टेरामोक्स प्रविधि कार्यान्वयन गर्दै नेपाल टेलिकम

टेरामोक्स प्रविधि कार्यान्वयन गर्दै नेपाल टेलिकम


नेपाल टेलिकमले टेरामोक्स प्रविधि जडानका क्रममा ग्राहकको गोपनियता सुरक्षित गर्न प्रतिबद्ध रहेको बताएको छ । प्रविधि जडानका लागि केही कुरा स्पष्ट पार्न अझै आवश्यक रहेको बताउँदै टेलिकमले यसका लागि छलफल जारी रहेको उल्लेख गरेको छ । 

पछिल्लो समयमा प्राधिकरणले ग्राहकको डाटामा पहुँच नहुने र आवश्यक परेमा ‘इन्क्रिप्टेड’ समेत गर्न सकिने बताएको छ । तर सो इन्क्रिप्सन कुन तहको हुने र यसमा नेपाल टेलिकम तथा प्राधिकरणको जिम्मेवारी के-के हुने भन्ने वारेमा कुनै कार्यविधि भए आगामी दिनमा प्रणाली सञ्चालन सहज तथा स्पष्ट हुने देखिन्छ । त्यसैले यसका वारे छलफल भइरहेको र कम्पनीको प्राविधिक टिमले अध्ययन गरिरहेको टेलिकमले बताएको छ । 

विश्वव्यापी रुपमा घट्दै गएको आम्दानी
सन् २०१४ देखि डाटाको प्रयोग विश्वव्यापी रुपमा बढ्दै गयो । यस अनुसार विश्वभरका टेलिकम सेवा प्रदायकहरुको आम्दानी पनि घट्दै जान थाल्यो । नेपालमा भने सन् २०१६ देखि यसको प्रभाव देखिन थाल्यो । ग्राहक बढ्दै जाने तर आम्दानी भने घट्दै जाने भयो । 

यसरी आम्दानी घट्नुमा विश्वभर ओटीटीको प्रयोग बढ्नु र महसुल दर घट्नु गरी दुई मुख्य कारण रहेका छन् । डाटाको प्रयोग बढ्दै जादा विश्वभर फेसबुक र भाइबर लगायतका ओटीटी (ओभर द टप) एपहरुको प्रयोग पनि बढ्न थाल्यो । सेवाग्राहीहरुले यी एपहरुको प्रयोग गर्दै जादा भ्वाइस सेवाको प्रयोग कम हुन थाल्यो । यसबाट टेलिकम सेवा प्रदायकहरुको आम्दानी घट्न थाल्यो । त्यसैगरी यो क्षेत्रमा भएको तीव्र प्रतिस्पर्धाको कारण सेवाको महसुल दरमा क्रमिक रुपमा कमी हुँदै जान थाल्यो । ग्राहक बढ्ने भन्दा महसुल घट्ने दर तीव्र रह्यो ।ग्राहक संख्या र महसुल दर दुवै बढे अनुसार नै आम्दानी बढ्ने हो । तर यसको सामञ्जस्यता नमिल्दा टेलिकम सेवा प्रदायकहरुको आम्दानी घट्ने गरेको छ । 

नेपाल दूरसञ्चार प्राधिकरणले प्रकाशित गरेको पछिल्लो २०७९ चैत महिनाको एमआईएस प्रतिवेदन अनुसार पनि टेलिघनत्व करिव १२६ छ । यस अनुसार आगामी दिनमा ग्राहक दर बढ्ने सम्भावना छैन । अहिले भइरहेका ग्राहकले नै अन्य कुनै विकल्प प्रयोग गर्ने अवस्था भएमा मात्र ग्राहक संख्या बढ्ने हो । यसैले ओटीटी र ग्राहक संख्या तथा महसुल दरका कारण नै टेलिकम सेवा प्रदायकहरुको आम्दानी घटेको मान्न सकिन्छ । 

