के नेतृत्व परिवर्तन सम्भव छ कांग्रेसमा ?

के नेतृत्व परिवर्तन सम्भव छ कांग्रेसमा ?


सात युवा नेताहरुको अभियान तुहाउन देउवाले विश्वप्रकाश शर्मालाई प्रवक्ता बनाएर समूह फुटाइदिएका छन्

स्थानीय तहको निर्वाचनमा सम्मानजनक जीत हासिल गरेको नेपाली काँग्रेसले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष तर्फ भने नराम्रो हार व्यहोरेको छ । यही मेसोमा नेपाली कांग्रेसका ७७ जिल्लाका सभापतिहरु गोप्य भेलामा सरिक भएका हुन् ।

प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ नेपाली काँग्रेसका हेभिवेट नेताहरुको पराजय र समग्र देशभरीको निराशाजनक नतिजाले यतिबेला पार्टी भित्रभित्रै नेतृत्व प्रति कडा प्रहार भइरहेको छ । पार्टीको शर्मनाक हार पछि पनि सभापति शेरबहादुर देउवाको कानमा बतास नचलेपछि जिल्ला सभापतिहरुले अभियान सुरु गरेका हुन् ।

काठमाडौंमा भेला भएका जिल्ला सभापतिहरु बुधबार बिहान नै सिन्धुपाल्चोकको मेलम्ची पुगेका थिए । कांग्रेसका जिल्ला सभापतिहरुको गोप्य र आकस्मिक भेलाले ७७ जिल्लाका सभापतिको राष्ट्रिय भेला बोलाउन पार्टी सभापतिस“ग आग्रह गरेको मनाङका सभापति एवं पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङले जानकारी दिए ।

गुरुङका अनुसार बुधबार ३२ जना जिल्ला सभापतिहरु मेलम्ची पुगेका छन् । ३२ सभापतिको गोप्य भेलाले स्थानीय तह, प्रदेश र संघीय संसदमा भोगेको पराजयबारे समीक्षा गर्दै अघि बढ्न सभापतिहरुको राष्ट्रिय भेला महसुस गरेको उनले बताए ।

देउवा समूहका सभापति मात्रै भेलामा

रोचक के छ भने, जिल्ला सभापतिहरुको भेलामा रामचन्द्र पौडेलभन्दा देउवा समूहकै सभापतिहरु धेरै छन् । पौडेलले आफूनिकटका सभापतिको भेला बोलाएर नेतृत्व छाड्न चुनौति दिएपछि देउवा समूहकै सभापतिहरु अर्को भेलामा जुटेका हुन् ।

भेलाले दुर्गम क्षेत्रमा विकासको काम अघि बढाउनु पर्ने, सभापतिहरुको कोष निर्माण गर्नु पर्ने माग पनि पार्टीमा राख्ने भएको छ । बैठकमा सिन्धुपाल्चोक, कैलाली, मनाङ, मुस्ताङ, डोल्पा, कास्कीलगायतका ३२ जिल्लाका सभापति सहभागी छन् ।

पौडेल समूहको अलग्गै तयारी

प्रत्यक्षतर्फ नराम्ररी पराजय भएपछि विशेष महाधिवेशन बोलाउन माग गर्दै आएको पौडेल समूहले सोमबार छुट्टै बैठक गरी नेतृत्व, संगठन र सिद्धान्त परिमार्जनका विषयमा छलफल गरेको थियो । पौडेलपक्षका नेताहरुले पैसामा समानुपातिक र प्रत्यक्षतर्फको टिकट बिक्री भएको भन्दै दोषी पत्ता लगाउन पूर्वन्यायाधीशको नेतृत्वमा छानविन समिति गठनको माग गरेका छन् । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीले वितरण गरेको टिकट किनबेच भयो भन्ने विषय बैठकमा उठेको एक नेताले बताए ।

विश्वप्रकाशलाई किन बनाइयो प्रवक्ता ?

गगन थापा, धनराज गुरुङ, चन्द्र भण्डारीलगायतका नेताहरुले सभापतिलाई दबाब दिन समूहगत छलफल सुरु गरेपछि देउवाले युवा नेताहरु विभाजित गर्ने रणनीति लिएका छन् । उनले विश्वप्रकाश शर्मालाई प्रवक्ता बनाइसकेका छन् । गगनले आफू प्रवक्ता भएको प्रचार यसअघि नै गरिसकेका थिए । तर, गगनभन्दा विवादमुक्त विश्वप्रकाश शर्मा देउवाको रोजाइमा परे ।

प्रवक्ता भएको भोलिपल्टै पत्रकार सम्मेलन गरेर शर्माले उमेर हुनेले नभई एजेण्डा हुनेले पार्टीको नेतृत्व गर्ने बताए । पार्टी प्रवक्ता नियुक्त हुनु अघि शर्मा नेतृत्व हस्तान्तरणको माग गर्दै अभियान चलाउने युवा नेताहरुको समूहमा थिए । सात भाइको यो समूहले संयुक्त विज्ञप्ति जारी गर्दै महासमिति बैठक बोलाउन माग पनि गरेको थियो । तर, शर्माले आफूले विशेष महाधिवेशनको माग नगरेको बताए । नेतृत्व हस्तान्तरणबारे सोधिएको प्रश्नमा उनले भने, ‘उमेर भएकालाई होइन कि एजेण्डा भएकालाई नेतृत्व दिने हो । जो बदलिन्छ, उसले नेतृत्व गर्छ ।’

नेतृत्व परिवर्तन सम्भव छ ?

चुनावमा पार्टी पराजित भएपछि नेतृत्व परिवर्तनको कुरा अहिले काँग्रेस भित्र फैलिएको छ । यति मात्रै होइन चुनाव प्रचार प्रसारको समयमा समेत केही नेताहरुले चुनावपछि आफु पार्टी सभापति बन्ने प्रचार गरेका थिए ।

काँग्रेसका नेताहरु रामचन्द पौडेल, प्रकाशमान सिंह, डा. शेखर कोइराला लगायत नेताहरुले सभापतिमा आफ्नो दावि गर्दै आएका छन् । डा. शेखर कोइलाराले पार्टी भित्र आफ्नो प्रभाव जमाउन हरसम्भव प्रयास गरिरहेका छन् । विशेष महाधिवेसन मार्फत शेरबहादुर देउवालाई सभापतिबाट हटाएर आफु सभापति बन्ने दाउमा कोइराला लागेको काँग्रेस निकट नेताहरु बताउँछन् । तर लामो कसरत पछि कोइराला बंशको हातबाट नेतृत्व कब्जा गर्न सफल भएका देउवाले त्यती सजिलै नेतृत्व हस्तान्तरण गर्ने सम्भावना देखिदैन् ।

Logo