सोमबार अन्तर्राष्ट्रिय विमानस्थलमा १७ उडान, कति यात्री आए नेपाल ?

सोमबार अन्तर्राष्ट्रिय विमानस्थलमा १७ उडान, कति यात्री आए नेपाल ?


काठमाडौं ।

मुलुकको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सोमबार पनि एकैदिन १७ चार्टर्ड उडान भएका छन् । अन्तर्राष्ट्रियतर्फ १० र आन्तरिकतर्फ सात यात्रु उद्धार तथा कार्गो उडान भएका विमानस्थल कार्यालयले जनाएको छ ।

सोमबार नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले बहराइनबाट १५० यात्रुको उद्धार गरी काठमाडौँ ल्याएको छ । त्यस्तै हिमालय एयरलाइन्सले पाकिस्तानको ईस्लामाबादबाट ७२ यात्रु ल्याएको छ । सोही एयरलाइन्सले माल्दिभ्सबाट १५६ यात्रु ल्याएको छ । जजीरा एयरले कुवेतबाट १६०, एयर अरेबियाले सारजहाबाट १६५ यात्रु काठमाडौँ ल्याएको विमानस्थलले जनाएको छ । हिमालयले चीनको कुम्लिंमा दुई कार्गो उडान गरेको छ । राति नेपाल एयरलाइन्सको वाइड बडी जहाज अष्ट्रेलियाको सिड्नी उडेको जनाइएको छ ।

त्यसैगरी हिमालय एयरलाइन्सको जहाज राति १० बजे दोहा उडेको थियो । आन्तरिकतर्फ समिट र तारा एयरले लुक्लामा समान एक उडान गरे। मनाङ एयरको लुक्लामा तीन उडान भएको छ । सिम्रिक एयरको हेलिकप्टरले सोलुखुम्बु र कैलाश एयरको हेलिकप्टरले भैरहवा उडान गरेको विमानस्थल कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ । त्यस्तै कतार एयरले ३०३ यात्रु लिएर दोहा उडेको छ ।

Logo