“यस पटकको इन्फोटेक ज्ञानवर्द्धक छ”- नवराज कुँवर (अध्यक्ष, क्यान महासंघ)

“यस पटकको इन्फोटेक ज्ञानवर्द्धक छ”- नवराज कुँवर (अध्यक्ष, क्यान महासंघ)


काठमाडौंको भृकुटीमण्डपमा सूचना प्रविधिको कुम्भमेला क्यान इन्फोटेक चलिरहेको छ । इन्फोटेकको शुक्रबार सञ्चार, सूचना तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले उद्धघाटन गरेका थिए । इन्फोटेकमा नेपाली बजारमा भित्रिएका नयाँ नयाँ प्रविधिहरु प्रदर्शन गरिएका छन् । कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघको आयोजनामा जारी मेला आगामी फागुन ७ गतेसम्म सञ्चालन हुनेछ । प्रस्तुत छ, इन्फोटेकका बारेमा महासंघका अध्यक्ष नवराज कुँवरसँग गरिएको कुराकानी:-

१. इन्फोटेकमा सर्वसाधारणको आकर्षण कस्तो छ ?

इन्फोटेकमा अवलोकनकर्ताहरुको भिड छ । हामीले यो पटक पेपरलेस टिकटको व्यवस्था गरेका थियौं तर अवलोकनकर्ताहरुको बढ्दो भिडले हामीलाई टिकट छाप्न बाध्य बनायो । अहिले दुबै टिकट प्रयोग गरिरहेका छौं ।

२. यस पटकको इन्फोटेकमा पहिलेको भन्दा के फरक छ ?

यस पटक धेरै क्षेत्रबाट स्टल ल्याएका छौं । हामीले स्टार्टअप र इनोभेसनलाई प्राथमिकता दिएका छौं । आइटी कलेजहरुको स्टललाई पनि प्राथमिकतामा राखेका छौं । हामीले सेग्मेन्ट बनाएर स्टलहरु राखेका छौं । विगतमा हार्डवेयरका सामानहरु धेरै हुन्थ्यो । पछिल्लो समय अनलाइनबाट नै हार्डवेयर सामाग्रीका बारेमा जानकारी हुन थालेकाले इन्फोटेकमा सफ्टवेयरप्रतिको क्रेज बढदो छ । त्यसैकारण इन्फोटेकमा सफ्टवेयरका स्टलहरुमा आकर्षण बढ्दो छ । यसपालि हरेक स्टलमा केही न केही नयाँ छ । पहिलेका इन्फोटेकहरु आँखाले हेर्ने खालका हुन्थ्यो अहिलेको इन्फोटेक ज्ञान बढाउने खालका छन् ।

३. इन्फोटेकमा के कस्ता अफरहरु छन् ?

मोबाइल सेग्मेन्टले ५ देखि ५० प्रतिशतसम्म छुट दिइरहेका छन् । हार्डवेयरहरु कम्पनीहरूले पनि गिफट ह्याम्परहरु राखेका छन् । अन्य स्टलहरुले पनि भारी छुट र अफरहरु राखेका छन् ।

४. अन्तिम दिनसम्म कति जनाले अवलोकन गर्ने अपेक्षा छ ?

इन्फोटेकमा १८६ स्टल छन् । दोश्रो दिनसम्म ८० हजार जनाले अवलोकन गरेका छन् । अन्तिम दिनसम्म ४ लाख जनाले अवलोकन गर्ने अपेक्षा छ ।

५. क्यान महासंघको भावि योजना के छ ?

नेपालमा प्रविधिको विकासका लागि हामीले विभिन्न कार्यक्रम र अभियानहरु सञ्चालन गर्दै आएका छौं । विगतमा राजधानी काठमाडौंमा मात्रै सिमित इन्फोटेकलाई पछिल्लो समय उपत्यकाबाहिर पनि संचालन गर्न थालेका छौं ।

Logo