उपत्यकामा दैनिक उपभोग्य खाद्य सामग्रीः कुनको स्टक कति?

उपत्यकामा दैनिक उपभोग्य खाद्य सामग्रीः कुनको स्टक कति?


चामल, नुन, चिनी, गहुँ, पेट्रोलियम पदार्थ एवं खाना पकाउने एलपी ग्याँसजस्ता अत्यावश्यक दैनिक उपभोग्य सामग्रीको अवस्थाबारे तथ्याङ्क उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आइतबार सार्वजनिक गरेको छ। मन्त्रालयले ती वस्तुहरूको स्टक स्थितिबारे जानकारी दिँदै कोरोना महामारीका कारण लागू गरिएको निषेधाज्ञामा खाद्य र अन्य अत्यावश्यक सामग्रीको अभाव नहुने बताएको छ। 

अत्यावश्यक दैनिक उपभोग्य सामग्रीको आपूर्ति अवस्था यसप्रकार छः

चामल
खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग हाल १३ हजार ४ सय ९ मेट्रिक टन चामल मौज्दात रहेको छ। ५हजार मेट्रिक टन चामल बोलपत्र प्रक्रियाबाट खरिद हने क्रममा रहेको समेत उद्योग, वाणिज्य तथा आपूति मन्त्रालयले जनाएको छ। 

नुन 
साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडसँग कूल १ लाख ५४ हजार ८ सय ८१ दशमलव ४३ मेट्रिक टन नुन मौज्दात रहेको छ।

चिनी
साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेडसँग ७ सय १४ दशमलव ५१ मेट्रिक टन र निजी क्षेत्रसँग ५० हजार २११ मेट्रिक टन गरी जम्मा ५० हजार ९२५.५१३५ मेट्रिक टन चिनी मौज्दात रहेको छ।

गहुँ
खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग हाल ४ हजार ३ सय ८८ दशमलव ७१ क्वीन्टल गहुँ मौज्दात रहेको छ।

पेट्रोलियम पदार्थ तथा खाना पकाउने एलपी ग्याँस
नेपाल आयल निगम लिमिटेडसँग ४८ हजार २ सय ४५ किलोलिटर पेट्रोलियम पदार्थ रहेको छ भने निगमबाट यस महिना खाना पकाउने एलपी ग्याँसको कोटा ४६ हजार ३३२ मेट्रिक टन वितरण भएको छ। 

साथै, मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाट डिजेल नियमित रुपमा आयात भइरहेको उद्योग, वाणिज्य तथा आपूति मन्त्रालयले जनाएको छ। आइतबार विभिन्न नाकाबाट ४३ ग्याँस बुलेट, १७ वटा पेट्रोल बोकेका ट्रक र ४४ वटा डिजेल बोकेका ट्रक भित्रिएको समेत मन्त्रालयले जनाएको छ।

कति सामान भित्रिँदै छन्?
वैशाख १८ गते बिहान ६ः०० बजेदेखि वैशाख १९ गते बिहान ६ः०० बजेसम्म २ ट्रक धान, ४ ट्रक मकै, ३२ ट्रक चामल, २ ट्रक गहुँ, ८ ट्रक मैदा, १२ ट्रक चिनी, १ ट्रक नुन, ६ ट्रक दाल, १७ ट्रक अण्डा, २१ ट्रक कुखुरा, १६ ट्रक फलफूल, १२ ट्रक औषधी, ७ ट्रक राँगा, १ ट्रक अक्सिजन, २ ट्रक खसी, ९ ट्रक घिउतेल र ५२ ट्रक तरकारी उपत्यका भित्रिएको जानकारी प्रहरी प्रधान कार्यालय, नक्सालबाट प्राप्त भएको मन्त्रालयले जनाएको छ।

कहाँ-कहाँबाट खाद्य सामग्री बिक्रीवितरण हुँदैछ?
निषेधाज्ञाको समयमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट कम्पनीको थापाथलीस्थित प्रादेशिक कार्यालय र नक्खु गोदामबाट बिहान ७ः०० बजेदेखि बेलुका ७ः०० बजेसम्म खाद्यान्नको बिक्री वितरण खुला गरिएको छ।

यसैगरी कम्पनीको रामशाहपथ र भक्तपुरको सूर्यविनायक विक्री कक्ष बिहान ७ः०० बजेदेखि ११ः०० बजेसम्म खुला गरिएको छ।

साल्ट ट्रेडिङ कर्पाेरेसनले ललितपुर, कालीमाटी, सतुगंल, कोटेश्वर, भक्तपुर र बनेपास्थित बिक्री केन्द्रबाट नुन र चिनी विक्री वितरण गरिरहेको छ।

साथै, डेलिभरी भ्यानमार्फत् विभिन्न स्थानमा नुन, चिनी आदि लगी माइकिङको माध्यमले सर्वसाधारणलाई जानकारी गराइ उपलब्ध गराउँदै आएको कर्पाेरेसनले जनाएको छ।

अनलाइन व्यापारलाई प्राथमिकता
चामल, दाल, तेल, सिमी, मार्सी चामल, खाना पकाउने एलपी ग्याँस सिलिण्डर उपलव्ध गराउने उद्देश्यले चक्रपथभित्र अनलाइनबाट बिक्रीवितरणको व्यवस्था खाद्य व्यवस्था तथा व्यापार कम्पनीले गरेको छ। https://www.nepalfood.gov.np बाट ती सामग्री खरिद गर्न सकिन्छ।

उपभोक्तालाई सहज रुपमा अत्यावश्यक खाद्य वस्तहुरु उपलव्ध गराउन सस्तो डिलरसँग समन्वय गरी उपत्यकाभरि होम डेलिभरी को व्यवस्था कम्पनीले गरेकोसमेत मन्त्रालयले जनाएको छ।

Logo