१२४ दिनपछि पूर्णरुपमा बाहिरियो यस वर्षको मनसुन

१२४ दिनपछि पूर्णरुपमा बाहिरियो यस वर्षको मनसुन


राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस वर्षको मनसुन १२४ दिन रहेर सरदर मितिभन्दा १३ दिनपछि पूर्णरुपमा बाहिरिएको छ ।

मंगलबार प्राधिकरणले काठमाडौंमा आयोजित मनसुन प्रभाव विपद् विशेष अन्तरक्रिया कार्यक्रममार्फत मिति २०८० जेठ ३१ गते नेपालमा आगमन भएको यस वर्षको मनसुन १२४ दिन रहेर २०८० असोज २८ गते सरदर मितिभन्दा १३ दिनपछि पूर्णरुपमा बाहिरिएको जानकारी दिएको हो । 

मनसुन पूर्वतयारी तथा प्रतिकार्यमा समन्वयात्मक र एकीकृत क्रियाकलाप तय गरी मनसुन प्रतिकार्यलाई प्रभावकारी बनाउने उद्देश्यसहित प्राधिकरणले तयार गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०८० जेठ २८ गते बसेको कार्यकारी समितिले स्वीकृत गरेलगत्तै कार्यान्वयनमा गएको थियो ।

खोज तथा उद्धारका कामलाई प्रभावकारी बनाउन तीनवटै सुरक्षा निकाय, सरकारी तथा गैरसरकारी संस्था एवं निकायहरुसँगको समन्वयमा यस अवधिभर विपद् प्रतिकार्य गरिएको थियो । मनसुन पूर्व जडान गरिएका ३४ वटा स्मार्ट साइरनबाट ८३२ वटा ‘अलर्ट’ जारी भएका थिए ।

मनसुन नेपाल प्रवेश गरेकै दिनदेखि अविरल रुपमा परेको वर्षाका कारण पूर्वी पहाडी जिल्लाहरु ताप्लेजुङ, पाँचथर र संखुवासभामा ठूलो मानवीय तथा भौतिक क्षति हुन पुग्यो ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २०८० असार २२ गते बसेको एघारौं बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मनसुनजन्य घटनाहरुबाट मानवीय क्षति पुगेका र घरवारविहीन परिवारलाई राहत वितरण गर्न र निजी आवास पुनर्निर्माणमा सहयोग गर्न निर्देशन दिएका थिए । 

मनसुन अवधिमा पहिरोका ४५९, भारी वर्षाका १६८, बाढीका १४२ र चट्याङका १२३ घटना गरी कूल ८९२ घटना अभिलेख भएका छन् । यी विपद्का घटनामा ९२ जनाको मृत्यु भएको थियो भने १६८ जना घाइते हुनु भएका थिए । ३० जना नागरिक बेपत्ता छन् ।

सोही अवधिमा ६१३० परिवार प्रत्यक्ष प्रभावित भएका छन् भने २४३ निजी घरमा पूर्ण र ७२० वटा घर आंशिक क्षति पुगेको छ । यसबाट निजी आवासतर्फ करिब ३३ करोड रुपैयाँ बराबरको क्षति अनुमान गरिएको छ ।

मनुसन अवधिमा १५ वटा पक्की पुल क्षतिग्रस्त हुँदा १ अर्ब २० करोडको क्षति अनुमान छ । त्यसैगरी २७ वटा झोलुङे पुलमा १२ करोड, सडक, करिडोर तथा राजमार्गमा २८ करोड अनुमानित क्षति पुगेको छ । 

खानेपानी संरचनाहरुमा करिब ८ करोडको क्षति अनुमान गरिएको छ । कृषितर्फ ३२१ पशुचौपाया र १२३९ रोपनी खेतीयोग्य जमिन नष्ट भएको छ । सिंचाइतर्फ ३ करोड ५० लाखको क्षति भएको छ । 

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अनुसार सञ्चालनमा आइसकेका १३, निर्माणाधीन १७ र लघु २७ गरी ५७ वटा जलविद्युतमा क्षति पुग्दा करिब नौ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको छ ।

मनसुनकै अवधिमा बझाङ जिल्लालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी एकजनाको मृत्यु भयो भने ३० जना घाइते हुनुभयो । भूकम्पबाट ३ हजार १४८ घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् भने ११२२४ घरमा आंशिक क्षति पुगेको प्रारम्भिक तथ्यांक प्राप्त भएको छ । 

त्यसैगरी, १२४ सार्वजनिक भवनमा पूर्ण र २०५ मा आशिक क्षति पुगेको छ । यो सूचनालाई प्राविधिक प्रमाणीकरण गर्ने कार्य प्रारम्भ भएको छ । प्राविधिक मूल्यांकनपछि राहत र पुनर्निर्माणको कार्य गरिने छ ।

भूकम्प प्रभावित स्थानमा सम्माननीय प्रधानमन्त्री एवं परिषद अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले भ्रमण गरी राहतका कार्यक्रमहरुको घोषणा गरेका छन् ।

जसअनुसार आपतकालीन राहतमा प्रभावित परिवारका लागि परिवार संख्याका आधारमा. १५–२० हजार वितरण हुँदैछ भने भूकम्पबाट पूर्ण क्षति भएका घरहरूलाई अस्थायी आश्रय निर्माणका लागि दुई किस्तामा ५० हजार रुपैयाा वितरण गरिनेछ । 

मृतकका परिवारलाई जनही २ लाख रुपैयाँ इिने निर्णय भएको छ । प्राधिकरणको प्राविधिकहरु सहितको टोलीबाट स्थलगत अनुगमन तथा निरीक्षण भइसकेको छ । निरीक्षण टोलीले शीघ्र ‘ड्यामेज ग्रेड एसेसमेन्ट’ गर्नमा जोड दिएको छ ।

Logo