विप्लव समूहद्वारा स्काभेटरमा आगजनी, गाउँपालिका अध्यक्षलाई जनकारबाहीको धम्की

विप्लव समूहद्वारा स्काभेटरमा आगजनी, गाउँपालिका अध्यक्षलाई जनकारबाहीको धम्की


नुवाकोट।

नेत्रविक्रम चन्द समूहले नुवाकोटमा स्काभेटर आगजनी गरी गाउँपालिकाका अध्यक्षलाई जनकारबाहीको धम्की दिएको छ ।

समूहले जिल्लाको बेलकोटगढी नगरपालिका–१३ का राजेन्द्र तामाङले सञ्चालन गर्दै आएको स्काभेटरमा आगजनी गरेको हो । म्यागङ गाउँपालिकाका अध्यक्ष आशा तामाङलाई गाउँपालिकामा आफैँले आगो लगाएको हो भनेर स्वीकार गर्न चेतावनीयुक्त विज्ञप्ति जारी गरिएको छ ।

समूहमा आएका अज्ञात व्यक्तिले स्काभेटर गए राति आगजनी गरेको पीडित तामाङले जानकारी दिए । उनका अनुसार आगजनीबाट स्काभेटरको चालक बस्ने सिट लगायतमा पुगेको क्षति २० लाख बराबरको छ । त्यस स्थानमा समूहले कारबाही गरिएको आशयको पत्र छाडेको प्रहरीले जनाएको छ ।

पत्रमा दुई वर्षअघि समूहले कब्जा गरेको जग्गाबाट राजेन्द्रले अवैध रुपमा बालुवा उत्खनन् गरेको, समाजमा चरित्रहीन कार्य गरेको, पार्टीविरुद्ध सुराकी गरेको तथा सोझासीधा जनतालाई अनावश्यक दुःख दिएको आरोप लगाइएको छ ।

यसैगरी समूहले विज्ञप्ति जारी गरी म्यागङ गाउँपालिका कार्यालयको स्टोर शाखामा गत वैशाख ८ गते दिउँसो भएको आगलागीको घटना गाउँपालिकाका अध्यक्ष आशा तामाङले गराउन लगाएको भनी गल्ती सच्याई माफी माग्न र नमागे जनकारबाहीको चेतावनी दिइएको छ ।रासस

Logo