दैनिक उपभोग्य वस्तु तीन महिनाका लागि स्टक : वाणिज्य विभाग

दैनिक उपभोग्य वस्तु तीन महिनाका लागि स्टक : वाणिज्य विभाग


चामल, दाल जस्ता दैनिक उपभोग्य वस्तु तीन महिनाका लागि स्टक रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बताएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले चामल, दाल, नुन, तेल, चिनी लगायतका दैनिक उपभोग्यवस्तुहरु पूर्ण रुपमा लकडाउन भएको अवस्थामा पनि ३ महिनालाई पुग्नेगरी बजारमा स्टक रहेको बताए। 

उपभोग्य खाद्यवस्तुको आपूर्ति सहज रुपमा भइरहेको पौडेलले बताए। महानिर्देशक पौडेलले बजारमा खाद्य पद्धार्थको उपलब्धता सहज रुपमा हुने भन्दै उपभोक्तालाई आवश्यकताभन्दा बढी खरिद र संचय नगर्न पनि आग्रह गरे। खाद्यपद्धार्थको अभाव नहुने भएकाले आत्तिनु नपर्ने उनले बताए । 

दैनिक उपभोग्य वस्तुहरुको अस्वभाविक मूल्यवृद्धि भएको खण्डमा मूल्यवृद्धि गराउनेलाई कारबाही गरिने महानिर्देशक पौडेले बताए। बजारको अवस्थाको सम्बन्धमा विभागले दैनिक रुपमा अनुगमन गरिरहेको उनको भनाइ छ। 

उनले दैनिक उपभोग्य वस्तुको आयातमा कुनैपनि प्रकारको समस्या नभएको पनि बताए। दैनिक उपभोग्य वस्तुहरु, मास्क, सेनिटाइजर जस्ता अत्यावश्यक वस्तुहरु सहज रुपमा नाकाबाट आयात भइरहेको उनले जानकारी दिए।  

उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले बजारमा आपूर्तिको समस्या नभएपनि केही दैनिक उपभोग्य वस्तुहरुको अस्वभाविक रुपमा मूल्यवृद्धि भइरहेको बताए। विभागले बजार अनुगमन गरी कालोबजारी गर्नेलाई कडा कारबाही गर्नुपर्ने उनको भनाइ छ। 

यस्तो परिस्थितिमा बजारमा कालोबजारी गर्नेलाई आर्थिक दण्डसहित कारागारसम्मको कडा कारबाही गर्नुपर्ने उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले बताए।

Logo