समय बैंकहरुमा ठूल्ठूला परियोजना , मार्जिन ल्यान्डिङ, आयात, घरजग्गा तथा व्यक्तिगत कर्जाको माग उच्च छ । कर्जाको माग उच्च रहेको र तरलता घट्दै जाँदा तेस्रो त्रैमाससम्ममा बैंकिङ प्रणालीमा तरलता अभाव हुने देखिएको हो ।

यसरी लगानीको माग बढ्दै जाँदा र माग अनुसारको सप्लाई हुन नसक्दा तथा सरकारको राजस्व बढ्दै जानु तर सरकारले नै खर्च गर्न नसक्दा बैंकहरुमा तरलतामा दबाव हुने सानिमा बैंकका कार्यकारी अधिकृत भूवन दाहाल बताउँछन् ।

Logo