नेपालमा थोरै लगानीमा सञ्चालन भएका र थोरै लाइसेन्स शुल्क मात्र तिर्नु पर्ने व्यवस्था भएका सेवा प्रदायकहरुले विभिन्न प्रकारको वाईफाई लगायतका सेवा उपलब्ध गराउने गरेका छन् । ठुला सेवा प्रदायकहरुले वार्षिक रुपमा अरबौ राजस्व तिर्नु पर्ने अवस्था भएको समयमा तीसेवा प्रदायकहरुले उपलब्ध गराउने वाईफाईका कारण समेत मोबाइल डाटाको व्यवसायमा झनै असर पुगेको छ । हालको समयमा त्यस्ता विभिन्न सेवा प्रदायकको राजस्वको स्थिति हेर्दा पनि सोही अनुरुप वृद्धि भइरहेको स्पष्ट देखिएको र डाटाको पहुँच तथा क्रयशक्तिमा सुधार पश्चात समेत विश्वव्यापी रुपमा देखिए अनुरुप ठूला सेवा प्रदायकहरुको व्यवसायमा अपेक्षित सुधार देखिएको छैन । यो अवस्थामा एउटा क्षेत्रको मात्र घटेको राजस्वलाई नहेरी समग्र सूचना प्रविधि क्षेत्रको राजस्वको तुलनात्मक अध्ययन हुनु पर्ने देखिन्छ । 

जालसाजी नियन्त्रण
दूरसञ्चार सेवामा विभिन्न प्रकारका प्रविधिहरुको प्रयोग गरी जालसाजी गर्ने र सेवा प्रदायकहरुको आम्दानीमा असर पुर्‍याउने कार्य विश्वव्यापी रुपमै भइरहेका छन् । यो अवस्थामा यस प्रकारका जालसाजी नियन्त्रण (Fraud Control)का लागि विभिन्न सेवा प्रदायकहरुले आफ्नै तरिकाले कार्य गरिरहेका छन् । यसमा प्रहरी लगायतका सुरक्षा निकायको सहयोग समेत भइरहेको छ । केही दिन पहिले पनि भीओआईपीमा संलग्नहरुलाई नेपालको पश्चिम क्षेत्रबाट पक्राउ गरिएको छ । सेवा प्रदायकको आम्दानीको स्रोत नै सुकाउने गरी गरिने यस प्रकारका जालसाजी नियन्त्रणका लागि सेवा प्रदायकहरुले नै यो सिस्टम चलाइरहेको अवस्था छ । 

ग्राहकको गोपनियता
टेलिकम सेवा प्रदायकहरुले ग्राहकलाई सेवा उपलब्ध गराए वापत आम्दानी गर्ने मात्र होइन, ग्राहकको गोपनियता कायम राख्नु पनि मुख्य जिम्मेवारी हुन्छ । कानुनले समेत यो जिम्मेवारी प्रदान गरेको छ । यसका लागि ग्राहकको डाटा सुरक्षित राख्नु महत्वपूर्ण कार्य हुन्छ । सर्वोच्च अदालतले समेत ‘ग्राहकको कुनै पनि गोप्य विवरण अदालतको आदेश विना वा कुनै नियम कानुनका आधारमा वाहेक अन्य अवस्थामा कसैलाई नदिने’ भनेको छ । 

विश्वव्यापी प्रचलन
संसारका धेरै कम देशहरुमा यो सिस्टम चलाइएको छ । टेलिकम नियामकले त झन चलाएकै छैन । Lawful Interception मा सेक्युरिटी, डिफेन्स, नेसनल सेक्युरिटी आदि क्षेत्रमा कार्यरत संस्थाले कुनै निश्चित समयका लागि मात्र यस प्रकारको सिस्टम चलाउने गरेको पाइन्छ । 

बिलिङ प्रणाली
नेपाल टेलिकमको बिलिङ प्रणालीको उपयुक्तता वारेमा समय समयमा अडिट गर्ने गरिएको छ । यसका साथै आगामी दिनमा यसका लागि आवश्यक प्रणाली नै जडान गरी सञ्चालन गर्ने क्रममा रहेको छ । 

Logo